विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोकमा भौगर्भिक अध्ययन सुरुवात

मंसिर १२, सिन्धुपाल्चोक । सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लाका जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन सुरु भएको छ । आज शुक्रबारबाट जुगल गाउँपलिकाको लिदि, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन भएको जिल्ला आयोजना कार्यन्वयन इकाइ (भवन) सिन्धुपाल्चोकका प्रमुख इन्जिनियर सन्तोष निरौलाले जानकारी दिए ।
गत साउन ३० गते ३९ जनाको ज्यान जानेगरी पहिरो गएको जुगल गाउँपालिकाको लिदी, सो स्थानबाट अस्थायी स्थानान्तरण गरिएको जुगल गाउँपालिकाकै बाँसखर्क लगायतका स्थानहरुको पहिलो चरणमा विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञ सहितको टोलीले आजबाट काम सुरु गर्न थालेको उनले बताए । उनका अनुसार शुक्रबार विहानै काठमाण्डौबाट विशेषज्ञ सहितको टोलि सिन्धुपाल्चोक आइपुगेको थियो । सिन्धुपाल्चोकमा यसबर्ष लगातारको विपत्ति पछि सभामुख अग्निप्रसाद सापकोटाले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरि आवश्यक पहल लिने विषयमा समन्वय गरेका थिए । जिल्लाको बाढीपहिरोग्रस्त क्षेत्र बाह्रविसेको खागदल, जम्बु र नागपुजे, भोटेकोशी र मेलम्ची क्षेत्रको समेत क्रमशः अध्ययन हुने प्रमुख ईन्जिनिएर निरौलाले जानकारी दिए ।