सिपाडोलमा यसरी दिउसै खसी काटिएझै मान्छे काटियो, स्थानीय त्रसित

बैशाख २, सूर्यबिनायक (भक्तपुर) । सूर्यबिनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा २ गते दिउसै एक युवकको हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार सुर्यबिनायक नगरपालिका वडा नं. ८ सिपाडोल मुलबाटो स्थित कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुल बहादुर खुलालले संचालन गरेको गाई फर्ममा ती युवकको हत्या भएको हो ।

गोकुलका छोरा आशिस खुलाललाई भने प्रहरीले नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरिक्षक सूचना अधिकारी दिपक गिरीले सिन्धुज्वालालाई बताए । सूचना अधिकारी डिएसपी गिरीका अनुसार मृतक युवक सोलुखुम्बु घर भई मनोहरा सुकुम्बासी बस्तीमा बस्ने अन्दाजी २० बर्षका ईश्वर राई भएको खुल्न आएको हो । घटना विवरण अनुसार मृतक राईले २ गते विहान ९ बजे आशिस खुलाललाई फोन गरी सिपाडोल आउने जानकारी दिएपछि उनी संगै महोत्तरी जिल्ला घर भई मनोहरा सुकम्बासी बस्तीमा बस्ने युनिस योञ्जन र सुनिल बल समेत तीन जना आशिष खुलाललाई भेट्न पुगेका थिए । त्यसपछि उनीहरु गाई फर्मको टहरा भित्रबाट चुकुल लगाएर चारै जना कुराकानीको क्रममा वादविवाद भएपछि आशिष खुलालले कोठामा भएको खुकुरीले ईश्वर राईलाई प्रहार गरेका थिए । सो क्रममा युनिस योञ्जन र सुनिल बल झ्यालबाट भाग्न सफल भएको र ईश्वर राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरकिो प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । धारिलो हतियारले घाँटीमा प्रहार भएपछि ईश्वरको घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । घटना स्थलमा रगत लागेको खुकुरी फेला परेको र घटना सम्बन्धमा घटनास्थल तथा लाशजाँच प्रकृति मुचुल्का लगायतको कार्य गरी थप अनुसन्धान कार्य भइरहेको डिएसपी गिरीले जानकारी दिए ।
हत्यामा संलग्न आशिषकी आमा देवी खुलालले भने आफुलाई घटनाको योजनाबारे कुनै जानकारी नभएको बताएकी छिन् । काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटार स्थायी घर भएका खुलाल परिवारले सिपाडोल मुलबाटो स्थित कविराज बस्नेतको जग्गामा एकवर्ष देखी गाई पालन गर्दै आएका थिए । देवीका श्रीमान गोकुल बहादुर खुलाल भने घरमा छैनन् । दिउसै भएको घटना पछि भने स्थानीय निकै त्रसित बनेका छन् । यस्तो जघन्य घटना सिपाटोल भित्र अहिले सम्मकै पहिलो भएको एक स्थानीयले बताए । घटनास्थल जगाती चौकीबाट पौने दुई किलोमिटर माथि डोलेश्वर नजिक रहेको छ ।