विकट गाउँ जलजलेमा बन्यो भव्य विद्यालय भवन (फोटो फिचर सहित)

दिनेश दुलाल
माघ २१, पिस्कर (सिन्धुपाल्चोक) । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ अन्र्तगत पिस्करको जलजलेमा भव्य विद्यालय भवन बनेको छ । गाउँपालिकाको विकट क्षेत्र जलजलेमा रहेको जनता आधारभूत विद्यालयले १२ कोठे सुविधा सम्पन्न भवन पाएको हो । जापान सरकारको आर्थिक सहयोग तथा चाईल्डफण्ड जापान र ग्रामिण महिला सिर्जनशील परिवारको समन्वयमा निर्माण गरिएको उक्त भवन बुधबार एक समारोहका बीच समुदायलाई हस्तान्तरण गरिएको हो । विद्यालयको ३५ औं बार्षिक उत्सव तथा नवनिर्मित भवन समुदघाटन समारोहका प्रमुख अतिथि त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले पानसमा बत्ती बालेर तथा चाईल्डफण्ड जापानका कार्यक्रम व्यवस्थापक हिरोयुकी ताकिताले रिवन काटेर नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्रेष्ठले विकट बस्तीमा सुविधासम्पन्न विद्यालय भवन बन्न सकेकोमा सहयोगी दाता जापनी सरकार र समन्वयकारी संस्था चाईल्डफण्ड जापान र ग्रामिण महिला सिर्जनशील परिवारलाई धन्यवाद दिए । पालिकामा एकिकृत र केन्द्रीकृत शैक्षिक विकास गर्न लागिएको बताएका पालिका अध्यक्ष श्रेष्ठले जनता आधारभूत विद्यालयले भव्य भवन पाएसंगै सो विद्यालयलाई शैक्षिक गुणस्तरमा विकास गरिने समेत प्रतिवद्वता सुनाए ।
कार्यक्रममा रहेका अन्य वक्तहरुले समेत विद्यालयको भौतिक व्यवस्थापन साथसाथै शैक्षिक क्षेत्रको समेत विकास गर्नुपर्ने धारणा राखेका थिए ।


४ करोड ३४ लाख ५५ हजार ६ सय ७३ रुपैंया लागतमा निर्माण सम्पन्न भएको उक्त १२ कोठे आरसीसी भूकम्प प्रतिरोधी विद्यालय भवनमा शौचालय, खानेपानी, घेराबार लगाएतका संरचना निर्माण गरिएको ग्रामिण महिला सिर्जशील परिवार लामुसाँघुका कार्यक्रम संयोजक हर्क तामाङले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार १२ कोठे उक्त विद्यालयमा पुस्ताकालय, विज्ञान÷कम्युटर प्रयोगशाला र एक कार्यालय व्यवस्थापनमा प्रयोग बाहेक ९ वटा कक्षा कोठा सञ्चालनमा आउने छन् । त्यस्तै ६ कोठे पक्की शौचालय, ८ धारा भएको खानेपानी निर्माण, २ सय ३५ मिटर घेराबार र विद्यालय जग्गा व्यवस्थापन रहेको छ । त्यस्तै विद्यालयमा फुलबारी व्यवस्थापन, विद्यालय प्राङ्ग्रण तथा सरक्षा सहितको खेल मैदान निर्माण गरिएको कार्यक्रम संयोजक तामाङले जानकारी दिए ।
३५ वर्षपछि कार्यक्रम


स्थानीयका अनुसार उक्त विद्यायमा ३५ वर्ष पछि जनप्रतिनिधि लगाएत स्थानीय को बाक्लो सहभागितामा कार्यक्रम भएको हो । विद्यालयको ३५ औं वार्षिक उत्सव कार्यक्रम नै पहिलो कार्यक्रम भएको स्थानीयको भनाई छ । ‘यस भन्दा अगाडि यस किसिको कुनै कार्यक्रम भएको थिएन’, सोही वडाका वडाअध्यक्ष भोटोलो थामिले भने । उनका अनुसार विद्यालयको वार्षिक उत्सब कार्यक्रम र विद्यालय हस्तान्तरण कार्यक्रम एकैदिनमा राखिएसंगै कार्यक्रममा सहभागिको बाक्लो उपस्थित रहेको थियो । उक्त विद्यालय कक्षा ८ सम्म सञ्चालनमा रहेपनि विद्यालयको भौतिक संरचना निकै नाजुक रहेको ग्रामिण महिला सिर्जशीलका कार्यक्रम संयोजक तामाङ बताउँछन् । उनका अनुसार जनजातिको बाहुल्यता रहेको उक्त विद्यालयमा ११६ जना विद्यार्थी अध्यानरत छन् । ‘भूकम्प पछि टिएलसी बनाएर निकै नाजुक अवस्थामा बालबालिकालाई पढाउन पर्ने वाध्यता रहेछ’, तामाङले भने । यो अवस्था देखेर नै संस्थाकै पहलमा जापान सरकारको सहयोगमा विद्यालय भवन बन्न सकेको तामाङको भनाई छ । विद्यालय सम्पन्न भएसंगै सिर्जनशीलको उक्त क्षेत्रमा शैक्षिक भवन निर्माण गरिने परियोजना फेजआउट भएको उनले जानकारी दिए ।