जुरे पीडितको एउटै स्वर, माग पुरा नभए बालुवाटार र सिंहदरबार घर्ने चेतावनी

फागुन ८, काठमाडौं । जुरे पहिरो पीडितले माईतीघर मण्डलामा आज चर्को नाराबाजी गर्दै पीडितको नाममा उठेको रकम नदिए बालुवाटार र सिंहदरबार घर्ने चेतावनी दिएका छन् । सो क्रममा बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बलेफी गाउँपालिका प्रवेशमा निषेध गरिने चेतावनी दिएका छन् । जुरे पहिरो पीडितहरुको नाममा उठेको रकम प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाले पीडितलाई दिन आलटाल गरेको भन्दै दुवै जनालाई गाउँपालिका आउन प्रतिवन्ध गरिने उनले चेतावनी दिएका हुन् ।
‘गृहमन्त्री र प्रधानमन्त्रीलाई हाम्रो गाउँपालिकामा आउन प्रतिवन्ध लगाउने छौं, गाउँपालिका अध्यक्ष क्षेत्रीले आक्रोसित हुँदै भने । जुरे पीडितहरुकोे समस्या समाधान नभए सिन्धुपाल्चोक जिल्लाभरीका जनता ल्याएर सिंहदरबार र बालुवाटार घर्ने चेतावनी दिंदै क्षेत्रीले बलेफी गाउँपालिकाको नेतृत्वमा धर्ना बस्ने बताए । पीडित जनताको आवजलाई तीन हप्ता भित्र समाधान भएन भने अप्रिय संघर्षको कार्यक्रम गरिने समेत चेतावनी दिए । पीडित जनताको पैसा सरकारले दिने व्यवस्था नगरेसम्म आन्दोलन नरोकिने क्षेत्रीले उद्घोष गरे ।
१४५ को ज्यान जानेगरी २०७१ सालमा गएको भिमकाय पहिरोको कारण १३० घर विस्थापित भएका थिए । अझै सम्म सयौं विस्थापित छन् । उनै पीडितहरुको लागि भन्दै निजि क्षेत्रबाट २ करोड २४ लाख ६६ हजार ६ सय ५७ रुपैंया जम्मा भएको थियो । उक्त रकम जिल्ला दैविप्रकोप हुँदै गृहमन्त्रालयमा पुगेको थियो ।


भण्डै चारवर्ष पछि अर्थात २०७५ मा जुरे पहिरो पीडितको लागि रकम फुकुवा गर्न गृहमन्त्रालयले परिपत्र नै गरेको थियो । तर दुईवर्ष पुगिसक्दा समेत पीडितले रकम पाएका छैनन् । पीडितलाई वितरण गर्न सरकारले चासो नदेखाउँदा गृहमन्त्रालयले आलटाल गरेको भन्दै बेलेफी गाउँपालिकाको नेतृत्वमा आज माईतिघर मण्डालामा पीडितहरु जम्मा भएका हुन् । पीडितहरु १२ बजे देखि २ बजे सम्म धर्नामा बसेका थिए । कोणसभालाई गाउँपालिका अध्यक्ष क्षेत्री लगाएतले सम्बोधन गरेका थिए । धर्ना कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा लगाएत नेताहरु समेत उपस्थिति रहेका थिए ।