दुई करोड काण्डमा मुछिएका काफ्ले पदमुक्त, घटनाबारे भने सबै चुपचाप

दिनेश दुलाल
मंसिर २२, चौतारा (सिन्धुपाल्चोक) । दुई करोड अनियमिता गरेको टेप प्रकरण सार्वजनिक पछि मध्य भोटेकोशी जलविद्युत् (१०२) कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मणिकुमार काफ्ले पदमुक्त भएका छन् ।
चिनियाँ ठेकेदार कम्पनी ग्वान्सिङ हाइड्रोइलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोका एक नेपाली प्रतिनिधिले संरचनाको गुणस्तर घटाएबापत आयोजनाका अधिकारी र परामर्शदातालाई घूस प्रस्ताव गरेको अडियो टेप सार्वजनिक भएपछि उनलाई पदमुक्त गरिएको छ । उनको स्थानमा आइतबार चिलिमे जलविद्युत् कम्पनीका प्रमुख सुभाष मिश्रलाई मध्य भोटेकोशीको सीईओ नियुक्त गरिएको मध्य भोटेकोशी सञ्चालक समितिका अध्यक्ष तथा प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले सिन्धुज्वालालाई जानकारी दिए । दुईकरोड अनियमिताको टेप प्रकरणमा मुछिएका काफ्लेलाई भने कुनै छानविन नगरी करार अवधि अन्त्य भएको पत्र पठाइएको छ । बोर्डले घटनाको छानविनै नगरी गुपचुप आयोजनाका सिईओ काफ्लेलाई मात्र पदमुक्त गर्नुलाई प्रभावित स्थानीयले भने आक्रोस पोखेका छन् । ‘यति ठूलो काण्ड हुँदा पनि छानबिन नभई काफ्लेलाई मात्र सुटुक्क पदमुक्त गर्नु रहस्यमय छ’, स्थानीय प्रभावित विक्रम श्रेष्ठले भने । आयोजनामा जनताको करोडौं लगानी डुबाउने गरी भएको अनियमताको छानविन गरी दोषीलाई कारबाही गर्नु पर्ने आयोजना प्रभावित श्रेष्ठको माग छ । आयोजनाको अनियमितामा सञ्चालक समिति बोर्डको समेत संलग्नता रहेको हुनसक्ने उनले दावी गरे । सार्वजनिक रुपमा यति ठूलो आर्थिक लेनदेनको टेप सार्वजनिक हुँदा समेत छानविन नगर्नुलाई राष्ट्रको बेईज्जत भएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शर्पाको भनाई छ । ‘टेप प्रक्ररण पछि सिईओलाई पदमुक्त गर्ने तर छानविन चाँही नगर्ने कुनै तरिका हुन्छ ?’, मेयर शेर्पाले भने । आयोजनाको सिईओ फेरेर मात्र नभई घटनाको तुरुन्त छानविन समेत हुनुपर्ने मध्यभोटेकोशी आयोजना सरोकार समितिका संयोजक समेत रहेका मेयर शेर्पाले माग राखे । जनताको लगानी नै डुब्ने अवस्थामा पुगेको मध्यभोटेकोशीको समस्याका बारेमा सञ्चालक समिति मुकदर्शक भएको प्रति उनले आक्रोस पोखे ।

उक्त घटनाको सन्दर्भमा बोर्डका अध्यक्ष हरराज न्यौपानेसंग बुझ्दा उनले काफ्लेलाई कारवाहीको आधारमा नभई उनकै मागको आधारमा पदमुक्त गरिएको जानकारी दिए । के आधारले पदमुक्त गर्नुभयो ? भन्ने जिज्ञासामा न्यौपानेले भने, ‘उहाँले एकवर्ष अघिदेखिनै स्वास्थ्य कारणले म सक्दिन भनिराख्नु भएको थियो, पछिल्लो समय मलाई गाह्रो भयो भनेपछि उहाँको ईच्छा अनुसार हटाईएको हो ।’ दुई करोडको टेप प्रकरण भएको सन्दर्भ कोट्याउँदा उनले अस्विकार गर्दै भने, ‘आजकालको टेपको बारेमा मैले केही कमेन्ट गर्नै पर्दैन, तपाई पत्रकारहरुलाई राम्ररी थाहा छ ।’ ‘त्यसको पछि लाग्यो भने त गाह्रो हुन्छ’, उनले थपे । छानबिन गर्नुपर्ने आवश्यकता देखियो भने मात्र प्रक्रिया अगाडि बढाईने अध्यक्ष न्यौपानेले स्पष्ट पारे । ‘घटनाको सन्दर्भमा कुनै छलपल गरेका छैनौं छानबिनै गर्नुपर्ने विषय होकी होईन छलफल गर्छौ अनी प्रक्रिया अगाडि बढ्छ,’ न्यौपानेले भने ।
चिलिमे मुख्य प्रवर्द्धक रहेको मध्य भोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत, निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका इन्जिनियरले गरेको आर्थिक लेनदेनको अडियो रेकर्ड स्थानीयले गत साता सार्वजनिक गरेका थिए । उक्त अडियो ठेकेदार कम्पनीका (प्रतिनिधि) दोभाषे गोविन्द पौडेलको मोबाइलको रेकर्डबाट प्राप्त भएको हो ।
टेप प्रकरणमा ठेकेदार कम्पनी ग्वान्सिङ कन्स्ट्रक्सन ब्युरोका दोभाषे पौडेल, सीईओ काफ्ले र परामर्शदाताका इन्जिनियर दिनेश भण्डारीबीच आर्थिक लेनदेनका विषयमा कुरा भएको अडियो स्थानीय सरोकार समितिले आयोजनामा मंसिर ९ गते सार्वजनिक भएको थियो ।
उक्त अडियोमा ठेकेदार कम्पनीका तर्फबाट दोभाषे पौडेलले आयोजनाका संरचनाको गुणस्तर कमजोर बनाएबापत सीईओ काफ्लेलाई दुई करोडसम्म दिन सक्ने प्रस्ताव राखेका छन् ।
यसैबीच सञ्चालक समितिले आयोजना प्रमुख सुनील कुमार लामालाई निर्माणस्थलबाट काठमाडौंको मुख्य कार्यालय रहने गरी पत्र पठाएको छ ।
आफुलाई मुख्य कार्यालयमा बोलाईएको आयोजना प्रमुख सुनिल कुमार लामाले बताए । ‘आयोजना निर्माण गर्न मेरो कति योगदान छ त्यसको जनताले पक्कै मूल्याङ्कन गरेका छन्’, आयोजना प्रमुख लामाले भने । कामको मूल्याङ्कनको आधारमा पुरस्कृत र दण्डित हुने परिपाटीको थालनी हुन नसकेको प्रति भने उनले दुःखेसो पोखे ।