जो बाईडन जितको नजिक ट्रम्प भन्दा ५ हजार ५९४ मतले अग्रता

२१ कात्तिक, काठमाडौं । अमेरिकामा भएको राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका जो बाइडनले अग्रता लिएका छन् । २० इलेक्टोरल रहेको पेन्सिलभेनियामा बाइडनले ५ हजार ५९४ मतले अग्रता लिएका हुन् । राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई पेन्सिलभेनियामा पनि डेमोक्रेटिक पार्टीका जो बाइडनले पछि पारेपछि विश्लेषकहरुले उनको जितको सम्भावनालाई औंल्याएका छन् । अन्र्तराष्ट्रिय समाचार संस्था एजेन्सीका अनुसार बाइडनले ३२ लाख ९५ हजार ३१९ र ट्रम्पले ३२ लाख ८९ हजार ७२५ मत प्राप्त गरेका छन् । यो दुई प्रतिशत मत गणना बाँकी हुँदासम्मको परिणाम हो ।
योसँगै निर्वाचन परिणाम आउन बाँकी रहेका पाँच मध्ये तीन राज्यमा बाइडनले अग्रता लिएका छन् । १६ प्रतिशत मत गणना बाँकी रहेको नेवाडा र एक प्रतिशत मत गन्न बाँकी रहेको जर्जियामा पनि वाइडनको अग्रता जारी छ । नेवाडामा ६ र जर्जिमा १६ इलेक्टोरल छन् । बाइडनले २६४ र ट्रम्पले २१४ इलेक्टोरल जितिसकेका छन् । ६ प्रतिशत गणना बाँकी रहेको नर्थ क्यारोलिना र ५० प्रतिशत गणना रहेको अलास्कामा ट्रम्पको अग्रता छ । क्यारोलिनामा १५ र अलास्कामा ३ इलेक्टोरल छन् ।