पाँचपोखरी थाङपाल गाउँपालिका र गैरसरकारी संस्थाबीच सम्झौता

मंसिर १७, थाङपाल (सिन्धुपाल्चोक) । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका र दुई गैर सरकारी संस्थाबीच कार्यान्वयन सम्वन्धमा सम्झौता भएको छ ।
गाउँपालिकाले जिल्लाको सिएसआरसी र केयर नेपालबीच जोखिम संवेदनशिल भू–उपयोग तथा विपद व्यवस्थापन योजना निर्माण र कार्यान्वयन सम्बन्धमा सम्झौता सम्पन्न भएको गाउँपालिकाका सल्लाकार विजय पौडेलले जानकारी दिए ।
उनका अनुसार २०७२ को बिनासकारी भुकम्प र गत बर्षातको कारण भएका भौतिक संरचना निर्माण र भावी दिनहरुमा हुन सक्ने संभावित क्षति न्यूनीकरण सम्बन्धि अध्ययन गर्नका लागि मंगलबार पाँचपोखरी थाङ्पाल गाउँपालिकाले उक्त संस्थाहरुमा सम्झौता गरेको हो ।
उक्त कार्यक्रममा २ नम्बर क्षेत्रका सांसद शेरबहादुर तामाङको प्रमुख आतिथ्यमा भएको थियो । पूर्व मन्त्री एवम संघीय सांसद तामाङले पाँचपोखरी गाउँपालिका उच्च जोखिममा रहेको हुनाले पालिकासंग दुई संस्थाले सहकार्य गर्नु उपलब्धीमुल हुने धारणा राखे । ति संस्थाहरुलाई उनले धन्यवाद समेत दिए ।

पाँचपोखरी थाङपाल गाउँपालिका पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण रहेकोले सडक लगायतका पूर्र्वाधारको स्तर उन्नती आवश्यकता रहेको उनले औल्याए । गाउँपालिका अध्यक्ष टासी लामाको अध्यक्षतामा बसेको वैठकमा नेकपा नेता एबम मेलम्ची खानेपानी विकास समितिका वोर्ड सदस्य चन्द्र बहादुर थापा, गाउँपालिका सल्लाहकार माधवप्रसाद पाण्डे, उपाध्यक्ष सुनिता अधिकारी, नेकपा जिल्ला कमिटि सदस्यद्वय फुर्पा स्याङ्बो र निर्मल बन्जारा तथा वडा अध्यक्षहरु लगायतको उपस्थिति भएको हो । उक्त सम्झौतामा पालिकाको तर्फबाट टासी लामा र सिएसआरसीका कार्यक्रम निर्देशक जगत देउजा तथा कियर नेपालकी सहायक राष्ट्रिय निर्देशक मोना शेर्पाले हस्ताक्षर गरेको गाउँपालिकाले जनाएको छ ।