
बागमति प्रदेश सरकारले कोभिड–१९ को परिक्षण र उपचार निशुल्क गरिदिने

कार्तिक ६, काठमाडौं । बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को परिक्षण तथा उपचार निशुल्क गरिदिने भएको छ ।
सरकारले अति विपन्न नागरिक तथा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगाएतको बाहेक नागरिकले उपचार व्यहोर्नु पर्ने भनाई सार्वजनिक गरेसंगै बागमति प्रदेश सरकारको यस्तो धारणा आएको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय भन्दै धुलिखेल अस्पतालले कोरोना संक्रमण बिरामीहरुलाई उपचार गर्न शुल्क निर्धारण गरेपछि सरकारको चौतर्फी आलोचना भएको थियो । अस्पतालले कोरोना बिरामीको उपचार गर्न सामन्यलाई उपचार तथा खाना बापत ३ हजार ५ सय र धरौटी ५० हजार देखि जटिल बिरामीलाई उपचार तथा खाना १५ हजार तथा धरौटी २ लाख तोकेको थियो । त्यसपछि लगत्तै बागमति सरकारको सामाजिक विकास मन्त्रालयले सबै प्रदेश भित्रका सबै नागरिकको निशुल्क उपचार गरिदिने बताएको हो । बागमति प्रदेश सरकार अन्तर्गतका प्रयोगशाला र अस्पतालबाट कोभिड–१९ को परिक्षण र उपचार साविक बमोजिम निःशुल्क रहिरहेको बागमति प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । ‘साविक बमोजिम सबैको उपचार निशुल्क हुन्छ, कोही भ्रममा नपर्न म आग्रह गर्दछु’, मन्त्रि दुलालले भने । दशैंको बिदामा पनि परिक्षण र उपचार सुचारु रहिरहने मन्त्री दुलालले जानकारी दिए ।
बागमति प्रदेश सामाजिक विकास मन्त्रालयका बरिष्ट जनस्वास्थ्य प्रमुख सतिश विष्टले हिजो जारी गरेको पत्र अनुसार नेपाल सरकारले लक्षित वर्गलाई तोकेको बाहेक नागरिकलाई समेत साविक बमोजिम कोभिड–१९ को निशुल्क उपचार गरिने उल्लेख छ ।