
मन्त्री दुलालको अनुगमन पछि सुधारिदैं सडक

मंसिर १०, साँगाचोक (सिन्धुपाल्चोक) । बागमति प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले साँगाचोक डडुवा सडकको छड्के अनुगमन गरेपछि सडकको कामलाई सुधारिएको छ । मन्त्री दुलालद्वारा मंगलबार गरिएको अनुगमनका क्रममा सब–बेस माथि नै पिच गर्न लागिएको भेटिएको थियो । पिच गर्ने तयारीको लागि बेस भनेर विछ्याइएको गिटिमा अधिकांश ठूला साईजका नेचुरल गिटी भेटिएपछि मन्त्री दुलालले सो सडक हेर्ने ईन्जिनिएरलाई तुरुन्त सच्याउन निर्देशन दिएका थिए । चौतारा साँगाचोकगढी नगरपालिकाले समेत गल्ति सच्याउन निर्माण कम्पनी र ईन्जिनिएरलाई तागेता गरेसंगै सडकको कामलाई सच्याईएको हो ।
१४ नम्बर वडाको साँगाचोक–डडुवा मोटरबाटोको ३२५ मीटर लम्वाई रहेको कालोपत्रे गरिनु पूर्व पुनः बेस भत्काई प्राकृतिक गिट्टि छानेर नयाँ बेस राखी पिच गर्ने काम सुरु भएको वडा अध्यक्ष शेरबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त सडकको स्तरउन्नती गर्न शान्तीदेवी कन्ट्रक्सनले ठेक्का लगाएपनि कामको जिम्मा भने स्थानीय व्यवसायी उमेश श्रेष्ठले लिएका थिए । ‘सडक निर्माणको क्रममा देखिएको केही त्रुटीलाई सच्याएर कालोपत्रे गरेका छौ’, शान्तीदेवी कन्ट्रक्सनका प्रोपाईटर प्रभातमान श्रेष्ठले सिन्धुज्वालासंग भने । पूर्वाधार निर्मामणमा जिल्लामै लोकप्रियता पाएको शान्तीदेवी कन्ट्रक्सनको नाम जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्याम मार्फत नकरात्मक सन्देश गएको प्रति भने उनले दुःखेसो पोखे ।
सोही सडकको बाँकी ३२५ मिटर भने सेतीदेवी कन्ट्रक्सनले कालोपत्रे गर्ने जिम्मा लिएको छ । त्याँहा पनि त्रुटीलाई सच्याएर कालोपत्रे गर्ने काम थालिएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ । उनका अनुसार कालोपत्रे सडकले १४ नम्बर वडा कार्यालय सम्म जोडिन अझै २ किमी बाँकी छ ।
बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पूर्वाधार विकासकोषबाट ग्रामिण सडकको स्तरउन्नती गर्ने योजना अन्र्तगत सिन्धुपाल्चोकका स्थानीय तह सम्म कालोत्रे गर्ने काम सुरु भएको छ । सोही योजनाहरुको अनुगमन गर्न सामाजिक विकासमन्त्री दुलालले चौतारा साँगाचोकगढी नगरपालिकाका अन्र्तगतका वडा कार्यालय जोडिने सडकहरुको छड्के अनुगमन गरेका हुन् ।