सर्बाधिक धनराशीको व्याडमिन्टन प्रतियोगिता चौतारामा सुरु

मंसिर २१, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकमा सर्बाधिक धनराशी पुरस्कार भएको व्याडमिन्टन प्रतियोगिता आजबाट सुरुवात भएको छ ।
तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ व्याडमिन्टन प्रतियोगिताको शुभराम्भ बागमति प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले गरेका हुन् । राष्ट्रिय स्तरीय व्याडमिन्टन प्रतियोगितामा प्रथमलाई एकलाख देखि जिल्ला स्तरीय प्रतियोगितामा ३० हजार सम्म पुरस्कार राखिएको उक्त धनराशी नेपालमा अहिले सम्मकै सर्बाधिक रहेको आयोजकले जनाएको छ ।

व्याडमिन्टन खेलको उद्घाटन पछि आफ्नो मन्तव्य राख्दै सामाजिक विकास मन्त्री दुलालले मुलुकभर कोभिड–१९ को प्रभाव हुँदाहुँदै तोप २१ ले ठूलो धन राशिको पुरस्कार सहित राष्ट्रिय र जिल्ला स्तरको खुल्ला गरी दुईवटा तहमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्नु उपलब्धीमुलक रहेको बताए । तोप २१ ले आफ्नो विगतको एउटा परम्परलाई चौतारामा खेलकुद कार्यक्रम आयोजना गरेर खेल संस्कृतिको विकास र खेलकुद क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्य राखेको भन्दै उनले प्रशंसा समेत गरे । ‘तोप २१ ले सुरुवात गरेको कार्यलाई निरन्तरता दिंदै राष्ट्रिय स्तरको प्रतियोगिता जुन आयोजनाको सुरुवात गरेको छ यो निकै सह्रानिय छ’, मन्त्री दुलालले भने, ‘खेल क्षेत्रको विकासको लागि यो साँच्चै सिर्जनात्मक पहल कदमी भएको छ ।’ सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा खेलकुद क्षेत्रको चौतर्फी विकास गर्न चुनौति भईरहेको बेलामा तोप २१ ले पहलकदमी लिएको भन्दै उनले धन्यवाद समेत दिए । व्याडमिन्टन प्रतियोगिताले सिङ्गो देशको ध्यानकृष्ट भएको प्रति संकेत गर्दै मन्त्री दुलालले भने, ‘जुन मिहिनेत र लगानी युवा साथीहरुको भईरहेको छ ,तोप २१ लाई मात्र चिनाएको छैन् । यसले सिन्धुपाल्चोकको सदरमुकाम र राष्ट्रिय स्तरमा चिनाउनको लागि पनि एउटा योगदान दिएको छ ।’ चौतारालाई खेल नगरीको रुरपमा विकास गर्नको लागि रंगशाला निर्माणको कार्य थालेको बताउँदै मन्त्री दुलालले प्रदेशले जिल्ला जिल्लामा खेलकुद क्षेत्रलाई कति प्राथमिकता राखेको छ भन्ने कुरा प्रष्टिएको बताए । मुलुकभर ७ सय ५३ वटा तहहरुले खेलकुद प्रतियोगिताहरु आयोजना गरेको बताउदै मन्त्री दुलालले भने‘, खेलकुदको हिसाबले नेपाल नयाँ युगमा प्रवेश गरेको छ । हामी यसलाई स्वर्णिम युग पनि भन्न सक्छौं ।’ तोप २१ ले सिर्जनात्मक र रचनात्मक क्रियाकलाप गरेर युवापंक्तिलाई समेट्दै एउटा सन्देश दिन सकोस भन्दै मन्त्री दुलालले पार्टीको तर्फबाट र सरकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्वता जनाए ।

त्यसैगरी नेकपाका केन्द्रीय सदस्य माधव सापकाेटा ‘सुवोध’ ले तोप २१ ले आफुलाई सिर्जना गरेदेखि कुनै न कनै रचनात्मक र सिर्जनात्मक कामका माध्यमबाट युवाहरुलाई जनसमुदायहरुलाई आकार्षित गर्ने गरेको बताए । युवाहरुलाई भावानात्मक एकतालाई सुदृढि गरेर राष्ट्रको ध्यान एकपटक चौतारामा केन्द्रीत भएको उनले बताए । प्रतिकुल परिस्थितिमा पनि उपायहरुको खोजी गरेर बन्द कोठा भित्रै भएपनि आफ्नो लक्ष्यलाई राष्ट्रिय र जिल्ला स्तरको प्रतियोगिताको तोप २१ ले आयोजना गरेकोमा पार्टीको तर्फबाट धन्यवाद दिए । त्यस्तै कार्यक्रममा पूर्व सांसद सुभाष कर्मचार्य, नेपाली कांग्रेसका जिल्ला सचिव बिलबहादुर तामाङ लगाएतले समेत शुभकामना दिएका थिए । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ लगाएतका जनप्रतिनिधिहरु समेत सहभागी थिए ।

खेलको पहिलो दिन ११ वटा खेल प्रतियोगिता भएको व्याडमेन्टिन खेल प्रतियोगिताको आयोजक रहेको तोप २१ का अध्यक्ष अशोक कार्कीले सिन्धुज्वालालाई बताए । उनका अनुसार भोली र पर्सि जिल्ला स्तरीय प्रतियोगिता सकिने छ । २४ गते पछाडी राष्ट्रिय प्रतियोगिता सुरु हुने उनले बताए । अध्यक्ष कार्कीका अनुसार तोप २१ ले आयोजना गरेको उक्त प्रतियोगितामा जिल्ला स्तरीय मेन्स डबल विजेतालाई नगद पुरस्कार ४० हजार र उपविजेतालाई ३० हजार रहेको छ । त्यस्तै जिल्ला स्तरीय मेन्स सिङ्गल विजेता नगद पुरस्कार ३० हजार रहेको छ भने उपविजेतालाई २० हजार रहेको छ । यसैगरी राष्ट्रिय स्तरीय मेन्स सिङगल विजेता नगद पुरस्कार एकलाख ११ हजार १ सय ११ रहेको छ भने उपविजेताको लागि ५५ हजार ५ सय ५५ रहेको छ । आयोजकका अनुसार व्याडमिन्टन खेलको समापन भने पूर्व कानुनमन्त्री तथा २ नम्बर क्षेत्रका सांसद शेरबहादुर तामाङले गर्नेछन् ।