
तिलमानपास अध्यायनको लागि मंगलबारबाट प्रारम्भ

मंसिर १७, थाङपाल (सिन्धुपाल्चोक) । पाँचपोखरी थाङ्गपाल गाउँपालिका भित्र रहेको तिलमान पास (भन्ज्याङ ) पर्यटन मार्ग , पाँचपोखरी हिमाल र युवा हिमालको प्रारम्भिक अध्ययन गर्न जाने टोलीको पदयात्रा हिजोबाट प्रारम्भ भएको छ । पदयात्राको प्रारम्भ बागमती प्रदेशका वन वातावरण उद्योग तथा पर्यटन मन्त्री अरूण नेपालद्वारा बिदाइ गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
पाँचपोखरी गाउँपालिकाको आयोजनामा युवा पिकको आरोहण तथा तिलमानपास अध्ययनको लागि सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा सगरमाथा आरोहीहरु कान्छीमाया तामाङ र दावा शेर्पा, नेकपा प्रदेश क्षेत्रिय कमिटी सचिव सोमार बम्जन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष निमा छिरिङ तामाङ सहित ९ सदस्य टोलीले मंसिर १६ गतेबाट यात्रा प्रारम्भ गरेको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले सिन्धुज्वालाई जानकारी दिए । उनका अनुसार टोलीले पाँचपोखरी थाङपाल गाँउपालिकामा रहेको पाँचपोखरी पिक , युवा पिकको आरोहण तथा तिलमानपास अध्ययन गर्नेछ । त्यस्तै मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म पर्वतारोहि माया गुरुङको संयोजनमा रुट अध्ययन सहिताको दोर्जे ल्हाक्पा हिमालसँग नजिकै रहेको पाँचपोखरी पिक र युवा पिकको पहिलो आरोहण हुनेछ ।
समुहमा सिन्धु पर्यटन परिषद्का मिलन तामाङ तथा क्लाइम्बिङ लिडर तुलसिंग गुरुङ समेत रहनेछन् । प्रारम्भीक अध्ययन र उद्देश्यबारे जानकारी गराउन राजधानिमा पत्रकार भेटघाट कार्यक्रम समेत गरीसकिएको छ । विदाई कार्यक्रममा बाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले अध्ययन र आरोहणले रसुवाको गोसाइँकुण्ड गाउँपालिकासंग जोडिएको तिलमानपास नाका खुलाई थप पर्यटक भित्रिने र पर्यटनको माध्यमबाट स्थानियको आर्थिक, सामाजिक, विकासमा टेवा पुग्ने बताए ।
पाँचपोखरीलाई धार्मिक तथा तथा सांस्कृतिक रुपमा चिनाउने र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तब्यको रुपमा अगाडि वढ्ने गाँउपालिका अध्यक्ष टासि लामाको भनाई छ । काठमाडौबाट सबैभन्दा नजिकको गन्तब्य रहेको र रसुवाको गोसाइँकुण्ड गाउँपालिकासंग जोडिएको तिलमानपास पाँचपोखरी थाङपाल गाउपालिकासंग जोडिएको छ । ट्रेकिङ रुट खुलाउन थालिएको अध्ययनले नयाँ हिमालको नामाकरण सहित आरोहण हुनलागेको गाउँपालिकाको पर्यटन प्रबद्र्धन समिति अध्यक्ष सुवास तामाङले बताए ।
सन १९४९ मा विदेशी नागरीक बिल तिलम्यानले समुन्द्र सतहबाट ५३२० मिटरको उचाईमा तिलमानपास रहेको पत्ता लगाएका थिए । तिलमन पासलाई साहसिक पदमार्गको लागि नेपालका विभिन्न पासहरुमध्य प्राविधिक कठिनाई भएको पास मान्ने गरीएको छ ।