चौतारा सांगाचोकगढी नगरपालिकामा २६ वेडको आइसोलेशन वार्ड तयार
वैशाख २२, सिन्धुपाल्चोक । चौतारा सांगाचोकगढी नगरपालिकाभित्र २६ वेडको आइसोलेशन वार्ड तयार भएको छ ।
फिल्ड ट्रेनीङ सेन्टरमा १२ ,जिल्ला समन्वय समितिमा ९ तथा जिल्ला अस्पताल चौतारामा ५ वेड सहितको आइसोलेशन वार्ड तयार भएको नगरपालिकाकाले जनाएको छ । सो आइसोलेशन वार्डमा अक्सिजन सहितको व्यवस्था हुने नगरपालिकाका मेयर अमानसिं तामाङले सिन्धुज्वालाई जानकारी दिए । उनका अनुसार सोमबार मात्रै नगरपालिका भित्र २६ वेडको आइसोलेशन वार्ड तयार भईसकेको हो ।
नगरपालिकाले गम्भीर प्रकृतिका बिरामिलाई अक्सिजनको अभाव नहोस् भनेर २९ वटा सिलिन्डर मौज्दात अवस्थामा राखेको मेयर तामाङले बताए । उनका अनुसार ४ ओटा नगरपालिकामा र बाँकी २५ वटा चौतारा अस्पतालमा राखिएको छ । कोभिड–१९ को स्वास्थ्य संकटको अवस्थालाई ध्यान दिएर ८ वटा अक्सिजन ग्याँस उत्पादन गर्ने सामाग्री भायोसिल्डको समेत नगरपालिकाले ब्यवस्थापन गरेको छ । यसले अक्सिजन अभावको समस्यालाई पुरा गर्ने मेयर तामाङको भनाई छ । कोरोनाको संक्रमण दर नगरपालिकामा वढिरहदा नडराउन तर सचेत र सजक हुन नगरबासीमा उनले अनुरोध समेत गरेका छन् । नगरपालिकाले कोरोना संग मिल्ने लक्षण देखिएकाहरुलाई निशुल्क परीक्षणको लागि नगरपालिकामा सम्पर्क राख्न अनुरोध गरेको छ । मेयर तामाङले कुनै समस्या परेमा आफ्नो नम्बर ९८६५७०७७३७ मा वा उपप्रमुख, जनप्रतिनिधि वा स्वास्थ्य शाखाका प्रमुखकलाई फोन गरेर जानकारी गराउन र सेवा लिन समेत अपिल गरेका छन् । एम्बुलेन्स सेवा आवश्यक भएमा १०२ नम्वरमा सम्पर्क राख्न सकिने ब्यवस्था समेत गरेको छ ।