पाँचपोखरी थाङपाल गाउँपालिकाले आरोहीको सम्मान
पौष २३, थाङपाल (सिन्धुपाल्चोक) । पाँचपोखरी तिलमान पास पिक र युवा पिक हिमालको पहिलो आरोहण सफलताका साथ पूरा गरी फर्किएका अध्ययन टोलीलाई गाउँपालिकाले मंगलबार सम्मान गरेको छ । मंसिर २६ गते शुक्रबार १२ बजेर २६ मिनेटमा टोलीले सफलतापूर्वक युवा पिक आरोहण गरेको थियोे । सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ६ सदस्यीय आरोहण दल र दुई जना माउन्टेन गाइडले ५ हजार ३ सय मिटरको पाँचपोखरी तिलमान पास पिक र ५ हजार ५ सय ५६ मिटरको युवा पिकको पहिलो पटक सफलताका साथ यात्रा पूरा गरेको हो । मौसमले पूर्णरुपमा साथ दिएको र समूहका सबै सदस्यले यात्रा पूरा गरेको अध्ययन टोलीका संयोजक माया गुरुङले जानकारी दिईन । गुरुङको नेतृत्वमा आरोही कान्छीमाया स्याङ्बो तामाङ र दावा शेर्पा साथमा युवा नेता सोमर बोम्जन, मिलन तामाङ, पाँचपोखरी थाङ्पाल गाउँपालिका ३ नं वडाका अध्यक्ष ङिमाछिरिङ तामाङसहित ८ जनाको टोलीले यात्रा पूरा गरेको हो । यात्रा साहसिक र उपलब्धिमूलक भएको भ्रमण संयोजक माया गुरुङले बताईन । कतिपय ठाउँमा बाटो भुलिएर समस्या जस्तो भए पनि बाटो बनाउन सकेमा तिलमान पास सबैले आरोहण गर्न सक्ने उनको तर्क छ । वडा नम्बर ३ का वडा अध्यक्ष ङिमाछिरिङ तामाङले काठमाडौंबाट नजिकै भएर पनि पर्यटन प्रबद्र्धनका हिसाबले पछि परेको भन्दै तिलमान पास पाँचपोखरी पिक र युवा पिक हिमाल आरोहणका लागि सहज बनाउन गाउँपालिकाले छिट्टै काम अगाडि बढाउने बताए । पर्यटन प्रबद्र्धन तथा स्थानीय तहको विकासको पहिचानलाई आधार गन्तव्य पहिल्याउँदै पाँचपोखरी थाङ्पाल गाउँपालिकाले तिलमान पास पाँचपोखरी पिक र युवा पिक हिमाल आरोहणका निम्ति टोलीलाई मंसिर १९ गते विदाइ गरेको थियो ।
यो अध्ययन भ्रमणले पाँचपोखरीलाई धार्मिक तथा सांस्कृतिक रूपमा चिनाउने र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष टासी लामाको भनाइ छ । काठमाडौँबाट सबैभन्दा नजिकको दुरीमा रहेको तिलमान पास गन्तव्य पाँचपोखरी थाङपाल गाउँपालिका सँगै जुगल गाउँपालिका र रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको छ । पाँचपोखरी तिलमान पास पिक र युवा पिक हिमालको सफलतापुर्वक आरोहणले यसलाई साहसिक पदमार्गका लागि महत्वपूर्ण मानिएको छ ।