१० प्रतिशत लाभांश पारित गर्दै आलोपालोको सातौं वाषिर्क साधारणसभा
पौष १८, ठूलोसिरुवारी (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका–१३ अन्र्तगत आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी सस्थाको सातौं बार्षिक साधारण सुरु गरिएको छ । उक्त साधारणसभाको चौतारा साँगाचोकगढी नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक तथा १३ नम्बर वडाअध्यक्ष रामप्रसाद गौतमले उदघाटन गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथि रहेका वडा अध्यक्ष गौतमले आलोपालो सहकारीले जनमुखी तथा रचनात्मक काम गरेकोमा धन्यवाद दिए । वडा कार्यालयले छरिएर रहेका अन्य सहकारीहरुलाई समेत मर्च गर्ने तयारी थालेको बताउँदै वडाअध्यक्ष गौतमले सहकारीले अझै जनतालाई सुहाउने कामहरु गर्न आग्रह गरे । आलोपालोले सो क्षेत्रमा तरकारी संकलन केन्द्र निर्माण गर्न समेत उनले सुझाब दिए ।
कार्यक्रममा सहकारीले आर्थिक वर्ष.०७६÷०७७ को आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । यस बर्ष देखि शेयर धनी तथा बचतकर्ताहरुलाई सहकारीले १० प्रतिशत लाभांश दिने निर्णय भएको उक्त सहकारीका अध्यक्ष नारायणप्रसाद गौतमले सिन्धुज्वालाई जानकारी दिए । उनका अनुसार सोही कार्यक्रममा उत्कृष्ट नम्बर ल्याउने सामुदायिक विद्यालयका २ छात्र तथा छात्रालाई नगद र सम्मान गरिएको थियो । त्यस्तै ६ जना उत्कृष्ट बचत कर्ता र १ जना असल ऋणीलाई सम्मान गरिएको सहकारीको प्रवन्धक निर्देशक लिलाबहादुर गिरी सन्तोषले बताए । शेयर पूँजी २८ लाख ४५ हजार रहेको उक्त सहकारीले किसानलाई रासायनिक मल खरिद विक्री, कृषि र पशुमा सहुलियत ऋण, दिवा खाजा कार्यक्रम, महिला उद्यमी तालिम तथा रेमिटेन्स सेवा सञ्चालन लगाएत कार्यहरु गरेको अध्यक्ष गौतमले जानकारी दिए ।
संस्थाले आगमी कार्यक्रमको रुपमा कृषि उपज (तरकारी संकलन केन्द्र) सञ्चालन गर्ने र त्यसको लागि भवन निर्माण गर्ने लगाएत कार्यहरु समेत गरिने उनले बताए । कार्यक्रममा पूर्व जनप्रतिनिधि इन्द्र बहादुर नेपाल, शुक्रराज प्याकुरेल, सिन्धु ज्वालाका सम्पादक दिनेश दुलाल, विभिन्न सहकारीका अध्यक्ष ,बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न विद्यालयका प्रध्यानध्यापक, सहिद स्मृति सिकाई केन्द्रका अध्यक्ष, टोल विकास समिति, सामुदायिक वन, खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा संस्थाका पदाधिकारीहरु लगाएत शेयर सदस्यहरुको सहभागिता रहेको थियो । सहकारीले आजको एकसाता भित्र नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।