मानवअधिकार दिवस कार्यक्रममा शिक्षाको अवस्था बारे अन्तरक्रिया

मंसिर २६, चौतारा (सिन्धुपाल्चोक) । महिला हिंसा बिरुद्धको १६ दिने अभियान तथा ७२ आंै विश्व मानवअधिकार दिवस कार्यक्रम जिल्ला सदरमुकाम चौतारामा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिको आयोजनामा बिहिबार जिल्लामा मानवअधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाहरुको संयुक्त पहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कोभिड–१९ का कारण लामो समयदेखी भौतिक रुपमा कार्यक्रम आयोजना गर्न नसकेकोमा यसपटक स्वास्थ्य मापदण्ड र भौतिक दुरी कायम गरी सदरमुकाम स्थित अरनिको रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा ४ वटा मुलभूत बिषयमा कार्यपत्र प्रस्तुती र टिप्पणी सहित खुल्ला छलफल गरिएको शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला संयोजक हर्क तामाङल जानकारी दिए । उनका अनुसार महिला हिंसा र वर्तमान अवस्था बारे इन्सेकका तर्फबाट बर्ष पुस्तक प्रतिनिधी नातीबाबु धितालले कार्यपत्र प्रस्तुत गरेका थिए । सो उपर महिला आत्मनिर्भरता केन्द्रका कृष्ण गुरुङले टिप्पणी गरेका थिए । त्यस्तै महिला हिंसा र कानुनी व्यवस्थाका बारेमा नेपाल बार जिल्ला इकाइका सचिब सुनिता तामाङले कार्यपत्र प्रस्तुत गरेकी थिईन । सो उपर सुआहारा कार्यक्रमका मनोज मिश्रले टिप्पणी राखेका थिए । कोभिड –१९ ले किशोर किशोरीमा परेका असरका बारेमा मानव अधिकार एलायन्सका अध्यक्ष सीता थापाले कार्यपत्र प्रस्तु गरेकी थिईन भने सो उपर जिल्ला बाल संगठनका सभापति सोम सापकोटाले टिप्पणी गरेका थिए । त्यसैगरी कोभिड १९ र शिक्षाको अवस्थाका बारेमा जिल्ला संयोजक हर्क तामाङले कार्यपत्र प्रस्तुत गरेका थिए भने यस उपर सामुदायिक विकास तथा वातावरण संरक्षण मन्चका कार्यक्रम संयोजक हरिप्रसाद तिमल्सिनाले टिप्पणी राखेका थिए । कार्यपत्र प्रस्तुती र टिप्पणी पश्चात खुला छलफलको सत्रमा सहभागिहरुले महिला हिँसा, मानवअधिकार तथा शिक्षाको बर्तमान अवस्थाबारे चर्चा परिचर्चा गर्दै एकापसमा सल्लाह सुझाव र अनुभव आदन प्रदान गरे । लामो समयदेखी भौतिक उपस्थितीमा कार्यक्रम हुन नसकेकोमा यो कार्यक्रममा उपस्थित सहभागिहरुले एकापसमा हौसला र शुभेच्छा समेत प्रकट गरे ।

कोििभड १९ का कारण लामो समय देखी बिद्यालय शिक्षा अस्तव्यस्त भईरहँदा यस बर्षको शैक्षिक सत्रको गुणस्तर, बैधानिकता र व्याहारिक पक्ष के हुने भन्ने विषयमा गम्भिर छलफल भएको थियो । अनलाइन शिक्षा तथा दुरशिक्षाको नाममा पठन पाठन भएको भनिरहँदा यसले २८% बालबालिका मात्रै समेट्न सकेको प्रतिवेदन प्रस्तुत हुँदा यसले बालबालिकाको शिक्षा पाउने अधिकार र अवसरमा सुविधा सम्पन्न र गरिव परिवारबारका बालबालिका विचको विभेदको खाडल झनै गहिरो र फराकिलो भएको निश्कर्ष निकाले । आपतकालमा सिकाई सहजीकरणको लागि शिक्षकको क्षमता विकासमा सम्बन्धित निकायले यथोचित ध्यान दिन नसक्दा पुर्व तयारी विना अन्यौलताको बिचबाट घरदैलो र टोलशिक्षा कार्यक्रम संचालन गरिएता पनि स्थानीय सरकार र प्रशासन विच समन्वय नहुँदा यसले निरन्तरता पाउन नसकेको र सिकाई उपलब्धीको गुणस्तरमा समेत असर पुगेको निश्कर्ष सहभागिहरुले निकाले । शैक्षिक सत्रको अवधि करीव ४ महिना मात्रै बाँकी रहँदा बिद्यार्थीको सिकाई मुल्याँकन पद्धति र परीक्षाका बारेमा अधिकाँश स्थानीय तहको स्पष्ट कार्यनीति र कार्ययोजना नहुँदा समग्रमा जिल्लाको शैक्षिक अवस्थाको मापन कसरी गर्ने र यसको जिम्मेवार निकाय को हुने भन्ने बिषयमा पनि प्रस्तोताले प्रश्न उठाएका थिए ।

आपतकालमा सिकाई सहजीकरणका लागि बिद्यालय, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारका बिच पर्याप्त सहकार्य हुन नसकेका कारण वालबालिकाको शिक्षामा झनै असर पुगेको र यसको परिपुर्ति कसरी गर्ने बिषयमा शैक्षिक सत्रको बाँकी ४ महिनाको लागि ठोस कार्ययोजना आबश्यक पर्ने कुरा सहभागिले औलाए । कार्यपत्र अनुसार कोभिड १९ को अवधिमा बिद्यालय र स्थानीय सरकार विच को समन्वय ५३% मात्रै भएको अभिभावकको भुमिका ४७.५% र अभिभावक शिक्षामा ६% मात्रै योगदान रहेको तथ्याँक प्रस्तुत गरेका थिए । बैकल्पिक सिकाई सहजीकरणको लागी पुर्वतयारी गर्ने शिक्षकहरु २६.२% र बिद्यार्थीहरु ६२% मात्रै भएको तथ्याँक प्रस्तुत भएका थिए । विद्यार्थीको पहँुचलाई बिश्लेषण गर्दा एफएम रेडियोमा १५.१% टिभी १३.१% कम्प्युटर भएको तर इन्टरनेट नभएको ०.३% कम्प्युटर इन्टरनेट सहित भएको २.९% मोबाइल फोन भएका १३.४% मात्र देखियो भने कुनैपनि पहुँच नहुने बिद्यार्थीको संख्या ६६.३% देखिएको तथ्याँक कार्यपत्रमा उल्लेख भएको थियो । तोकिएको गृहकार्य गर्ने बिद्यार्थीहरु आंशिक वा पुर्ण रुपमा गरी ९९% देखिए भने समुहमा गरिने सिकाई प्रभावकारी हुने भन्ने बिद्यार्थी हरु ८०% रहेको औल्याए ।
कार्यपत्र अनुसार बालबालिकाको सिकाईका कठिनाई तत्वहरु मध्ये ३०% बालबालिकाले पर्याप्त खानाको अभाव, ४९% ले बस्ने र पढ्ने स्थानको अभाव, ५९.७% ले रेडियो टिभी इन्टरनेटको पहुँच नहुनु, ६१.८% ले रोजगार र आम्दानीको अभाव र २४.२% ले स्वास्थ्य समस्या भएको देखिए भने सिकाई सहजीकरणको लागि सरकारको भुमिका तथा लगानी तर्फ शैक्षिक सामाग्री उपलब्धतामा ३३% शिक्षक तालिममा १४.३% सिकाई केन्द्र व्यवस्थापनमा २२.२% बिद्यार्थीहरुको हौसला अभिबृद्धिमा ४४.४% मनोसामाजिक परामर्शमा २५.४% अभिभावक शिक्षामा १९% रहेको तथ्य प्रस्तुत भयो । कोभिड १९ को अवधिमा शिक्षा क्षेत्रको अवस्थाबारे बिभिन्न ७ जिल्लामा गरिएका नमुना अध्ययनको आधारमा तयार पारिएको तथ्याँकलाई आधार मानेर कार्यपत्र प्रस्तुती गरिएको र सिन्धुपाल्चोकको अवस्थालाइ विवेचना गरी कार्यपत्र तयारी गरेको कुरा जिल्ला संयोजक हर्क तामाङले बताए ।
अन्तरक्रियाको अन्त्यमा सबै सहभागिहरुले महिला हिँसा विरुद्ध ऐक्यबद्धता स्वरुप हस्ताक्षर सहित प्रतिबद्धता पत्र समेत जारी गरे ।
गैसस महासंघ जिल्ला शाखाका अध्यक्ष गोविन्द सापकोटाको संचालनमा भएको यो कार्यक्रम जिल्ला समन्वय समितिका उपप्रमूख बालकुमारी सापकोटाको अध्यक्षता, जिल्ला न्यायधिस महेन्द्रबहादुर कार्की, प्रमूख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी प्रमूख राजन अधिकारी, चौतारा नगरपालिकाका उपमेयर जानुका पराजुली बाह्रविसे नगरपालिकाका उपमेयर शुसिला पाख्रीन, भोटेकोशी गाउपालिकाका उपाध्यक्ष दाबुटी शेर्पा लगाएतका स्थानीय सरकारका प्रतिनिधीहरु विषयगत शाखाका कर्मचारी, सञ्चारकर्मी र जिल्लामा मानवअधिकारको क्षेत्रमा कार्यरत सरकारी तथा संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितीमा सम्पन्न भएको हो ।