उन्नती गरे के हुँदैन ? जागरिदार खड्का तीन भाई कृषि व्यवसायमा छपक्कै (फोटोफिचर सहित)

दिनेश दुलाल
कार्तिक २१, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका–५ का बच्चुसिं खड्का ३२ वर्ष राष्ट्रसेवकको रुपमा काम गरेर अवकाश प्राप्त कर्मचारी हुन् । जागिर अवधि नायक सुब्बा छँदै रिटायर भएका खड्काले बाँकी जिवन कृषि व्यवसाय अंगाल्ने निधो गरे र उनले ‘बसन्त कृषि फर्म’ नामकरण गरेर फर्म दर्ता गरे । उनलाई आफ्ना दुईभाई कुलबिर र भिमेसनले साथ दिए । कुलबिर २० र भिमसेन २७ वर्ष सम्म शिक्षण पेशा अंगालेर रिटायर भएका शिक्षक हुन् । अहिले तिनै जना खड्का दाजुभाईले जागिरे जीवनपछि व्यवसायतिर हात हालेका छन् । सोही नगरपालिका–५ खहरेमा पुर्खौली थलोमा उनीहरुले सिताके च्याउ, माछा पालन, राँगा पालन लगाएत कृषि व्यवसाय थालेका हुन् । तीन भाईको गरी ८० लाख लगानीमा बसन्त कृषि फर्म नाम दिएर गत चैत्र देखि व्यवसाय सञ्चालन गरेका खड्का परिवारको अहिले सिताके च्याउ, दर्जनौ राँगा र पोखरीमा बग्रेल्ती माछा छन् । आफ्नै पुुर्खौली एकसय रोपनी जग्गामा व्यवसाय थालेका खड्का दाजुभाईको व्यवसाय नयाँ भएपनि आफ्नो बुबाले गरेको पेशाको निरन्तरता भएको तीनभाई मध्येका कान्छो भाई भिमसेन खड्काले सिन्धुज्वालालाई बताए । ‘यो बुबाको कर्मको निरन्तरता हो, हामीले व्यवसायलाई थप र परिमर्जन मात्र गरेका हौ’, भिमसेनले भने । उनका अनुसार बुबा झपडबहादुर उत्कृष्ट किसानको रुपमा जिल्लामै कहलिएका थिए ।

बुबाकै बिडो थाम्न तथा नयाँ पीडिहरुलाई कृषि व्यवसायमा लाग्न उत्प्रेरणा मिल्ने गरी व्यवसाय सञ्चालन गरिएको व्यवसायी भिमसेनको तर्क छ ।
सिताके च्याउको आर्कषण
खड्का दाजुभाईले जिल्ला सदमुकाम चौतारा र त्यस आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर सिताके च्याउको व्यवसाय थालेका छन् । काठको मुढाबाट उत्पादन हुने सिताके च्याउ व्यवसायको मूख्य आर्कषक बनको छ । सिताके च्याउ क्यान्सर रोगीहरुलाई प्रतिरोधात्मक क्षमता बढाउने स्वास्थ्यवर्दक मानिएपनि च्याउको बजार भने खड्किएको खड्का बताउँछन् । ‘यो अन्य च्याउ भन्दा महँगो हुनाले बजार त्यति छैन्’, खड्काले भने । उनका अनुसार सिताके च्याउको स्थानीय मूल्य प्रतिकेजी ६ सय रुपैंया रहेको छ । त्यस्तै काठमाडौंमा एकहजार सम्म पर्नेछ । विशेष गरेर कटुसको काठको मुढामा फस्टाउने सिताके च्याउ सुरुको चरणमा बिउ राखेको ६ महिना लागेपछि मात्र उत्पादन दिने भएपनि त्यसपछि भने एकहप्ताको बीचमा उत्पादन दिने व्यवसायी खड्का बताउँछन् । हप्तामा ७०÷८० किलो सम्म उत्पादन दिने सिताके च्याउको समेत ग्रेडिङ हुने खड्काको भनाई छ । ‘ए’ ग्रेडको लागि प्रतिकेजी २ हजार रुपैंया समेत बाहिरि मुलुकमा निर्यात हुने खड्काको दावी छ । यसको अलवा उनले कन्ये च्याउ उत्पादनमा समेत नयाँ प्रविधि भित्र्याएका छन् । परालमा उत्पादन गरिने कन्ये च्याउलाई उनले काठको मुढामा उत्पादन गरेर प्रमाणित गरेका छन् । ‘यो मेरो नयाँ प्रयोग हो यसलाई अब बिस्तारै व्यवस्थित गरेर उत्पादन गर्ने सोचेको छौं’, खड्काले भने । कन्ये च्याउको बजारमा समेत राम्रो माग हुने गरेको भनाई छ
कार्प जातिका माछा पालन
खड्का दाजुभाईले च्याउ उत्पादन गरेकै नजिक ३ वटा पोखरी बनाएर माछा व्यवसाय समेत थालेका छन् । कार्प जातिका माछा पालन सुरु गरेका उनीहरुले माछाका भुरा भने मत्स्य विकास केन्द्रबाट ल्याईएको व्यवसायी भिमसेन बताउँछन् । ‘ग्रामिण भेगतिर पालन गर्ने साधारण माछा भन्दा यो माछा स्वादिष्ट छ’, जाल हान्दै गरेका खड्काले भने । उनकोमा कार्प जातिका ग्रास, सिल्बर, कमन, रघु र नैन उत्पादन भईरहेका छन् । ३ वटा पोखरीमा ६ सय भुरा हालेको कृषि फर्मले बार्षिक दुईलटमा गरी ३ देखि ४ सय किलो सम्म माछा बिक्री हुने व्यवसायी खड्का बताउँछन् । उनका अनुसार प्रतिगोटा एक किलो सम्म हुने उक्त माछाको स्थानीय दर प्रति केजी ५ सय रुपैंया रहेको छ । माछा बिक्रीको लागि बजारमा पु¥याउन नपर्ने ग्राहक फर्ममा नै आएर लैजाने गरेको खड्का बताउँछन् ।

मासुका लागि राँगा पालन
बसन्त कृषि फर्मले गरेको तेस्रो ठूलो व्यवसाय भनेको मासुका लागि राँगा पालन हो । प्राय पशुपालक व्यवसायीहरु दुध उत्पादनका लागि गाई अथवा भैंसी पालन गर्ने प्रचलन रहेपनि बसन्त कृषि फर्मले भने राँगा पालन गरेको छ । स्थानीय स्तरमै रहेका साना पाडाहरु संकलन गरेर राँगा पालन व्यवसाय थालिएको व्यवसायी खड्का बताउँछन् । राँगा पालन व्यवसायले सदरमुकाम चौतारा र त्यस आसपासका बस्तीलाई मासुको लागि सहज भएको उनको दावी छ ।
कफि, केरा, अलैंची र बेसार व्यवसाय
बसन्त कृषि फर्मले सिताके च्याउ, माछा पालन तथा राँगा पालन व्यवसायको अतिरिक्त कफि, केरा, अलैंची र बेसार व्यवसाय समेत सुरु गरेको छ ।
खोल्साखाल्सीमा अ‍ैलैची, केरा र कफि तथा समथर जमिनमा बेसार व्यवसाय सुरुवात गरिएको व्यवसायी खड्का बताउँछन् । एकसय मुरी धान उत्पादन हुने खेतमा बेमौसमी तरकारी समेत उत्पादन गर्न लागिएको उनले बताए ।
चौतारा सदमुकामबाट पैदल यात्रा करिब ४५ मिनेट लाग्ने बसन्त कृषि फर्ममा च्याउ, माछा किन्न तथा अवलोकन गर्न जानेहरुको ताती नै लाग्ने गरेको व्यवसायी कुलबिर खड्का बताउँछन् । आफ्नो सरकारी जागिरको अवकाश पछि निरन्तर परिश्रममा लागेर युवा पुस्ताहरुलाई समेत थप प्रोत्साहित गर्ने मनसायले कृषि व्यवसाय अंगालेको बसन्त कृषि फर्मका सञ्चालक बच्चुसिं खड्काले बताए । कृषि व्यवसायलाई आर्कषक व्यवसायको रुपमा सञ्चालन गर्ने कृषि फर्महरुलाई नगरपालिकाले निरन्तर सहयोग गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले सिन्धुज्वालालाई बताए ।
खड्का तीन भाईको सरकारी जागिरे पेशापछि थालिएको कृषि व्यवसाय अहिले जिल्लामै चर्चामा आउन थालेको छ ।