सिन्धुपाल्चोकमा २२ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्झौता एकैचोटी

फागुन ७
चौतारा । (सिन्धुपाल्चोक) । जिल्लाका विभिन्न स्थानीय तहहरुमा बन्ने २२ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्झौता एकैचोटी भएको छ । २०७२ को बिनासकारी भूकम्पले ध्वस्त बनाएका २२ स्वास्थ्य संस्था पुनर्निर्माण गर्न बिहीबार एकसाथ निर्माणसम्बन्धि सम्झौता भएको हो । जिल्लामा भूकम्पपछिको पुनर्निर्माणको नेतृत्व गरिरहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) र सम्वद्ध निर्माण व्यवसायीबीच पुनर्निर्माण सम्झौता भएको छ । इकाइले चार प्याकेजमा ती स्वास्थ्य संस्था पुनर्निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो । एकैचोटी यति ठूलो संख्यामा स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्झौता भएको सम्भवत सिन्धुपाल्चोकको पहिलो घटना भएको छ ।
भूकम्पको पाँच वर्ष बित्न लाग्दा जिल्लामा एउटै स्वास्थ्य संस्था पुनर्निर्माण सम्पन्न नभएको अवस्थामा यसरी एकैचोटी सम्झौता गरेर स्वास्थ्य संस्था पुनर्निर्माण अभियान नै थालिएको राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का निमित्त आयोजना प्रमुख ईन्जिनिएर सन्तोष निरौलाले बताए । ‘२२ वटा स्वास्थ्य संस्थालाई एकै चोटी सम्झौता गरेर पुनर्निर्माणको अभियान थालेका हौं’, इन्जिनिएर निरौलाले भने ।
उनका अनुसार कुल ४३ करोड सात लाख ३८ हजार आठ सय ८८ रुपैयाँ लागतमा ती स्वास्थ्य संस्था भवन बन्न लागेका हुन् । आगामी एक वर्ष पाँच महिनामा पुनर्निर्माण सक्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको इकाइ प्रमुख इन्जिनियर निरौलाले जानकारी दिए ।
उनका अनुसार सम्झौता भएकामध्ये १३ भारत सरकारको अनुदान र सात स्वास्थ्य संस्था नेपाल सरकारको बजेटमा पुनर्निर्माण हुन लागेका हुन् । दुई प्याकेजका स्वास्थ्य संस्था भवन समय अगावै निर्माण सम्पन्न गरे व्यवसायीलाई बोनस दिने व्यवस्था समेत मिलाईएको उनले बताए । उनका अनुसार स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार आधुनिक शैलीमा बन्ने भवन डेढ तले हुनेछन् । भवनको पहिलो तलामा रहने ६ कक्षबाट स्वास्थ्य सेवा प्रवाह गरिने छ भने माथिल्लो तला आवास रहने छ ।
ईन्जिनिएर निरौलाका अनुसार पहिलो प्याकेज अन्र्तगत पर्ने गुन्सा, सिपापोखरे, इचोक र भोटसिपा स्वास्थ्य चौकीको निर्माण मालिका कन्ट्र«सनले बनाउने छ । मालिकाले चार करोड ७५ लाख ७९ हजार रुपैयाँमा ठेक्का सकारेको हो । त्यस्तै दोस्रो प्याकेज अन्र्तगत सिलढुंगा, कालिका, तौथली, गोल्चे र गुम्बा स्वास्थ्य चौकीको निर्माण टक्सार निर्माण सेवाले पुनर्निर्माण गर्ने छ । त्यसमा ६ करोड ८० लाख ६५ हजार रुपैयाँमा सम्झौता भएको छ ।
त्यस्तै भारत सरकारको सहयोग रहेको तेस्रो प्याकेजका मेलम्ची, थकनी, सिन्धुकोट, ज्यामिरे, भोतामाङ, बाँसखर्क र पीपलडाँडा स्वास्थ्य संस्था बनाउने जिम्मा हाविटेन र न्यू ड्र«ागनले संयूक्त पाएका छन् । यसमा १४ करोड ११ लाख ७४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । त्यस्तै भारतकै सहयोगको चौथो प्याकेजमा हगाम, फूल्पिङकोट, लिस्ति, ठोकर्पा (स्वास्थ्य र आयुर्वेद) र ठूलोधादिङ स्वास्थ्य चौकी निर्माणको जिम्मा हिमदुङ र थोकर निर्माणले संयूक्त पाएका छन् । यी स्वास्थ्य भवन १२ करोड ४३ लाख ६५ हजार रुपैयाँको लागतमा बन्ने छन् ।
हस्ताक्षर कार्यक्रममा दोस्रो प्याकेज पुनर्निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष छत्रबहादुर तामाङले समय र गुणस्तरमा सम्झौता नगरी पुनर्निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाए । ‘यति ठूलो मात्रमा एकैपटक सम्झौता हुने घटना मेरो जीवनको पहिलो घटना हो’, तामाङले भने ‘बोनस खानेगरी निर्धारित समयमै काम सक्छौँ, ।’
त्यस्तै वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले स्वास्थ्य संस्थामा भूकम्पले ठूलो क्षति पु¥याउँदा हाल सेवा प्रवाहमा जटिलता आएको बताए । धेरै स्वास्थ्य संस्था अस्थायी संरचनाबाट चलेको बताउँदै उनले भने ‘ल्याब, सुत्केरी सेवा जस्ता जटिल सेवा दिन सकिरहेका थिएनौ, अब हुने आशामा छौं ।’
स्मरण रहोस २०७२ वैशाख १२ को भूकम्पले तत्कालीन जिल्ला अस्पतालसहित ४० भन्दा बढी स्वास्थ्य संस्था क्षतिग्रस्त बनाएको थियो । त्यसपछि इकाइ (भवन) को पहलमा साउदी फण्डको सहयोगमा महांकाल, तालामाराङ, भोटेनाम्लाङ, चोकटी र सुनखानी स्वास्थ्य चौकी निर्माण भइरहेका छन् । त्यस्तै नेपाल सरकारकै बजेटमा बाँसवारी, बरुवा र सानोसिरुवारी चौकी एक वर्षदेखि निर्माणाधीन छन् । सरकारकै बजेटमा बन्न लागेका मार्मिङ, घोर्थली, बतासे, र बलेफी–५ स्वास्थ्य केन्द्र भवन पुनर्निर्माणको लागि टेण्डरपछि मूल्यांकन प्रक्रिया अघि बढाइएको ईन्जिनिएर निरौलाले बताए ।
उनका अनुसार भारतकै सहयोग रहेको अत्तरपुर र नेपाल सरकारकै स्रोतबाट बन्ने पाँग्रेटार स्वास्थ्य चौकी बोलपत्र आह्वान प्रक्रियामा रहेको छ भने गाती र बाह्रविसे स्वास्थ्य केन्द्र बनाउन जग्गा व्यवस्थापनको काम भइरहेको छ ।