कोभिड–१९ माहामारीलाई सामान्य रुघाखोकि जस्तो मात्र हो भन्नु गलत हो
यतिबेला मुलुकमा कोभिड–१९ को महामारी रोक्न सरकारले गत चैत्र देखि बन्दाबन्दी गरेपनि पछिल्लोपटक खुला गरेको छ । तर बन्दाबन्दी खुला भएसंगै कोरोना संक्रमण ज्यादै बढ्न थालेको छ । यसको प्रभाव अन्य जिल्लामा परेजस्तै सिन्धुपाल्चोक जिल्लामा समेत ज्यादै देखिन थालेको छ । खासगरी काठमाडौं उपत्यका कोरोना संक्रमको उच्च जोखिममा रहेको छ । सिन्धुपाल्चोक राजधानी संग जोडिएको जिल्ला भएको हुनाले यो जिल्ला पनि उच्च जोखिमै रहेको छ । कोरोना संक्रमण दिनानुदिन बढ्दै जानु र समुदाय स्तरमै फैलिन थालेको यो अवस्थामा सिन्धुपाल्चोक जिल्लाले रोकथाम र नियन्त्रणको लागि के कस्तो प्रयास थालेको छ भन्ने सन्दर्भमा स्वास्थ्य कार्यालयका वरिष्ट जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईसंग सिन्धुज्वालाले लिएको छोटो कुराकानीको सम्पादित अशं–सम्पादक
१) कोरोना महामारीको पछिल्लो सिन्धुपाल्चोकको अवस्थाको बारेमा संक्षिप्त बताईदिनुहोस न ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड(१९ को संक्रमण हाल नेपालमा पनि व्यापक रुपमा बृध्दि भइरहेको छ । पछिल्लो समयमा बिशेष गरी राजधानी लगायतका सिन्धुपालचोकका छिमेकी जिल्लाहरुमा समुदाय स्तरसम्म धेरै मात्रामा संक्रमितहरु देखिएको अवस्थामा लकडाउन र सार्बजनिक यातायात खुलेपछि र ठुला चाडपर्वहरु पछि पनि सिन्धुपाल्चोक जिल्लामा पनि राजधानी लगायतका बढि संक्रमण प्रभावित स्थानहरुबाट मानिसहरु आवतजावत बढेसँगै संक्रमण बढ्दै गइरहेको अवस्था छ । सिन्धुपाल्चोकका बासिन्दाहरुमा भएको परिक्षणमा २०७७ मंसिर ८ गते सम्ममा ७५४ जनामा संक्रमण पुष्टी भएको छ । पछिल्लो समयमा जिल्लाभित्र लकडाउन र सार्बजनिक यातायात खुलेपछि मानिसहरु सामान्य जनजिवनमा फर्कदै गरेको अवस्थामा कोभिड(१९ को रोकथामका लागि बनाइएका जनस्वास्थ्य मापदण्डहरुको पालना गर्नु अपरिहार्य छ । तर कतिपय मानिसहरुले सार्वजनिक सवारी साधन चढ्दा वा बजार वा सेवा केन्द्रहरु वा सार्वजनिक स्थलहरुमा जाँदा जनस्वास्थ्य मापदण्डको समेत वेवास्ता गरेको पाइन्छ । यसले गर्दा समुदाय स्तरमा कोभिड(१९ को संक्रमण अझै बृध्दि हुनसक्ने जोखिम रहेको अवस्था छ ।
२) कोरोनाको यो अवस्थालाई जिल्ला स्वास्थ्य कार्यालयले कस्तो मूल्याङकन् गरेको छ त ?
अहिलेसम्मको सिन्धुपाल्चोकको अवस्थाको मुल्याँकन गर्दा समुदाय स्तरमा फाट्टफुट्ट रुपमा (क्उयचबमष्अ) संक्रमण देखिन थालेको अवस्था हो । यो अवस्था भनेको सबै जना सचेत र सजग भइ जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आ(आफ्ना दैनिक क्रियाकलापहरुमा संलग्न भएमा यो संक्रमणको दर कम गर्दै लैजान सकिने अवस्था हो भने हाम्रो सानो लापरवाहि वा जनस्वास्थ्यका मापदण्डको वेवास्ता गरेमा समुदाय स्तरमा संक्रमण बढ्दै जाँदा जेष्ठ नागरिक, दिर्घरोगी, बानबालिका र कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिहरुमा जटिल अवस्था र मृत्यु दर बढ्न गई भयावह अवस्था समेत आउन सक्छ । कोभिड–१९ रोगको हालसम्म पनि खोप तथा रोग निको पार्ने औषधी उपलब्ध भइनसकेको कारण हाम्रो दैनिक बानी व्यवहारमा सुधार ल्याई यो रोगको रोकथाम गर्नुको विकल्प हामीसँग छैन ।
३) स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले रोकथाम र नियन्त्रणको लागि के कति प्रयास थालेको छ नी ?
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले कोभिड(१९ को संक्रमणको शुरुवात देखि नै यो रोगको रोकथाम, नियन्त्रण र विरामीको व्यवस्थापनको लागि यथासक्य प्रयास गर्दै आइरहेको छ । मित्रराष्ट्र चिनमा यो संक्रमण फैलन थालेपछि २०७६ माघ १४ गते देखि नै मित्रराष्ट्र चिनसँगको नाका तातोपानीमा स्थानीय तहसँगको सहकार्यमा हेल्थ डेस्क स्थापना गरी संचालनमा आएको छ । साथै नाकामा दुबै तर्फका समकक्षीहरु सँगको सिमा बैठकमा सिमा वारपार संक्रमण फैलन नदिन जनस्वास्थ्य मापदण्ड बनाइ कार्यान्वयनमा ल्याइएको छ । २०७६ चैत्र २ गते जिल्ला विपद व्यवस्थापन समितिको बैठक मार्फत जिल्लामा कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि बिभिन्न क्रियाकलाप तथा रणनितिहरु अनुमोदन गरी कार्यान्वयनमा ल्याइयो । प्रारम्भिक अवस्थामा जिल्लाको भौगोलिक अवस्था र पहुँचको आधारमा ३ स्थानमा क्षेत्रिय क्वारेन्टाइन कक्षहरु स्थापना, क्वारेन्टाइन कक्ष संचालन जिल्लास्तरीय मापदण्ड तयारी, नेपालमा भारत वा अन्य मुलुकहरुबाट आएका व्यक्तिहरु मार्फत संक्रमण देखा पर्न थालेको अवस्थामा भारत तथा अन्य संक्रमण प्रभावित देशबाट आएका व्यक्तिहरुको स्थानीय तहहरु मार्फत विवरण संकलन तथा म्भमष्अबतभम सवारी साधनको व्यवस्था गरी अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने र परिक्षण गर्ने व्यवस्था, चौतारा अस्पताल र जिल्ला भित्र रहेका प्राथमीक स्वास्थ्य केन्द्रहरुमा आइसोलेसन कक्ष संचालनको तयारी, स्वास्थ्यकर्मीहरुलाई स्वाब नमुना संकलन सम्बन्धि ओरियन्टेशन, बिभिन्न सरोकारवालाहरु, संचारमाध्यमहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, रेडक्रस, स्काउट लगायतका गै स स हरु, स्थानीय तहहरु आदि मार्फत सचेतना अभियान संचालन, सेवा प्रदायक संघसंस्था तथा कार्यालयहरुमा मापदण्ड बनाएर सो को पालना गरेर मात्र सेवा संचालन गर्ने व्यवस्था आदि गतिबिधिहरु संचालन गरिए । पछिल्लो समयमा अग्र पङ्तिमा खटिने र धेरै मानिसहरुको सम्पर्कमा आउने जोखिममा रहेका व्यक्तिहरु जस्तैः स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, जनप्रतिनिधि, सेवा प्रदायक कर्मचारीहरु, सैलुनकर्मी, बैंकका कर्मचारी, व्यापारी आदिमा नमुनाको रुपमा स्वाब संकलन गरी परिक्षणको लागि पठाउने कार्य गरियो । जिल्लामा संक्रमितहरु देखिन थालेपछि संक्रमितहरुलाई आइसोलेसनमा राखि उपचार व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ टोलि परिचालन गरि संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी, क्वारेन्टाइनमा राख्ने र परिक्षणको लागि स्वाबको नमुना संकलन गर्ने जस्ता कार्यहरु भइरहेको छ । यसका साथै पछिल्लो समय लकडाउन खुलेको, सार्बजनिक यातायात खुलेको र ठुला चाडपर्वहरु समेत आएको सन्दर्भमा आवश्यक मापदण्डहरु बनाई सोको पालनाको लागि सचेतनाका क्रियाकलापहरु संचालन भइहेका छन् ।
४)महामारी झन थपिदो छ तर सरकारले सर्वसाधारण जनताको निशुल्क उपचार नगर्ने हिजो मात्रै पूर्ववत निर्णयलाई सच्याएर उपचार गर्ने निर्णय गरेको छ यसको प्रभावकारीता जनताले कतिको आश गर्न सकिएला ?
संक्रमितहरुको संख्या तिब्र रुपमा बृध्दि हुदै गएको अवस्थामा नेपाल सरकारले केहि समय पहिले मापदण्ड बनाएर परिक्षण र उपचार खर्च तिर्न नसक्नेलाई मात्र सरकारले उपचार खर्च बेहोर्ने निति ल्याउदा केहि अन्यौलता हुन पुगेको थियो तर बागमती प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालयबाट पुरानै प्रक्रिया अनुसार यथावत गर्ने भन्ने निर्देशन प्राप्त भएपछि हाम्रो जिल्लामा उपचार र स्वाब नमुना संकलन कार्यमा समस्या परेको छैन । पछि संघिय सरकारले पनि पूर्ववत निर्णयलाई सच्याएको अवस्था छ ।
५) केही साता अघि बागमति प्रदेश सरकारले कोभिड–१९ सम्बन्धी सम्पूर्ण बिरामीहरुको निशुल्क उपचार गरिने घोषणा गरिसकेको थियो । सिन्धुपाल्चोक जिल्लालाई त्यसको जानकारी तथा परिपत्र आएको छ की छैन ?
बागमती प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालयबाट पुरानै प्रक्रिया अनुसार कोभिड(१९ का बिरामीहरुको निशुल्क उपचार गर्ने सम्बन्धि जानकारी हामिलाई प्राप्त भएको छ ।
६)बागमति प्रदेश सरकारले १० वटा जिल्लामा विशेष सुविधा सहितको आईसोलेसन वार्ड निर्माण तथा धुलिखेल, हेटौंडा लगाएत केही अस्पतालहरुमा पिसिआर परिक्षण केन्द्र स्थापना समेत गरिएको भन्ने सुनियो सिन्धुपाल्चोकमा यसको सुरुवात र प्रभावकारी कस्तो रहेको छ ?
सिन्धुपाल्चोक जिल्लामा बागमती प्रदेश सरकारको सहयोगमा चौतारा अस्पतालमा ५० बेड क्षमता सहित जिल्ला भरी कुल १३१ बेड क्षमताका आइसोलेसनहरु संचालनमा छन् । हाम्रो नजिकै धुलिखेलमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट हाम्रो जिल्लाका स्वाब नमुनाहरुको परिक्षण भइरहेकोले र स्वाब नमुना परिक्षणमा त्यति धेरै समस्या नरहेकोले हाललाई जिल्ला भित्र पिसिआर परिक्षण केन्द्र स्थापना गर्ने योजना रहेको छैन ।
७)लकडाउनको अन्त्य भएसंगै अब समुदायमै कोरोनाको संक्रमण ज्यादै फैलन सक्ने सम्भवना देखिन्छ । यो अवस्थालाई स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले कसरी हेरेको छ ?
लामो समयको लकडाउन पश्चात हाल देश भरी नै लकडाउनको अन्त्य भई मानिसहरु नियमित जिवनचर्यामा फर्कदै गरेको अवस्था छ । यसको मतलव संक्रमणको जोखिम घटेको होइन बरु झन झन बढ्दै गइरहेको अवस्था छ । लामो समयसम्म सबै नियमित आर्थिक क्रियाकलापहरु अवरुद्व गरिराख्न कठिनाई भएर मात्र लकडाउनको अन्त्य गरिएको हो भन्ने सबैले बुझ्नु आवश्यक छ । पछिल्लो समयमा जिल्लाभित्र लकडाउन र सार्बजनिक यातायात खुलेपछि मानिसहरु सामान्य जनजिवनमा फर्कदै गरेको अवस्थामा सार्वजनिक सवारी साधन चढ्दा वा बजार वा सेवा केन्द्रहरु वा सार्वजनिक स्थलहरुमा जाँदा जनस्वास्थ्य मापदण्डहरुको वेवास्ता गरेको समेत पाइएको छ । अहिलेको अवस्थामा कोभिड(१९ को रोकथामका लागि बनाइएका जनस्वास्थ्य मापदण्डहरुको पालना गर्नु अपरिहार्य छ । अन्यथा कोभिड–१९ समुदाय स्तरमा व्यापक रुपमा फैलन गई ठुलो क्षति बेहोर्नुपर्ने अवस्था आउन पनि सक्छ ।
८)पिसिआरको दायारा फराकिलो बढाउनु पर्ने माग आईरहँदा कन्ट्रयाक ट्रेसिङ बाहेक कुनै लक्षण नदेखिएका नेता, सरकारी उच्च पदस्थ व्यक्ति, कर्मचारी र पछिल्लोपटक पँहुच पुगेका सर्वसाधारण सम्म यो होडबाजी नै देखिन्छ । यो प्रचलन अनुत्पादक भएन र ?
संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा आएका र लक्षण देखिएका व्यक्तिहरुमा पिसिआर बिधिबाट स्वाबको नमुना परिक्षण गरि संक्रमित भएको पाइएमा छुट्टै आइसोलेसनमा राखेमा अरुमा यो रोग सर्नबाट बचाउन सकिन्छ । तर पिसिआर कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणको एक मात्र अचुक उपाय भने होइन । यो अत्यन्तै महंगो पनि छ । यसले रोग लाग्नबाट बचाउने पनि होइन र रोग लागेको मानिसलाई निको पार्ने पनि होईन । संक्रमित व्यक्ति अनिवार्य रुपमा आवश्यकतानुसार घरमा वा संस्थागत आइसोलेसनमा बस्ने, संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु घरमा वा संस्थागत क्वारेन्टाइनमा बस्ने तथा अन्य व्यक्तिहरुले विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले जारी गरेका मापदण्डहरुको पालना गर्नु नै यो रोग रोकथाम तथा नियन्त्रणको लागि बढि प्रभावकारी, सस्तो र सर्बसुलभ बिधि हो । त्यसैले सरकारले बनाएको मापदण्ड विपरित कुनै पनि व्यक्तिले पहुँच वा पदको शक्तिको आडमा अनावश्यक रुपमा पिसिआर परिक्षण गर्दा महामारीको अवस्थामा सिमित श्रोत साधनको दुरुपयोग हुन गइ अति आवश्यक परेका व्यक्तिहरुले नपाउने अवस्था पनि आउन सक्छ ।
९)सामाजिक दुरी लगाएत स्वास्थ्य मापदण्ड अपनाउन सरकारले अपिल जारी गरेपनि राजनैतिक दल देखि सर्वसाधारणले समेत यो पुरा गरिएको देखिएन । यो हुनुको खास समस्या यहाँले कसरी विश्लेषण गर्नुभएको छ ।
पछिल्लो समयमा लकडाउन खुलेपछि केहि मानिसहरुमा यो कोभिड–१९ रोग नियन्त्रणमा आइसक्यो कि भन्ने भ्रम परेको पाइन्छ भने केहि सामाजिक सन्जालहरुमा र बाहिर पनि यो कोभिड–१९ रोग केहि पनि होइन सामान्य रुघाखोकि जस्तो मात्र हो भन्ने हल्ला पनि चलेको पाइन्छ । जिल्लाका दुरदराजमा रहेका सबै मानिसहरुसम्म अझै पनि कोभिड–१९ सम्बन्धि सहि सूचना पुग्न सकेको छैन । जस्ले गर्दा कतिपय मानिसहरुले सामाजिक दुरी लगाएत स्वास्थ्य मापदण्ड अपनाउने कार्यमा वेवास्ता गरेको पाइएको छ । त्यसैले सरोकारवाला संघसंस्था, संचारमाध्यमहरु, जनप्रतिनिधिहरु, राजनैतिक दल आदि सबैले आ–आफ्नो ठाउँबाट सर्बसाधारण सबैमा कोभिड–१९ सम्बन्धि सहि सूचना पु¥याउँदै अभियानको रुपमा जनचेतना फैलाउन अति आवश्यक छ ।
१०)आगमी दिनमा स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको कोभिड–१९ नियन्त्रण र रोकथाम सम्बन्धी खास–खास योजनाहरु के कस्ता रहेका छन् ?
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले आगमी दिनमा डिसिसिएमसि लगायत सरोकारवाला निकाय, संघसंस्था, संचारमाध्यम र स्थानीय तहहरुसँग हातेमालो गर्दै सम्भावित व्यक्तिहरुको स्वाब परिक्षण, संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई घर वा संस्थागत आइसोलेसनमा उपचार, संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरुको खोजि गरी घर वा संस्थागत क्वारेन्टाइनमा राख्ने र आवश्यकतानुसार परिक्षणको व्यवस्था र आम सिन्धुबासी जनसमुदायमा जनस्वास्थ्य मापदण्ड पालना गर्नको लागि सचेतना अभियान संचालन गर्ने नै हाम्रा कोभिड–१९ नियन्त्रण र रोकथाम सम्बन्धी मुख्य मुख्य योजनाहरु हुन ।
११)अन्त्यमा यस मिडिया मार्फत यहाँको थप भनाई केही छ की ?
विश्वव्यापि महामारीको रुपमा फैलिरहेको, पछिल्लो समयमा नेपालमा र सिन्धुपाल्चोक जिल्लामा पनि बढ्दै गइहेको कोभिड–१९ रोग कुनै एक दुई वटा निकायले मात्र लागि परेर नियन्त्रण र रोकथाम गर्न सकिदैन । यसमा सबै भन्दा बढि भुमिका त आम जनसमुदायको हुन्छ । यो रोग बिरुद्दको खोप तथा औषधि तयार नभैसकेको बर्तमान अवस्थामा सबै मानिसहरुले विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले जारी गरेका सकेसम्म भिडभाडमा नजाने, कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्ने, मास्कको अनिवार्य र सहि प्रयोग गर्ने, बारम्बार साबुनपानीले वा गुणस्तरीय सेनिटाइजरले हात सफा गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डहरुको पुर्ण रुपमा पालना गरे मात्र यो रोग नियन्त्रण र रोकथाम गर्न सकिन्छ । हाल सम्म कोभिड–१९ नियन्त्रण र रोकथामको अभियानमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने म्ऋऋःऋ का पदाधिकारीज्यूहरु, अग्र पङ्तिमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरु, राजनैतिक दल तथा जनप्रतिनिधिहरु, संचारकर्मीहरु, स्थानीय तहहरु, रेडक्रस, स्काउट लगायतका गैससहरु तथा सरोकारवाला सम्पुर्णमा हार्दिक धन्यवाद दिदै सबै जनाले कोभिड–१९ नियन्त्रण र रोकथामको लागि आ–आफ्नो स्थानबाट सक्दो प्रयासका साथ महामारी पुर्ण रुपमा नियन्त्रण नहुँदा सम्म अझै प्रभावकारी रुपमा सहकार्य गरौं भन्ने अनुरोध गर्न चाहन्छु ।
कोभिड(१९ को महामारी बिरुद्द हामी सबै लडिरहेको बर्तमान अवस्थामा यसैसँग सम्बन्धित केहि कुराहरु अभिव्यक्त गर्ने अवसर प्रदान गर्नु भएकोमा यहाँ र यहाँको मेडिया सिन्धुज्वाला पत्रिका तथा अनलाईनलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।