सिन्धुपाल्चोकमा प्रभावकारी बन्दै कोभिड–१९ विरुद्वको खोप अभियान
दिनेश दुलाल
फागुन ७, चौतारा (सिन्धुपाल्चोक) । सरकारले कोभिड–१९ विरुद्ध भारतबाट अनुदानमा ल्याएको खोप सिन्धुपाल्चोकमा पनि लगाउन सुरु गरिएको छ । पहिलो चरणमा सिन्धुपाल्चोकमा ३ हजार जनालाई लगाउन मिल्ने गरी आएको उक्त खोप प्रभावकारी बन्दै गएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
राष्ट्रिय खोप कार्यक्रम कोभिड–१९ विरुद्वको खोप अभियान सन्दर्भमा बिहिबार गरिएको पत्रकार संगको अन्तरक्रिया कार्यक्रममा खोप अभियानको प्रभावकारिताबारे स्वास्थ्य कार्यालयले जनाकारी गराएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जिल्लामा थालिएको खोप अभियान सुरुका चरणमा केही कमी आएपनि पछिल्लो चरणमा प्रभावकारिता बन्दै गएको बताए । ‘सुरुका दिनमा केहीलाई खोपको बारेमा भ्रम थियो, अब बिस्तारै भ्रम हट्दै गएको छ’, बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईले भने । पहिलो चरणमा खोप लगाएकाहरुमा सामन्य लक्षण बाहेक खासै समस्या नदेखिएपछि खोपको प्रभावकारिता बन्दै गएको उनको ठहर छ । खोप अभियान गत माघ ११ देखि २४ गतेसम्म पहिलो चरण सञ्चालन गरेको सिन्धुपाल्चोकले स्वास्थ्यकर्मी, स्वास्थ्यमा कार्यरत कर्मचारी, स्वयंसेविका, स्वास्थ्य संस्था तथा नगरपालिकाका सरसफाइकर्मी, एम्बुलेन्स चालक, शब व्यवसथापनका खटिने सुरक्षाकर्मी, वृद्वआश्रममा रहेका व्यक्ति, जेलमा रहेका कैदी तथा सुरक्षाकर्मी, र अन्र्तराष्ट्रिय नाकामा कार्यरत सुरक्षाकर्मीलाई खोप सेवा उपलब्ध गराइएको चापागाईले जानकारी दिए ।
उनका अनुसार अभियानका लागि चौतारा अस्पताल अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र बाह्रबिसे र मेलम्ची प्राथमिक स्वस्थ्य केन्द्रबाट खोप केन्द्र सञ्चालन गरिएको हो । पहिलो चरण अन्र्तगत चौतारा अस्पतालबाट ४०७, बाह्रबिसे प्राथमिक स्वास्थ्यकेन्द्रबाट ४८३ र मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रबाट २७९ गरी १ हजार १ सय ६९ लाई खोप लगाईएको उनले बताए ।
पहिलो प्राथमिकताको दोस्रो अभियान अन्र्तगत २ गते देखि ८ गते सम्म हुने कार्यक्रमको खोप केन्द्र जलविरे प्राथमिक स्वास्थ्यकेन्द्रलाई समेत थप गरिएको उनले बताए ।
पहिलो प्राथमिकताको दोस्रो अभियानमा २ हजार ९ सय ६९ लक्षित संख्या रहेकोमा प्रगति संख्या ६ सय ५२ अर्थात २२ प्रतिशत रहेको उनले बताए । अबको केही दिनमै लक्ष्य अनुसारको क्रमशः सुधारको चरणमा रहेको उनले बताए ।
स्वास्थ्य कार्यालयका अनुसार प्रत्येक केन्द्रमा २ जना खोप कार्यकर्ता, ३ जना स्वयसेवक र चिकित्सक सहितको भैपरी आउने व्यवस्थापन टोली परिचालन गरिएको छ ।