सूचना लुकाउँदै सुनकोशी गाउँपालिका, भित्रभित्रै चारकरोडको साँठगाँठ

मंसिर ४ खाडीचौर (सिन्धुपाल्चोक) । जिल्लाको सुनकोशी गाउँपालिकाले प्रत्योक योजना र कामको बारेमा स्थानीय जनतालाई जानकारीनै नदिने गरिएको भेटिएको छ । विकास निर्माण र प्रत्येक योजनाका काममा सूचना नै लुकाएर जनताको सूचनाको हकमाथि प्रतिवन्ध लगाएको त्याहाँका स्थानीयले बताएका छन् । गाउँपालिकाले बुधबार स्थानीय निर्माण व्यवसायीहरुलाई समेत पत्तो नदिई चार करोडको ठेक्का लगाईएको सार्वजनिक गरेपछि यो तथ्य भेटिएको हो ।
चार करोडको ठेक्कापट्टा सेटिङमा पालिकाका जनप्रतिनिधि, कर्मचारी देखी चुल्ठेमुन्द््रे र पत्रकारको पनि संलग्नता छ, पाङग्रेटारका एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा सिन्धुज्वालासंग भने, । गाउँपालिकामा भएको अनियमितको विरुद्व यसअघि अख्तियारमा परेको मुद्दाको सन्दर्भ समेत अझेलमा परेको उनले टिप्पणी गरे । सुनकोशी गाउँपालिका भित्र हुनेगरेका ठेक्कापट्टा लगाएत अनियमताका सन्दर्भमा बागमति प्रदेशका मन्त्री सांसदबाटै उच्चस्तरीय चासो र छानविन हुनपर्ने त्याहाँका स्थानीयको माग छ ।
पालिका भित्रका चार ग्रामिण सडक लब्से–निग्रे, सियाँले–सुनखानी, १२ किलो–वेथसिम्ले र अर्को कालिका सडक निर्माणका लागि प्रदेश सरकारबाट परेको चारकरोडको ठेक्का पालिकाका केही जनप्रतिनिधि तथा केही कर्मचारीको मिलेमतोमा बुधबार टेन्डर खुलाईएसंगै त्यसको चौतर्फी आलोचना भएको छ । त्यसमा स्थानीय व्यवसायी समेत रुष्ट देखिएका छन् ।
गोप्य सूचना गरेर मिलाईकोले आफुलाई कुनै जानकारी नदिईएको निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका पूर्व अध्यक्ष निलध्वज थापाको भनाई छ ।
‘पत्रिकामा टेन्डर आह्वान गरिएको सूचना कुनै व्यवसायीलाई थाहा छैन् जो जसले टेन्डर फारम किनेर दर्ता गराउनु भएको छ उहाँहरु बाहेक कसैलाई थाहा छैन्, पूर्व अध्यक्ष थापाले भने । उनका अनुसार गाउँपालिकाले कोरम पु¥याउनको लागि २४ वटा दर्तावाला फर्मलाई मात्र जानकारी गराएको हो । ‘म त स्थानीय हुँ तर मलाई पनि थाहा छैन्’ उनले भने, ‘सबैले थाहा पाउनेगरी गरिएको भए अलि धेरै प्रतिश्पर्धा हुन्थ्यो ।’ गाउँपालिकाले निर्माण व्यवसायीहरुलाई जानकारी नै नगरी टेन्डर आह्वान र खुल्ला गर्नु गलत भएको उनको ठहर छ । आफ्नो कार्यकालमा कतिपय कार्यालयहरुले टेण्डर आह्वान गरेपछि निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको कार्यालयमा जानकारी पत्र आउने गरेको भएपनि पछिल्लो त्यो परिपाटी हराउँदै गएको उनको अनुभव छ । स्रोतका अनुसार पालिकाका प्रमुख प्रशासकीय अधिकृत विरबहादुर बस्नेत लगाएतको मिलेमतोमा सेटिङ मिलाईएको हो । निश्चित व्यक्तिलाई दिंदा प्रतिप्रधा नहुने भएपछि गाउँपालिकाले यस्तो रोल खेलेको हो । अहिले प्राय ठेक्का ईभिडिङ हुने कारणले गर्दा सूचना बोलपत्र डटकममा गएपछि हेरिने प्रचलन छ । तर पालिकाले उक्त सूचानाको हार्डकपि नेटमा समेत हालेको छैन् । गाउँपालिकाले लक्ष्मी बैंकको भौचर बनाउन पाउने भनेर उल्लेख मात्रै गरेको छ ।
गत शुक्रबार मात्रै थाहा पाएर फर्म आफुले किने पनि बुझाउन नसकिएको एनएम बिलडक्सका प्रोपाईटर मिमबहादुर योञ्जनको भनाई छ । ‘सबै कुरा सेटिङमा रहेछ ढिलागरी मात्रै थाहा पाईयो’, निर्माण व्यवसायी योञ्जनले भने ।
गाउँपालिकाले २ गते विदा दिएपछि ३ गते समय दिन पर्दथ्यो तर गाउँपालिकाले ३ गते नै रिजल्ट सार्वजनिक (उइथड्र) गरेको व्यवसायी योञ्जनको भनाई छ । गाँउपालिकाको सेटिङमा हुने यस्ता घटना यस अघि पनि हुने गरेको सोही वडाका एक वडाअध्यक्षले नाम नछाप्ने शर्तमा सिन्धुज्वालालाई बताए ।
‘सूचना निस्केको पनि थाहा छैन अनलाईनहरुमा पनि हालेको देखिएको छैन्’, निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष छत्रबहादुर तामाङले सिन्धुज्वालासंग भने । उनका अनुसार सुनकोशी गाउँपालिकाले ईभिडिङ प्रक्रिया मार्फत टेन्डर नखुलाईएको देखिएकाे हाे । ‘अहिलेको जमानामा ईभिडिङ नगराईकन सूचना लुकाएर हार्डकपि किन गरियो ? संकाको विषय छ’, अध्यक्ष तामाङले भने । निर्माण व्यवसायी संघ अध्यक्ष तामाङका अनुसार नेपाल सरकारको नयाँ मापदण्ड अनुसार ईभिडिङद्वारा मात्रै ठेक्का लगाउन पाईने प्रावधान छ । सुनकोशी गाउँपालिकाले भने सोको विपरित हार्डकपि अर्थात फाईल दर्ता गर्ने पुरानो प्रक्रिया मार्फत गरेकाे हाे ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष कृष्णगोपाल तामाङले भने यस बारेमा आफुलाई कुनै जानकारी नभएको बताए । ‘ठेक्का प्रक्रियामा अनियमिता नै भएको रहेछ भने कानुनी प्रक्रिया अनुसार नै जानपर्ने हुन्छ’, जिल्ला समन्वय प्रमुख तामाङले भने । सो घटनाको वास्तविकता बुझ्न आफु लागी पर्ने उनले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरबहादुर बस्नेतले प्रभाव राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरिएको जानकारी दिए । ‘त्यो विषयनै टुङ्गी सक्यो अब यो कुरा किन उठाउनुप¥यो ?’, प्रतिप्रश्न गर्दै प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने । ‘को कसले टेन्डरको सूचना पाए वा पाएनन् भन्ने कुरा हाम्रो सरोकारको विषय भएन’, उनले ठाडो जवाफ दिंदै भने । तर ३५ दिन अगाडि सूचना निकालिएको भनिएको पत्रिकाको सम्बन्धमा भने स्थानीय सबै अनविज्ञ छन् । भित्रभित्रै कर्मचारीको समेत मिलेमतो भएको भन्ने प्रश्नमा प्रमुख प्रशासकिय अधिकृत बस्नेतले कुनै जवाफ दिन चाहेनन् । यसबारेमा गाउँपालिका अध्यक्ष श्रमणकुमार जिसीसंग फोनसम्पर्क गर्न खोज्दा उनले समेत कुरा गर्न चाहेनन् ।
सार्वजनिक खरिद ऐन २०६४ को नियमावली यस्तो छ–
बोलपत्र वा पूर्व योग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचना राष्ट्रिय स्तरको दैनिक समाचारपत्रमा प्रकाशन गर्नु पर्नेछ र अन्तर्राष्ट्रिय स्तरको बोलपत्रको हकमा
अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत प्रकाशन गर्न सकिनेछ । (२) उपदफा (१) बमोजिमको सूचना केन्द्रीय स्तरको सार्वजनिक निकायको हकमा सो निकाय वा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभ साईटमा राख्नु पर्नेछ र जिल्ला स्तरीय सार्वजनिक निकायको हकमा त्यस्तो सूचना सो निकाय वा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभ साईटमा राख्न सकिनेछ । त्यस्तै (४) उपदफा (१) बमोजिमको सूचना प्रकाशन गर्दा राष्ट्रिय स्तरको बोलपत्र वा पूर्व योग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचनाको हकमा कम्तीमा तीस दिन र अन्तर्राष्ट्रिय स्तरको बोलपत्र वा पूर्व योग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचनाको हकमा कम्तीमा पैंतालीस दिनको अवधि दिनु पर्नेछ उल्लेख छ ।
तर सुनकोशी गाउँपालिकाले भने माथि उल्लेखित मापदण्ड कुनैेपनि पुरा गरेको देखिदैन । कानुन सम्वत जाने हो भने सो पालिका अपठ्यारोमा पर्न सक्ने एक कानुन व्यवसायीको तर्क छ ।