गरीब पहिचान गर्दै इन्द्रावती गाउँपालिका

नवलपुर । जिल्लाको इन्द्रावती गाउँपालिकाले आफ्नो पालिकाभित्र गरीबीको पहिचान गर्ने भएको छ । गाउँपालिकाले अभियाननै चलाएर विपन्न र गरिबिको रेखामुनी रहेका नागरिकहरुको पहिचान सहित परिचयपत्र वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले जनाकारी दिए । उनका अनुसार गाउँपालिकाको पहलमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको तथ्यांक संकलन गर्ने ७ जना गणक तथा १ जना सुपरिवेक्षक खटाईएको हो । आईतबार गाउँपालिका अध्यक्ष तामाङले सो अभियानको लागि गणक तथा सुपरिवेक्षकलाई तथ्याङ्क संकलन गर्नका लागि आवश्यक पर्ने ट्याव वितरण गरेका थिए । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्त भित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेसँगै स्थानियतहहरुले सुपरिवेक्षक तथा गणकहरुको लागि तालिमको ब्यबस्था गर्न थालेका हुन् ।
पालिकाका गणकहरुले गाउँपालिका भरिका गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण गर्नका लागि तथ्याङ्क संकलन गर्ने कार्य गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले सिन्धुज्वालाई जानकारी दिए ।
कार्यक्रमले गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमहरुको प्रभावकारिता अभिवृद्धि हुने गाउँपालिकाका अध्यक्ष तामाङको ठहर छ ।