जिल्ला प्रहरी कार्यालयको रचनात्मक कार्यक्रम, सवारी दुर्घटना न्यूनिकरण गर्न स्वास्थ्य परिक्षण

चैत्र ९, चौतारा (सिन्धुपाल्चोक) । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सवारी दुर्घटना न्यूनिकरण गर्न भन्दै सवारी चालकहरुको स्वास्थ्य परिक्षण गराएको छ । सवारी दुर्घटना न्यूनिकरण विशेष अभियान–२०७७ अन्र्तगत स्वास्थ्य परिक्षण कार्यक्रम नै तय गरेर आईतबार बन्देउमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण गराएको हो ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वयमा चौतारा साँगाचोकगढी नगरपालिका–११ बनदेउ चोकमा परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले सिन्धुज्वालालाई जानकारी गराए ।

उनका अनुसार प्रहरी निरिक्षक रामचन्द्र घिमिरेको संयोजकत्वमा ‘सवारी दुर्घटना न्युनिकरण विशेष अभियान २०७७’ अन्र्तगत ‘सुरक्षित यात्रा, हाम्रो सरोकार’ भन्ने मुल नारा दिएर सवारी चालक तथा सह–चालकहरुको दक्ष स्वास्थ्यकर्मिबाट प्रारम्भिक स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा चालक र सह–चालक गरी जम्मा २ सय २ जनाको स्वास्थ्य परिक्षण गरिएको प्रनाउ सापकोटाले जानकारी दिए । उनका अनुसार परिक्षण गरिएका मध्ये १८ जनालाई कलर भिजन र ३२ जनालाई प्रेसरको समस्या देखा परेको थियो । ति समस्याबाट ग्रसित चालक तथा सहचालकहरुलाई आवश्यक सल्लाह, परामर्श दिनुका साथै सम्बन्धित बिज्ञ डाक्टर समक्ष जानको लागि सुझाब समेत दिईएको उनले बताए । सोही परिक्षण कार्यक्रममा प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले ट्राफिक दुर्घटना न्युनिकरण सम्बन्धि सचेतना मुलक जानकारी समेत गराएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।