चीनकाे ´ग्रेटवाल` झल्काउने हेलम्बुकाे पदमार्ग हेर्न पर्यटक बढ्न थाले
फागुन २८, हेलम्बु (सिन्धुपाल्चोक ) । देशकै पर्यटकीय गन्तव्य मध्येकाे महत्वपूर्ण क्षेत्र सिन्धुपाल्चोककाे हेलम्बुमा अहिले अान्तरिक पर्यटक बढन थालेका छन् । चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (ग्रेट टेल) बनेपछि हेलम्बु अहिले पर्यटककाे लागि अाकर्षण केन्द्र बनीरहेकाे छ। हेलम्बु हिमालयन सम्पदा पदमार्ग नाम दिएर हेलम्बु गाउँपालिकाले तीन वर्षदेखि गाउँपालिका घेर्ने गरी महत्वाकांक्षी पर्खाल (ग्रेट टेल) बनाइरहेको भएपनि काेभिड-१९ का कारण केही समय याे क्षेत्र अाेझेलमा परेकाे थियाे तर पछिल्लाे समय काेभिडकाे प्रभाव घट्न थालेपछि अान्तरिक पर्यटक अाउने क्रम बढ्न थालेकाे हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सिन्धुज्वालालाई बताए । उनका अनुसार राजधानीबाट छाेटाे दुरीमा रहेकाे हेलम्बुमा काठमाडाैं लगाएत देशका विभिन्न ठाउँबाट पर्यटक अाउने गरेका छज् । अाउने पर्यटकहरू हेलम्बुकाे ट्राउटकाे स्वाद लिदै पदमार्ग जाने गरेका छन् । हेलम्बु पर्यटककाे अाकर्षक केन्द्र बनेसंगै याे क्षेत्रलाई चीनको ग्रेटवाल जस्तै आकर्षणको केन्द्र बनाएर वार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नेपाली ग्रेटवालको संज्ञा दिएर पदमार्ग पर्खाल बनाउन थालिएको गाउँपालिका अध्यक्ष शेर्पा बताउँछन्।
´हामी याे क्षेत्रलाई चीनकाे ग्रेटवालकै झल्काे दिनेगरी विकास गरेर पर्यटक भित्र्याउने छाैं`,निमाले भने । उनका अनुसार हालसम्म पाँच सय मिटर पदयात्रा पर्खाल निर्माण कार्य सकिएको छ । साविक इचोक गाविसको बुद्धपार्क र नागिडाँडाबाट निर्माण अघि बढेको पदमार्ग पर्खाल पाकेडाँडा, ठाडेपाटी, घ्योछाडी, सेमिसिदाङ, पेम्थाङ, ढुम्चु, आमायांग्री, ज्योमोथाङ, सेर्माथाङ, नागिडाँडा पुगेर टुंगिने उनले बताए । उक्त पद मार्गले लाङटाङ, गोसाइकुण्ड, ग्वोन्जलापास र सुन्दरीजल पदमार्ग जोड्ने पदमार्ग पर्खालले नुवाकोट, रसुवासहित सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका छुने उनले बताए । २ हजार ४ सय मिटर उचाइबाट सुरु भई पाँच हजारभन्दा बढी उचाइमा पुग्ने पर्खालले गाउँपालिकाको महांकालबाहेक साविक हेलम्बु, इचोक, किउल र पाल्चोक गाविस घेर्ने उनकाे भनाई छ । चीनको ग्रेटवाल हेर्न पुग्दा त्यहाँ पर्यटकको अपार लहर देखेपछि हेलम्बुमा पनि पदमार्ग पर्खालको सोचाइ आएको अध्यक्ष शेर्पा बताउँछन्।
पदमार्ग पर्खाल स्थानीय स्लेट ढुंगा प्रयोग गरेर बनाईएकाे छ । जसमा बुटादार काटिएका ढुंगा बिछ्याइएका पर्खालको भुइँमा हरेक खण्ड १० वटा दरका सिँढी (खुड्किलो) बनाएर जोडिने छ। साढे दुई मिटर चौडा हुने पदमार्गको दायाँ–बायाँ साढे एकदेखि साढे दुईमिटर अग्लो पर्खाल लगाइनेछ ।
उसाेत नेपालमा ह्योल्मो समुदायको लोपोन्मुख संस्कृति हेलम्बुमा मात्रै देख्न पाइन्छ। हेलम्बु ‘गुम्बाको गाउँ’ नामले समेत चर्चित छ । ह्योल्मो समुदायको बाहुल्य रहेको हेलम्बुकाे अर्काे विशेषता ह्याेल्माे संस्कृति झल्कने बस्ती र माेडल विद्यालय निकै चर्चामा छ । हेलम्बु धार्मिक, सांस्कृतिक पर्यटनको गन्तव्यसमेत रहेकाले पदमार्ग पर्खालको महत्व अझ बढ्ने अध्यक्ष निमाकाे विश्वास छ।
प्रारम्भिक १० किलोमिटर दूरीको डिपिआर (विस्तृत परियोजना अध्ययन प्रतिवेदन) तयार पारेर गाउँपालिकाले पदमार्ग पर्खाल निर्माण थालेको थियो। अहिले ६० किमिकै डिपिआर भइसकेको उनले बताए । उनका अनसार पहिलो वर्ष गाउँपालिकाले ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसैबाट १ सय १० मिटर पर्खालको काम सकिएको थियो। दोस्रो वर्ष गाउँपालिकाले ३० लाख रूपैयाँ विनियोजन गर्यो। त्यस्तै, वाग्मती प्रदेश सरकारले ५० लाख रूपैयाँ छुट्याएकामा २५ लाख रूपैयाँको मात्र काम हुन सक्यो। यस वर्षका लागि प्रदेश सरकारले नै पर्खाल निर्माणका लागि २० लाख रूपैयाँ विनियोजन गरेको उनले बताए ।
गाउँपालिकाले यस अार्थिक बर्ष पनि पर्यटकीय पदमार्गलाई गौरवको आयोजनामा समेट्दै ७५ लाख रूपैयाँका दुईवटा ठेक्कामार्फत काम गरिरहेको गाउँपालिकाले जनाएकाे छ । त्यस्तै पर्यटन विभागले पर्खाल निर्माणमा ४ करोड रूपैयाँ अनुदान दिएपछि ठेक्का मार्फत विभागले समेत काम सुरु गरिसकेको अध्यक्ष निमाले बताए ।
उनका अनुसार हेलम्बु गाउँपालिकाले ६० किमि पदमार्ग पर्खाल बनाउन चार अर्ब रूपैयाँ लाग्ने अनुमान गरेकाे छ । उक्त रकम भने गाउँपालिकाले व्यक्तिगत र संस्थागत सहयोग जुटाउने नीति अघि सारेको उनले बताए ।
हेलम्बुमा पर्यटीय पदमार्ग संगै प्याराग्लाइडिङ, क्यानोनिङ, माउन्टेन फ्लाइटलगायत साहसिक खेल सञ्चालनमा ल्याउने गाउँपालिकाको योजना रहेकाे अध्यक्ष निमाले सुनाए ।