धुसेनिखोला सामुहिक हत्याकाण्ड स्मृतिमा सहिद परिवार सम्मान

बैशाख ७, मेलम्ची (सिन्धुपाल्चोक) । धुसेनी खोला हत्याकाण्ड स्मृति दिवसको सन्दर्भमा जनयुद्वका सहिद र वेपत्ता परिवारलाई सम्मान गरिएको छ । मंगलबार मेलम्चीमा आयोजना गरिएको तीन गाउँपालिका कमिटिको संयुक्त अन्तरक्रिया कार्यक्रममा सहिद र वेपत्ता परिवारलाई सम्मान गरिएको हो ।

नेकपा माओवादी केन्द्र मेलम्ची, पाँचपोखरी र हेलम्बु गरी तीन पालिका कमिटीले संयुक्त रुपमा मेलम्चीमा धुसेनिखोला सामुहिक हत्याकाण्ड स्मृति दिवस तथा सहिद परिवार सम्मान र अन्तरक्रिया कार्यक्रम भएको थियो । बागमती प्रदेशका पूर्व सामाजिक बिकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै पूर्वमन्त्री दुलालले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति सहिद, वेपत्ता र घाईते योद्वाहरुको त्याग तपस्या र बलिदानले भएकोले सहिदका सपनालाई पार्टीले साकार पारिछाड्ने दृढता व्यक्त गरे । कार्यक्रममा पूर्व मन्त्री दुलालद्वारा ५२ जनाको परिवारलाई अभिनन्दन गरिएको थियो । २०५९ साल बैशाख ७ गते साविकको मेलम्ची ५ र १२ को सिमाना धुसेनीखोलामा पवित्र चौलागाईँ, बीर बहादुर तामाङ, लोक बहादुर तामाङ, शान्त दनुवार, रमेश मिश्र, रामहरी भट्टराई, रामजी भुजेल र हरि बहादुर थापामगर गरी ८ जनाको सामूहिक हत्य भएको थियो । नेकपा माओवादी केन्द्र बागमती प्रदेश ख की प्रदेश संयोजक मुना ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमबाट बबीर तामाङको संयोजकत्वमा ११ सदस्यीय सहिद तथा बेपत्ता परिवार समाज गठन गरिएको नेकपा माओवादी बागमती प्रदेश सचिवालय सदस्य चन्द्रबहादुर थापा किशोरले जानकारी दिए ।

जिल्ला कार्यवाहक अध्यक्ष गोविन्द पराजुली सहित बिल बहादुर रायमाझी, रोहिणी बिक लगायतकोे उपस्थिति रहेको कार्यक्रममा जिल्ला कमिटि सदस्य दिनेश गिरिले स्वागत मन्तव्य तथा गोपाल नेपाल भिमले संचालन गरेका थिए ।
यसैबीच सोहि दिन पूर्व मन्त्री दुलालले मेलम्चीमा निर्माणधिन सहिद गोविन्द घले स्मृति बहुद्देश्यीय कभर्ड हलको समेत निरिक्षण गरेका थिए ।