जुगल गाँउपालिकामा पहिलो पटक कालोपत्रे सडक

बैशाख ७, ढाँडे (जुगल) । जिल्लाको जुगल गाउँपालिकामा पहिलो पटक कालोपत्रे सडकमा रुपान्तरण भएको छ । गाउँपालिकाको वडानं ६ र ७ विशिंखर–याङलाकोट जाने ३.४ किलोमिटर बाटो कालोपत्र हुन लागेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकका अनुसार ढाँडेदेखि ३.४ किलोमिटर कालोपत्रे हुन लागेको उक्त सडक गाउँपालिकाको वडा नं ५ खमारे, चिलाउने, पेप्टा, विशिंखर, याङलाकोट सम्म पुग्ने छ । हाल उक्त मोटरबाटो ढाँडेदेखि पेप्टासम्म कालोपत्र हुन लागेको उनले बताए ।

समपुरक अनुदान अन्र्तगत २ करोडको योजनाबाट गत सालमै ठेक्का लागेको उक्त सडक निर्माणको लागि दुई करोडको योजना परेको हो । जसमा ढाँडे देखि चिलाउने सम्मको ३.४ किमी सडक रु १ करोड २१ लाख ७१ हजार ३ सय ७१ रुपैया २५ पैसामा शान्तिदेवि एण्ड कन्स्ट्रक्सन प्रा.लि चौताराले ठेक्का पारेको हो । तत्काल एक किलोमिटर कालोपत्रेको सुरुवात भएपनि चरणवद्व तोकिए अनुसार यहि आर्थिक वर्षमा नै कालोपत्रे हुने उनले बताए । उनका अनुसार पालिकाको वडा कार्यालय सम्म पुग्ने ग्रामिण सडक यसै आर्थिक वर्षमा कालेपत्रे गर्न सुरुवात गर्ने गाउँपालिकाको प्राथमिकता रहेको छ । प्रमुख प्रशासकीय अधिकृत विकका अनुसार ७ वटा वडा रहेको गाउँपालिकाको ३ नम्बर वडा वाहेक सबै वडा जोड्ने सडकको कालोपत्रे हुनेछ ।

ग्रामिण भेगहरुमा कालोपत्रे सुरुवात भएसंगै स्थानीयमा खुशियाली छाएको सडकको कालोपत्रे गर्ने जिम्मा पाएको शान्तिदेवि एण्ड कन्स्ट्रक्सन प्रा.लिका प्रोपाईटर प्रभातमान श्रेष्ठले सिन्धुज्वालालाई बताए । सडक कालोपत्रे निर्माणमा तोकिएको मापदण्ड अनुसार नै पुरा गरिने उनले बताए ।