नयाँ वर्षको शुभकामना दिँदै सभामुखले भने ः संसदलाई जीवन्त बनाउँछु


बैशाख १, चौतारा (सिन्धुपाल्चोक) । सभामुख अग्निप्रसाद सापकोटाले नव बर्ष २०७८ साल प्रारम्भ संगै प्रतिनिधि सभालाई जीवन्त बनाउने बताएका छन् । बुधबार नयाँ वर्ष २०७८ सालको अवसरमा सबै नेपाली दिदीबहिनी एवं दाजुुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै सभामुख सापकोटाले नयाँ सालको प्रारम्भ संगै आफ्नो भूमिका अझ जिम्मेवार र गहन बनाउने प्रतिवद्वता जनाएका छन् । अस्थिर राजनीतिको चक्रव्युमा फसेको मुलुक र संसदलाई नयाँ वर्षको आगमनले नयाँ उर्जा थपिने समेत विश्वास दिलाएका छन् ।
सभामुख सापकोटाद्वारा जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ, ‘मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व कायम होस भन्ने जनचाहना सहितको समृद्धिको यात्रा अगाडि बढाउन राजनीतिक दलहरुबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुनेछ भन्ने अपेक्षा गरेको छु ।’ ‘सकारात्मक परिवर्तनका लागि आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने विश्वास लिएको छु’, उनले भने । अग्रगामी निकासका लागि हाम्राबीचमा दृढ संकल्प आवश्यक रहेको उनले बताएका छन् । प्रतिबद्धताहरु व्यवहारमा देखिए मात्रै विश्वासको आधारशिला तयार हुने धारणा राखेका सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन संघीय संसदको नेतृत्वको हैसियतले सबैखाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता प्रेस वक्तव्य मार्फत व्यक्त गरेका छन् ।
उनले उल्लेख गरिएको प्रेस वक्तव्यमा भनिएको छ–‘हामीले मानव सभ्यता र अस्तित्वलाई नै चुनौती खडा हुनेगरि फैलिएको कोभिड–१९ को महामारी, ठूला ठूला प्राकृतिक विपत्ति र संवैधानिक संकट बेहोरेर विक्रम सम्वत् २०७७ साललाई बिदा गरेका छौं । संकट अझ टरेको छैन, हामीले गत बर्षभन्दा अझ बढी सजक र सतर्क भएर अघि बढ्नुपर्ने अवस्था छ । महामारीविरुद्ध संघर्ष जारी छ, सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि अधिक पूर्व तयारी गर्नु पर्ने छ ।’
संविधान सभामार्फत् नयाँ संविधान जारी भएपछि हामी यसको कार्यान्वयनको चरणमा रहेको र संविधानको मर्म, भावना अनुसार गर्नु पर्ने धेरै काम बाँकी रहेको बताउँदै सभामुख सापकोटाले जनअपेक्षा अनुसार काम गरेर जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्नु धारणा पेश गरेका छन् ।
विधि र नीतिको सर्वोपरितालाई स्वीकार्ने संस्कार विकासमा अभिप्रेरित हुँदै दलहरुभित्र विधिलाई लोकतान्त्रिक, पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास निरन्तर भैरहने आशा व्यक्त गर्दै सभामुख सापकोटाले अनुशासित भएर कोभिडलाई जित्ने प्रणसहित शुभकामना आदान प्रदान गरेर नयाँ बर्ष मनाउन सबैमा अपिल गरेका छन् ।