हेलम्बु गाउँपालिकामा अनिश्चितकालका लागि निषेधाज्ञा
वैशाख १६,मेलम्ची । हेलम्बु गाउँपालिकाले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । पालिकाका कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि सेवाग्राहीहरुमा संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निराजन मैनालीद्वारा अनिश्चित कालका निषेधाज्ञा भनेर सूचना नै जारी गरिएको छ ।
वैशाख १३ गते एउटा नमुना परिक्षण गरेकोमा नतिजा पोजेटिभ देखिएको र त्यसैको आधारमा कन्ट्याक ट्रेसिङ गर्ने क्रममा आफ्ना अन्य १८ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले फेसबुक मार्फत जानकारी गराएका छन् । हेलम्बुबासीको स्वस्थ्य रक्षा, चुनौति र प्राथमिकता भएको भन्दै पालिकाले अत्यावश्यक बाहेकका काममा बाहेक आवत जावत गर्न, सभा, सम्मेलन, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्था, धार्मिक भेला तथा यातयातमा समेत पूर्णतया रोक लगाउँदै अनिशिचतकालका लागि निषेधाज्ञा जारी गरिएको गाउँपालिकाले जनाएको छ ।
साथै गाउँपालिकाले तोकिए बमोजिमका कन्ट्याक ट्रेसिङ गर्न स्वास्थ्यकर्मीहरु आउने भएकाले कोरोना परिक्षण गरी सहयोग गरिदिन गाउँपालिकाबासीमा सूचना मार्फत अनुरोध गरेको छ ।