प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीलाई संविधान र विरोधपत्र पठायो (फोटोफिचर सहित)
दिनेश दुलाल
पुष २४, चौतारा (सिन्धुपाल्चोक) । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ ।
नेकपा प्रचण्ड–माधव समूहले गठन गरेको केन्द्रीय सङ्घर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान–२०७२ पठाएको हो । \
जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेको जिल्ला कमिटी सिन्धुपाल्चोकले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तक सहित विरोधपत्र पठाएको छ । केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा प्रधानमन्त्री ओलीलाई विरोधपत्र र नेपालको संविधान बुझाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीका अध्यक्ष झम्क नेपालले सिन्धुज्वालालाई बताए ।
आज दिउसो १२ बजे पार्टी कार्यालय चौतारामा कार्याकर्ता भेला भएर जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । संविधानको पुस्तक पठाउन नेताहरू प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्धमा सङ्घर्ष गरौँ लेखिएको ब्यानरसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज कृष्णप्रसाद सापकोटा, केन्द्रीय सदस्य शेरबहादुर तामाङ, माधव सापकोटा लगाएत नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेर सायक प्रमुख जिल्ला अधिकारीलाई संविधानको पुस्तक बुझाएर फर्किएका थिए । स्थानीय कार्यकर्ताको सहभागि रहेको उक्त समुहले नारा लगाउँदै फर्किएको थियो । आगमी दिनमा संघर्षको कार्यक्रम निरन्तर रहेको जिल्ला अध्यक्ष झम्क नेपालले जानकारी दिए ।