किसानले लगाएको एउटै बोटमा दुई घरी केरा !

नवलपुर । जिल्लाको इन्द्रावती गाउँपालिका–६ सिपातीनघरेका एक किसानले लगाएको केरा वंगैचामा एउटै बोटमा दुई घरी फलेको छ । त्याहाँका स्थानीय शंकरनाथ न्यौपानेको बगैँचामा दुर्लभ केरा फलेको हो ।
शिक्षण पेसामा जीवन बिताएका न्यौपानेले लगाएको केरा बगैंचामा एउटा केराको बोटमा दुईघरी केरा निस्किएपछि उनी समेत आश्चर्यमा परेका छन् । आफुले यस अघि बालबालिकाहरुलाई कथा र घटनाको रुपमा सुनाउने गरेकोमा अहिले आफ्नै बारीमा देख्नु परेको उनले सुनाए ।
अहिले आफ्नै घरपछाडि बगैँचामा एउटै बोटमा दुई घरी केरा देखेर उनी र उनकी पत्नी दीपा मात्रै होइन छरछिमेक पनि चकित छन् ।
एउटै बोटमा दुईघरी केरा निस्किएपछि हेर्न आउने, सेल्फी खिच्ने, टिकटक र भिडियो बनाउन आउनेहरुको ताँती लागेको उनी बताउँछन् । हेर्न आउनेले उक्त घटनालाई धार्मिक कोणबाट पनि व्यख्या गर्ने गरेको न्यौपाने बताउँछन् ।
केराले चर्चा पाएसंगै गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ समेत न्यौपानेको बारीमा पुगेका थिए । आफुले पहिलो पटक यस्तो दृश्य देखेको अध्यक्ष तामाङले बताए । वृद्ध उमेरमा पनि मिहिनेत गरेर खेतीकिसानीमा लागेको र अझ दुर्लभ फल हुर्काएको भन्दै न्यौपानेलाई तामाङले बधाई मात्रै दिएनन्, गाउँ कार्यपालिकाको बैठकबाटै पारित गरेर विशेष सम्मान पनि गर्ने वचन दिए । कृषि विज्ञहरुले समेत यो घटनालाई अत्यान्त दुर्लभ घटनाको रुपमा लिएका छन् ।