सर्वोच्च अदालतको ऐतिहासिक फैसला पछि देशभर खुशीयाली, जनताले सडकमै निस्केर गरे दिप प्रज्ज्वलन( फोटो फिचर सहित)

फागुन ११, काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । त्यस्तै, १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतको निर्णय आएसंगै जनताको पक्षमा फैसला आएको भन्दै देशभर दिप प्रज्जलन गरेर खुशीयाली मनाईएको छ । जनता सडकमै निस्केर साँझ राजधानी काठमाडौं र प्रत्येक जिल्लामा दिप प्रज्जवलन गरेका थिए ।

सर्वोच्चको फैसला पछि विभिन्न प्रतिक्रिया आएका छन् । जसमा सभामुख अग्नि सापकोटाले अदालतप्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेपछि सभामुख सापकोटाले पहिलो प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।


सापकोटाले भने, अदालतमाथि सबैको विश्वास भरोसा थियो । अदालतले जनताको मन भावनाअनुसार फैसला गर्ने गथ्र्यो । अदालतप्रति जनताको विश्वास बढ्यो ।’ आजै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला सुनाएको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । रातोपाटीलाई प्रतिक्रिया दिँदै प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए । ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई !’ पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्ने निर्णयप्रति खुसी व्यक्त गरेका छन् । हाल भारतमा उपचारका लागि रहेका भट्टराईले अस्पतालबाट ट्वीट गर्दै सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं बताएका हुन् ।
यसैबीच सिन्धुपाल्चोक र मेलम्चीमा समेत भव्य रुपमा संसद विघटन बदर भएको खुशीयालीमा दिप प्रज्ज्वलन गरिएको छ ।