सिन्धुपाल्चोकमा सम्बन्ध विच्छेदका घटना उच्च, वैदेशिक रोजगार मुख्य कारण

दिनेश दुलाल
माघ ५, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकमा अन्य मुद्दाको सन्दर्भमा सम्बन्ध विच्छेदका घटना उच्च देखिएको छ । अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष समन्ध विच्छेदका घटना वृद्वि देखिएको छ ।
जिल्ला अदालत सिन्धुपाल्चोकले आर्थिक वर्ष २०७७÷०७८ पौष मसान्त सम्म मुद्दाको लगत, फछर्यौट र बाँकीको आवधिक विवरण सार्वजनिक गरेसंगै यो तथ्य बाहिर आएको हो । जिल्ला अदालत सिन्धुपाल्चोकले सञ्चारकर्मीहरुलाई उपलब्ध गराएको तथ्याङ्क विवरण अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा समन्ध विच्छेदका घटना जिम्मेवारी सरेर आएको समेत गरेर लगत २४१ रहेकोमा फछर्याैट १७६ भएकोमा बाँकी ६५ रहेको थियो । त्यस्तै आर्थिक वर्ष ०७७÷०७८ मा जिम्मेवारी सरेको समेत गरेर लगत १७४ रहेकोमा ५३ फछर्यौट भएर १२१ बाँकी रहेको छ । यो आर्थिक वर्ष पौष मसान्त सम्म मात्रै १०९ सम्वन्ध विच्छेदका घटना दर्ता भएको जिल्ला अदालत सिन्धुपाल्चोकले जनाएको छ ।
सम्बन्ध विच्छेदका घटना बढ्नुमा वैदेशिक रोजगार मुख्य कारक रहेको सिन्धुपाल्चोक जिल्ला न्यायधिस महेन्द्र बहादुर कार्कीले बताए । ‘सम्बन्ध विच्छेद जस्ता घटना वृद्वि हुनुमा वैदेशिक रोजगार नै कारक देखिन्छ’, कार्कीले भने । समन्ध विच्छेदका घटनामा अग्रुसर पुरुष ३० प्रतिशत बाहेक बाँकी महिला रहेको उनले बताए ।
मुुलुक संघीयतामा गएर स्थानीय तहमा न्यायिक समिति बनेपनि सामन्य प्रकृतिका मुद्दा जिल्ला अदालतमा आउनेक्रम कमी नभएको जिल्ला न्यायधिस कार्कीको ठम्याई छ ।

अदालतका अनुसार जिल्लामा यो आर्थिक वर्षमा सबै किसिमका मुद्दा गरेर ५५३ वटा रहेकोमा फछर्यौट १२५ अर्थात २२.६० प्रतिशत मात्रै भएको छ । लक्ष्य ५९० रहेपनि लक्ष्य अनुसार पुग्न नसक्नु कोभिड–१९ को प्रभाव रहेको श्रेष्तेदार ज्ञानबहादुर खत्रीको कथन छ । जिम्मेवारी सरेको ३०५ र चालु वर्षको दर्ता २४८ रहेकोमा अझै ४२८ फछर्यौट हुन बाँकी रहेको उनले बताए । उनका अनुसार अदालतको आर्थिक वर्ष २०७७÷०७८ मा अनुमानित लगत ८७४ रहेकोमा फछर्यौट लक्ष्य ५९० अर्थात ६७.५१ प्रतिशत रहेको थियो ।
श्रेष्तेदार खत्रीका अनुसार अदालतको नयाँ प्रावधान अनुसार अति सामन्य प्रकृतिका मुद्दालाई एकवर्ष भित्र, सामन्यलाई १ वर्ष देखि १८ महिना भित्र र विशिष्ट प्रकृतिका मुद्दालाई १८ महिना देखि २ वर्ष सम्म फैसला गरिसक्नुपर्ने नियम छ ।
अदालतको तथ्याङ्क अनुसार सिन्धुपाल्चोकमा जम्मा मुद्दा संख्या ३७ हजार ३ सय ३५ रहेको छ । अदालतमा गत वर्ष सम्मको दर्ता ३७ हजार १ सय ७५ र २०७७ पौष मसान्त सम्मको दर्ता १६० रहेको देखिन्छ । जिल्ला अदालतको तथ्याङ्क
अनुसार जिल्लामा देवानी मुद्दा १८ हजार ४ सय २८ र फौजदारी मुद्दा १८९०७ रहेकोमा फैसला कार्यान्वयन १ हजार ५४ रहेको छ । जसमा कम्युटर ईन्ट्रि १७ हजार ६ सय ९१ गरिएको अदालतले जनाएको छ ।
जर्वजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, घरेलु हिंसा, सम्बन्ध विच्छेद लगाएत मुद्दा रहेको सिन्धुपाल्चोकमा वि.स १९७३ देखिको अभिलेख रहेको श्रेष्तेदार खत्रीले जानकारी दिए ।