तातोपानी नाका आजबाट पुनः सुचारु

कार्तिक १३, तातोपानी (सिन्धुपाल्चोक) । नाका खुलेलगत्तै बन्द भएको तातोपानी नाका आजदेखि पुनः खुलेको छ । आज दिउसो १ बजेबाट चिनिया कन्टेरले मितेरी पुलसम्म सामान ल्याउने काम सुरु भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले सिन्धुज्वालालाई बताए । ‘आजदेखी पारिसम्म (रमिते) सामान आउँछ भोलि नेपाल भित्रन सुरु हुन्छ’, भन्सार प्रमुख खत्रीले भने । उनका अनुसार आज केही कन्टेनरले मात्र सामग्री बोके पनि भोलीबाट क्रमशः थपिदैं जाने उनले बताए । अाज साँझसम्म स्याउ लाेड गरिएका २ कन्टेनर नेपाल भित्रीएकाे भाेटेकाेशी च्याम्बर अफ कमर्सका अध्यक्ष तथा व्यवसायी फुनु शेर्पाले जनाकारी दिए । कोरोना महामारीका कारण बन्द रहेको नाका खुलेलगत्तै सामान लोड–अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको थियो । त्यसयता चीनले नेपाल पक्षलाई कोरोना महामारी सुरक्षाको प्रबन्ध गर्न अनुरोध गर्दै नाका बन्द गरेको थियो ।

तातोपानी नाकाको अवस्थाको बारेमा बुझ्न भन्दै अघिल्लो साता परराष्ट्रमन्त्री प्रदिप ज्ञावाली तातोपानी बोर्डर सम्म पुगेका थिए । सीमावर्ती तातोपानी क्षेत्रको निरीक्षणमा पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले चार दिन भित्र नाका संञ्चालनमा आउने बताएका थिए । भोटेकोशी गाउँपालिका–२ स्थित लार्चाको सुख्खा बन्दरगाह तथा भन्सार, विओपीदेखि सीमावर्ती क्षेत्रको भौतिक अवस्था निरीक्षण गर्दै उनले चीन सरकारबाट नाका खुल्ने सुचना पाएको बताएका थिए । करिब तीन महिनापछि खुलेको तातोपानी नाका भन्सारमा कार्यरत तीन मजदुरमा कोरोना पोजिटिभ देखिएपछि दुईहप्ता देखि बन्द थियो । यसअघिका सीमाक्षेत्रका चार संक्रमित मजदुरको ‘कंन्ट्रयाक ट्रेसिङ’ र उपचार नसकिँदै ३ जनामा कोरोना पोजिटिभ देखिएपछि तातोपानी नाका ठप्प भएको हो । नाकाको भौतिक मर्मतसंम्भारको लागि चीन पक्षले दिने भनिएको सहयोग नआएपनि सरकारले स्रोत जुटाएर मर्मतसंम्भार गर्ने गरी तयारी थालेको थियो ।

यहाँबाट चीनतर्फ सामाग्री लोड अनलोड गर्न गएका ३३ मजदुरको स्वास्थ्य परीक्षण गर्दै स्वाब संकलन गरेको थियो । अहिलेसम्म भन्सारका ७ मजदुरमा कोरोना पुष्टि भएपछि तत्कालै कन्टेनर आउजाउ ठप्प गरिएको हो । त्यसपछि तातोपानी नाका ‘नयाँ मोडालिटी’मा खुल्ने भन्सार प्रमुख लाल बहादुर खत्रीले बताएका थिए । गएको १३ असोजमा नेपाल चीन अधिकारीबीच मितेरी पुलको छलफलले कोरोना भाइरस नियन्त्रण गर्ने र प्राकृतिक विपतबाट बच्ने साइरन राख्नेजस्ता शर्तमा तातोपानी नाका खुलाउने सहमती भएपनि चीनले चासो नदिंदा दशैं अगवै नाका खुल्न सकेन ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन दुवै पक्षबाट सजगताको लागि नयाँ मोडालिटीबारे छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका थिए । तर दशैं पछि मात्र अर्थात आजबाट मात्र नाका पुनः सुचारु भएको हो ।