ऐतिहासिक स्थल दुगुनागढीमा यसरी मनाईयो पृथ्वी जयन्ती
पौष २७, दुगनागढी (सिन्धुपाल्चोक) । जिल्लाको भोटेकोशी गाउँपालिका–४ अन्र्तगत दुगुनागढीमा आज २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमबार ऐतिहासिक स्थल दुगुनागढीमा सरसफाई, राष्ट्रिय झण्डात्तोलन र अन्र्तक्रिया कार्यक्रम गर्दै मनाईएको हो । नेपाली सेनाले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले झण्डात्तोलन गरेका थिए ।
पृथ्वीनारायण शाह हरेक नेपालीको अस्तित्वसँग जोडिएको र राष्ट्रिय एकताको प्रतिकको रुपमा रहेकोले सबै नेपालीले सम्झनु पर्ने प्रजिअ ढकालले बताए । अन्र्तक्रिया कार्यक्रममा ऐतिहासिक स्थललाई कसरी व्यवस्थित र विकास गर्ने, होमस्टे लगाएतको संरचना पुननिर्माण भईरहको गढीको संरचना लगाएतका विषयमा समेत छलफल भएको प्रजिअ ढकालले सिन्धुज्वालाई जानकारी दिए । दुगुनागढीको सरसफाई लगाएत कामका सन्दर्भमा स्थानीयसंग सहकार्य गरेर विशेष ध्यान दिन समेत प्रजिअ ढकालले सुरक्षा निकायहरुलाई निर्देशन दिए । सरकारले यस दिनलाई औपचारिक रुपमा राष्ट्रिय एकता दिवसको रुपमा मनाउन छाडेपनि जनस्तरबाट भने यस दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाईंदै आएको छ ।
विसं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेको थियो ।
स्मरण रहोस राज्य एकिकरणकै क्रममा तत्कालिन नेपाली फौजले दुगुनागढीलाई आफ्नो किल्ला बनाएर तिब्बतसंग युद्व लडेको थियो । सोही ऐतिहासिक गढी विनासकारी भूकम्पका कारण २०७२ सालमा पूर्ण रुपमा क्षति भएको थियो । पुरातात्विक संरक्षण क्षेत्र अन्र्तगत पर्ने उक्त ऐतिहासिक गढीको पुर्ननिर्माण गर्न नेपाल सरकारले बजेट छुट्याएसंगै पुर्ननिर्माणको काम धमाधम भईरहेको छ । सोही ठाउँमा नेपाली सेनाले पुथ्वीजयन्ती मनाएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयको सहभागिता रहेको थियो ।