सभामुखसंग पहिरो पीडितहरुको प्रश्नै प्रश्न– ‘हामी अस्थायी टेन्टमा कहिलेसम्म बस्ने ?’
दिनेश दुलाल
१३ बैशाख, बाँसखर्क (सिन्धुपाल्चोक) । जुगल गाउँपालिका–५ लिदीकी सन्चमाई तामाङ सेलाङको बाँसखर्क आएर बसेको एकबर्ष पुग्न लागीसक्यो अझै अस्थायी टेन्टको भरमा गुजारा चलाई रहेकी छिन् । उनको साँघुरो टेन्टभित्र एकमला बाख्रा बाँध्ने खोर र खाना पकाउने ठाउँ एकै ठाउँमा छ । हावा हुरीले च्यातिएको टेन्ट सुमसुमाउँदै सञ्चमाईले भनीन, ‘यो टेन्ट हावाहुरीले च्यातिने भयो, बर्षा याममा कसरी थेग्ला ?’, एकोहोरो भुटभुटिदै सञ्चमाईले भनिन । लिदीकै अर्की पीडित कान्छी तामाङको पीडा चानचुने छैन् । आफ्ना ६ जना परिवार पहिरोमा पुरिएपनि पूर्ण विस्थापितको परिवारको सूचिमा नपरेकी कान्छीले भक्कादिदै प्रश्न गरिन, ‘म पूर्ण विस्थापित २९ भित्र किन परिन ?’ ।
माथि उल्लखेति पात्र सामन्य घटनाका मात्र होईनन । गत साल साउन ३० गते जुगल गाउँपालिका–५ लिदीमा आएको भिषण पहिरोमा परि घर परिवार समेत गुमाएर विस्थापित भएका पीडितहरुको आवाज हो ।
लिदीबाट विस्थापित भएर एकवर्ष देखि जुगल–१, सेलाङको बाँसखर्कमा बसोबास गर्दै आएका पीडितहरुको अवस्था बुझ्न सोमबार बाँस खर्क पुगेका सभामुख अग्निप्रसाद सापकोटासंग पीडितले यस्तो गुनासो पोखेका हुन् । सभामुख सापकोटासंग विस्थापित पीडितहरुको एउटै आवाज थियो, ‘हामी अस्थाई टेन्टमा कहिले सम्म बस्ने ?’।
सभामुख सापकोटाद्वारा उपलब्ध गराईएको प्रति परिवार एकथान टेन्ट हावा हुरीले च्यातिएको कारण बस्न नमिल्ने भएको महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी साङ लामाले बताईन । हावाहुरीले टेन्ट नै च्याति सक्यो बर्षा लाग्दा कहाँ जानु ? सभामुखसंग दुःखेसो पोख्दै साङले भनिन ।
विस्थापित फुर्वा दोङले पहिरो पीडितहरुको लागि तत्काल जस्ताको टहरो नबनाए सरकारी उच्च ओहोदका व्यक्ति तथा राजनैतिक दलका नेताहरु पीडित बस्तीमा आउनुको अर्थ नभएको भन्दै आक्रोस पोखे । ‘हामी पीडितको लागि अस्थायी जस्ताको टहरो भएपनि बनाउने की नबनाउने त्यति मात्रै जवाफ चाहिएको छ’, फुर्वाले भने । युवा क्लबका अध्यक्ष मशान दोङले पीडितहरुलाई रोजगारी सहित पुर्नबासको स्थायी व्यवस्था गरिदिन सभामुखसंग आग्रह गरे । अर्का पीडित शेर बहादुर दोङले आफुहरुलाई लिदीका १७३ घरपरिवार समेतलाई एकै ठाउँमा बसोबासको व्यवस्था गरिदिन आग्रह गरे ।
बाँसखर्क पहिरो विस्थापित बस्तीमै पुगेर पीडितहरुका आक्रोस तथा गुनासो सुनिरहेका सभामुख सापकोटाले लिदी पहिरो पीडितहरुको समस्याको लागि आफु निकै गम्भिर भएको बताए । लिदी पहिरो गएको सुन्ने वित्तिक्कै आफ्नो आँखाको अप्रेसन भएको बेलामा समेत पीडितलाई भेट्न गएको स्मरण गर्दै सभामुख सापकोटाले पीडित जनताको वास्तविक मर्म सुन्दा आफु भावविभोर भएको उनले सुनाए । आफुले लिदी पहिरो पीडितहरुको लागि बेजिङ सम्म कुरा गरेर टेन्ट, कम्बल लगाएत सामग्री उपलब्ध गराएको उनले बताए । संसारैभरी आएको कोरोना माहामारीको कारण भने जति छिट्टै काम गर्न नसकिएको बताउँदै सभामुख सापकोटाले पहिलो, दोस्रो र तेस्रो चरण गरी लिदी पहिरो विस्थापितहरुलाई स्थायी बसोबास गरी छाड्ने प्रतिवद्वता जनाए । आफुलाई सिन्धुपाल्चोकबासीले सभामुख बनाएको बताउँदै सभामुख सापकोटाले जनताकै काममा आफु व्यस्त रहेको कारण पीडित बस्तीमा पटक–पटक आउन नसकेको खुलासा गरे । आफ्नै पहलमा सिन्धुपाल्चोक जिल्लालाई विपद् ग्रस्त जिल्ला घोषणा गर्न सकिएको दावी गर्दै सभामुख सापकोमटाले बागलुङ र सिन्धुपाल्चोकलाई गरी ६ अर्व भन्दा बजेट छुट्याईएको समेत जानकारी दिए । जनतालाई त्रिपालले मात्र कठिनायी भएकोले दिगो ढंगले लै समधान गर्न चाहेको धारणा राख्दै सापकोटाले भने, ‘अब तत्काल पाल होईन जस्तापाताले टहरा बनाउने, मध्यकालिन तयारीका सबै कामहरु गर्न प¥यो र दृघकालिन भनेपछि स्थायी बसोबासको योजना बनाउन प¥यो ।’
त्यस्तै सभामुखसंगै बाँसखर्क पुगेका निवर्तमान सामाजिक विकास मन्त्री तथा बागमति प्रदेश सांसद युवराज दुलालले पीडितहरुकसंगको भेटघाटमा विस्थापित बस्तीमा कामको परिणाम आईनसकेकोले नेताहरु आउँछन् जान्छन् भनेर मात्र नबुझ्न आग्रह गरे ।
पुनर्निर्माण प्राधिकरण मार्फत भूकम्प आउँदाको बेलामा जस्तै एउटा कार्यविधि बनाएर पहिरो विस्थापित परिवारलाई पुर्नस्थापित गर्न चाहेको उनले बताए । ‘सभामुखकै पहलमा सरकारले तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न सुरु गर्नेछ’, दुलालले भने । पीडित जनताको व्यवस्थापन गर्ने जिम्मा जनप्रतिनिधि तथा राजनैतिक दलका नेताहरुको भएकाले चिन्तित नहुन उनले लिदी पहिरो पीडितलाई आग्रह गरे ।
त्यस्तै भेटघाटक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटाले पीडितको समस्यालाई भावनाले मात्रै पुरा गर्ने नभई यथार्थमै पुरा गर्न चाहेको बताए । लिदीमा २९ घरधुरी नै पहिरोमा पूर्ण रुपमा क्षति भएको बताउँदै नेता सापकोटाले १७३ घरधुरी जाँहा गएपनि संगै जान्छौ भन्ने माग जायज भएपनि लिदीका १७३ घरधुरीलाई कहिँ न कहिँ सार्ने पर्छ भन्ने मत आफ्नो रहेको बताए । त्यसमा सरकारले पहिरो पीडितलाई बाँसखर्कको जग्गा सट्टापट्टा गरेर सोधभर्ना गरेर समाधान गर्नुपर्ने उनको तर्क छ ।
सभामुख संगै भेटघाटमा माओवादी केन्द्रका नेता कार्यकर्ता तथा सञ्चारकर्मी समेत पुगेका थिए ।
स्मरण रहोस गत साल साउन २९ गते लिदीमा आएको भिषण पहिरोमा परी त्याहाँका २९ घर परिवार पहिरोमा परेर पूर्ण विस्थापित भएका हुन् । उनीहरु अस्थायी टेन्टमा बाँसखर्कमा बसीरहेका छन् । लिदीमा १७३ घरधरी रहेकोमा बाँकी भने लिदीमै बसोबास गरीरहेका छन् । भूगर्भविधले लिदी बस्ती मानव बस्ती बस्न अयोग्य भनेपनि सरकारले विस्थापितको लागि कुनै स्थायी व्यवस्था गरेको छैन् ।