नगरस्तरीय कार्यदलको अनुगमन, नदिजन्य पदार्थ उत्खननका लागि १० ठाउँलाई अनुमति
दिनेश दुलाल
पौष २८, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय कार्यदलले सुनकोशी र ईन्द्रावती नदिमा अनुगमन गरेको छ ।
नगरले सीमा क्षेत्र दुई नदिमा करिब २२ करोडको ठेक्का लगाएसंगै नगरबाट गठित कार्यदलले सोमबार अनुगमन गरेको हो । नदिको रोडा, ढुङ्गा तथा वालुवा उत्खनन् गर्न ठेक्कामा छनौट परेका प्राईभेट कम्पनीलाई अनुमित दिनु अघि कार्यदलले सीमा क्षेत्रमा मेसिन प्रयोग गर्न पाउने ठाउँको अनुगमन तथा उत्खनन्का लागि तोकिएको ठाउँको अनुगमन गरिएको नगरपालिकाकी उपमेयर तथा कार्यदली संयोजक जानुका पराजुलीले बताईन । ‘ठेक्का कम्पनीलाई उत्खनन् गर्न दिनु अघि उचित छ छैन भनेर ठाउँको अनुगमन गरेका हौं’, उपमेयर पराजुलीले भनिन् । उनको संयोजकत्वमा ३ जना वडाअध्यक्ष सहित सातजनाको कार्यदल बनेको थियो । उनका अनुसार अनुगमन समितिले ईन्द्रावतिका ७ र सुनकोशीका ३ गरी १० ठाउँका लागि केन्द्र तोकेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआई) गरेअनुसार एक किलोमिटरको फरकमा उत्खनन् गर्न पाईने प्रावधान छ । नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को लागि ईन्द्रावतीमा १७ करोड र सुनकाशीमा ५ करोडको दहत्तरबहत्तरको ठेक्का लगाएको छ । दुवैतिरको ठेक्का काली÷साँगा जेवी कन्ट्रक्सनले पाएको हो ।
कार्यदलको अनुगमन प्रतिवेनका आधारमा ठेक्का व्यवसायीलाई तोकिएको क्षेत्रमा उत्खननका लागि अनुमति दिईने कार्यदलका सदस्य सचिव तथा राजश्व शाखाका प्रमुख दुर्गाप्रसाद ढुङ्गेलले सिन्धुज्वालालाई बताए । उनका अनुसार तोकिएको एकलिोमिटर क्षेत्रमा ठेक्का व्यवसायीले उत्खननका लागि एउटा मात्र मेशिन प्रयोग गर्न पाउनेछन् । त्यस्तै ठेक्का व्यवसायीको अनुमतिले क्रसरउद्योगीहरुले थप एकवटा मेशिन प्रयोग गर्नेछन् । उत्खननको अवधि असार सम्म तोकिएको छ । राजश्व शाखाका प्रमुख ढुङ्गेलका अनुसार तोकिएका केन्द्रहरुमा ईन्द्रावतीमा कमेरे बगर, खानी दह, घाटेबगर, घर्तेनी बगर, जामुने बगर, एकलेबेसी र बन्देउ बगर रहेका छन् । त्यस्तै सुनकोशीमा सिम्ले बगर, चेहेरे बगर र सुकुटे बगर रहेका छ । कार्यदलको प्रतिवेदनको आधारमा नगरपालिकाले अनुमति दिएसंगै ठेक्का व्यवसायीहरुले नदिजन्य पदार्थ रोडा, ढुङ्गा र वालुवा उत्खनन् गर्न पाउने राजश्व शाखा प्रमुख ढुङ्गेलले बताए ।
स्मरण रहोस गत साल क्रसर व्यवसायीहरुले नदिमा आवश्यक भन्दा बढि गहिरो उत्खनन् गरेपछि नदिको प्राकृतिक स्वरुप नै विग्रिएको भन्दै चौतर्फी आलोचना भएको थियो । यसपालि भने मापदण्ड विपरित उत्खनन् गर्ने व्यवसायीहरुलाई कारबाही गरिने नगरपालिकाले जनाएको छ ।