अघोषित नाका बन्दी गरेको भन्दै सिन्धुपाल्चोक च्याप्टरले नाकामा धर्ना दिने

कार्तिक २६, काठमाडौं । चीनसंग जोडिएको उत्तरी नाकामा अघोषित नाका बन्दी गरेको भन्दै नेपाल चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक च्याप्टरले धर्ना दिने भएकाे छ । तत्काल सामान भित्रिने व्यवस्था नगरे व्यवसायीहरु नाकामै गएर धर्ना दिने सिन्धुपाल्चोक च्याप्टरका अध्यक्ष जाङबु शेर्पाले सिन्धुज्वालालाई बताए । उनका अनुसार केही मात्रामा नाका खुलेको भएपनि प्रशस्त मात्रामा सामान आउन नसकेको भन्दै सम्बन्धीत सरोकारवालाहरुलाई तत्काल सामान भित्र्याउने व्यवस्था गर्न दबाब स्वरूप धर्ना दिन नेपाल–चीन उद्योगवाणिज्य संघ सिन्धुपाल्चोक च्याप्टरले पहल गरेकाे हाे । च्याप्टरका अध्यक्ष शेर्पाले १० महिनादेखि चिनियाँ नाकामा रोकिएका कन्टेनरहरु अझै सहजरुपमा नेपाल भित्रन नसकेको सिन्धुज्वालालाई बताए । तिहार पछि पनि तातोपानी नाकाबाट ट्रककन्टेनर नेपाल नभित्रिए सम्पूर्ण संघसंस्था, उद्योग, व्यापार व्यवसायी लगाएत नाकामा मौन धर्ना दिने अध्यक्ष शेर्पाले बताए । ‘नाकाबाट सहज रुपमा सामग्री सहितको गाडी आउन सहजीकरण भएन भने हामी धर्ना दिन वाध्य हुनेछौं, शेर्पाले भने । च्याप्टरले सम्पूर्ण संघसंस्थालाई साथ लिएर आन्दोलित हुने उनले स्पष्ट पारे । चीनले दैनिक १÷२ वटा मात्र गाडी छोड्नुमा च्याप्टरका अध्यक्ष शेर्पाले अघोषित नाकाबन्दीको संज्ञा दिए ।

महासंघको लामो र निरन्तर पहलपछि केरुङ, तातोपानी नाका खुले पनि सामान भने नआएको उनले बताए । उनका अनुअसार नाकाहरुमा अहिले पनि धेरै कन्टेनरहरु रोकिएका छन् । तर चिनियाँ पक्षले दिनमा एक दुई वटा मात्रै कन्टेनर पठाउने गरेको छ । नेपाल चीन उद्योगवाणिज्य संघ सिन्धुपाल्चोक च्याप्टरका अध्यक्ष शेर्पाद्वारा जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ–‘ लामो असमय देखि हजारौं ट्रक मालसामानहरु तातोपानी नाकामा अलपत्र अवस्थामा रहेको र चिानिया पक्षले तातोपानी नाकाबाट दैनिक दुईवटा ट्रकलाई मात्र नेपाल प्रवेशमा अनुमति दिने गरेको छ । के कस्तो कारणले मालसमानहरु नेपाल प्रवेश रोक लगाईएको हो र नाका सुचारु हुने वा नहुने बारे हालसम्म कुनै पनि सरकारी निकायबाट सूचना तथा जानकारी प्राप्त भएको छैन । कति दिन महिना यसरी नै रहनुपर्ने हो ? यस्तो अन्यौलको परिस्थितिले गर्दा सम्पूर्ण व्यापारीहरुमा मानसिक चिन्ता तथा विचलन उत्पन्न भएको छ ।’ संघले सम्बन्धित पक्षलाई ध्यानकर्षण गराउँदै प्रेस वक्तव्यमा पुनः भनिएको छ–‘ दिपाली सम्म नाका पूर्ण रुपले सुचारु नभएमा हामी सम्पूर्ण उद्योगी, व्यापारी, व्यवसायी तथा संघसंस्थाहरु समेत नाकामा गई मौन धारण लगाएत विरोधका कार्यक्रम गर्न वाध्य हुने समेत सम्पूर्ण निकायहरुमा जानकारी गराउँदछौं । दुई देश बीच सदिऔं वर्षदेखि रहि आएको समधुर सम्बन्धमा कुनै पनि किसिमको नकरात्मक परिस्थिति सृजना गर्नु कदापि हुँदैन । तसर्थ यस समस्याबाट छिटो भन्दा छिटो समाधानका लागि सम्बन्धित निकायहरुलाई विनम्र अनुरोध समेत गर्न चाहान्छौं ।’

यस्तो छ सिन्धुपाल्चोक च्याप्टरदवारा प्रसारित प्रेसवक्तव्य