कोरोनाको कारण २४ घण्टाको अवधिमा हालसम्मकै दोस्रो धेरै मृत्यु
चौतारा । नेपालमा कोभिड–१९ का कारण गत २४ घण्टाको समयावधिभित्र आइतवार हालसम्मकै दोस्रो धेरै व्यक्तिको मृत्यु भएको छ ।
यसको आधिकारिक पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको छ । नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टाभित्र २८ जनाको मृत्यु भएको जानकारी गराए।
‘यो सङ्ख्या हालसम्मकै दोस्रो ठूलो उच्च हो । यसअघि गत कार्तिक १९ गते कोभिड–१९ का कारण ३० जनाको मृत्यु भएको थियो’,“ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने ।
आइतवार कोभिड–१९ का कारण १४ जनाको मृत्यु भएको थियो भने २,६१९ जना नयाँ सङ्क्रमित फेला परेका थिए ।
गत २४ घण्टाभित्र एन्टीजन र पीसीआर गरी १०,०७८ वटा परीक्षण गरिँदा ३,१२२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैबीच सिन्धुपाल्चोकमा समेत नयाँ कोरोना संक्रमणको दर बढ्न थालेको छ । ८ सय ७३ संक्रमितको संख्या रहेको सिन्धुपाल्चोकमा पछिल्लो पटक पाँचजना नयाँ भाईरसका संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ट जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँईले जानकारी दिए । पाँचैजना अस्पतालमा भर्ना गरिएका उनीहरुको अवस्था पहिलेको तुलानामा गम्भिर रहको उनले बताए ।
पहिले एकजनालाई संक्रमित भएपनि कन्ट्रयाकट्रेसिङमा रहेकालाई गराउँदा नदेखिएकोमा पछिल्लोपटक भने ९० प्रतिशतलाई सम्भावना रहेको उनले बताए ।
पहिलोको भन्दा कडाईका पूर्वक स्वास्थ्य मापदण्ड अपनाउन समेत उनले आग्रह गरे ।