भिमटारका मजदुरहरु पुनःआन्दोलित

मङ्सिर १२, भिमटार (सिन्धुपाल्चोक ) । जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ११ र १२ का मजदुरहरु आन्दोलनमा उत्रिएका छन् ।
गृहमन्त्रालयले नदिजन्य सामग्री उत्खनन रोक लगाउने सुचना जारी गरे लगत्तै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।
क्रसर उद्योगहरुले दैनिक नदिजन्य सामग्री बेचविखन गर्न पाउने तर मजदुरहरुले एक छाक टार्नकालागी बालुवा बेच्न नपाउने भएको भन्दै स्थानीय माझी, दनुवार समुदायहरु आन्दोलनमा उत्रिएका हुन् ।
विगत देखिनै साबेल चलाएर बालुवा बेचबिखन गरी जीविकोपार्जन गर्दै आएकोमा एक्कासि रोक लगाउदा दैनिक जीवन चल्न कठिनाइ भएको स्थानीय सुर्य बहादुर माझीले बताए ।
दैनिक बालुवा बेचेर जीवन चलाईरहेको बेला एक्कासि खोला बन्द गर्दा आम्दानी शुन्य हुने हुँदा भोकभोकै बस्न पर्ने स्थिति समेत आएको उनले दुःखेसो पोखे ।
‘स्थानीय माझी, दनुवार समुदायका नागरिकहरुको आम्दानीको श्रोत नै साबेल चलाएर नदिजन्य सामग्री बेचविखन गर्ने हो,’ माझीले भने । नदि जन्य पदार्थ बेचविखनमा सम्बन्धित निकायले सहज गराउन पर्ने इन्द्रावती गाउँकार्यपालिका सदस्य सुरेन्द्र बहादुर दनुवारले सिन्धुज्वालालाई बताए ।
उनका अनुसार दैनिक साबेल चलाएर यहाँका मजदुरहरु बालुवा बेच्ने गर्छन् र त्यहीँ बालुवा बेचेको पैसाले दैनिकी चलाउछन् । एक दिन मात्र काम भएन भने दैनिकी चलाउन माझी, दनुवार समुदायलाई कठिनाइ हुने उनको भनाई छ । खोला बन्द गर्दा सर्वप्रथम गरीब जनताहरुलाई प्रभाव भएकोले आम्दानीको श्रोतको रुपमा रहेको बालुवा झिक्न नपाउनु अन्याय भएको कार्यपालिका सदस्य दनुवारले भने । गृहमन्त्रालयले गरिब मजदुरहरुलाई ध्यानाकर्षण गर्न पर्ने मुख्य बिषय रहेको उनको तर्क छ ।
नदि जन्य सामग्री रोक लगाउने र क्रसर उद्योग ब्यवसाय बन्द गराउने सम्बन्धमा गृहमन्त्रालयले जारि गरेको सुचना आधिकारिक रुपमा आफुलाई जानकारी नभए वडा नम्बर ११ का अध्यक्ष मने माझीले बताए ।
मजदुरहरु आन्दोलनमा आउन बाध्य भएको मुख्य कारण उनीहरुको गरिबी र दैनिकी दिनचर्या नै बालुवा बेचविखन रहेको उनले बताए ।
स्थानीय मजदुरहरुले उठान गरेको विषय जायज रहेको र आफुले पनि समर्थन गर्ने वडा नम्बर १२ का अध्यक्ष कमल रत्न दनुवारले बताए ।
माझी , दनुवार समुदायको मुख्य जीविकोपार्जनको श्रोतनै साबेल चलाएर बालुवा बेच्ने र दैनिकी चलाउने भएकोले सम्बन्धित निकायले यसलाई चाहि सहज गराउन पर्ने अध्यक्ष दनुवारको भनाई छ ।