शीतलनिवासको राजनीति चलखेल अनुत्पादक, किन बोलाईयो वामदेव र बादललाई ?
कार्तिक २१, काठमाडौं । सत्तारुट दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच भएको तिक्तता अझै मथ्थर हुन सकेको छैन् । बिहिबार सम्म अध्यक्षद्वोय बीच भएको संवादको उपलब्धी शून्यमा झरेपछि स्थिति झन जटिल मोडमा पुगेको अनुमान गरिएको छ । नेकपामा एकता संकट चुलिदैं गएको बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीति चलखेल भने विवादस्त बनको छ । उनको बोलावटमा मंगलबार दिउँसो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम शीतलनिवास पुगेका थिए । त्यस्तै बुधबार गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा बादललाई पनि शीतलनिवास बोलाइयो । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति भण्डारीसँग छुट्टै भेटवार्ता गरे । यि सबै गतिविधि नियालेका नेकपाका नेता कार्यकर्ताहरुले भने शीतल निवासको राजनीति चलखेल अनुत्पादक रहेको ठहर गरेका छन् । ‘शीतलनिवासको प्रयास अनुत्पादक देखिन्छ’, नेकपाका एक केन्द्रीय सदस्यले सिन्धुज्वालासंग भने । राष्ट्रपतिले एउटै पार्टीभित्र चुलिदैं गएको अविश्वासको संकटलाई समन्वय नगरी एउटा गुटलाई मात्र मलजल पुग्नेगरी थालिएको प्रयास गलत भएको उनको ठहर छ । उसोत प्रधानमन्त्री ओलीको खेमालाई पार्टीभित्र अप्ठ्यारो पर्दा साथ दिँदै आएकी राष्ट्रपति भण्डारीले विगतमा पनि नेकपाका शीर्षनेताहरुलाई कहिले बेग्लाबेग्लै त कहिले सामुहिक रुपमा बोलाएर सम्झाउने गरेकी थिइन् । यसपटक पनि उनले दुईजना सचिवालय सदस्यहरुलाई एक्लाएक्लै बोलाएर ओलीको पक्षमा बहुमत जुटाउने लबिङ गरेको ती नेताको आरोप छ ।
यता बिहिबार सम्म पार्टी अध्यक्षद्वोय ओली र प्रचण्ड बीचको संवादले कुनै ठोस निष्कर्ष ननिस्कदा पार्टीभित्रको संकट गम्भिर मोडमा पुगेको अनुमान गरिएको छ ।
पार्टी स्रोतका अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई ‘तपाई आफ्नो तरिकाले लाग्नुहोस म आफ्नो तरिकाले लाग्छु’ भनेपछि प्रचण्ड अब कुनै हालतमा संवादको लागि बालुवाटार आउदिन भनेर बाहिरिएका थिए । तर दोस्रो पुस्ताका नेताहरुले भने संकट टार्न निकै कसरत गरिरहेको बताईन्छ ।