ऐतिहासिक स्थान पिस्करमा विद्यालय भवन निर्माण कार्य अन्तिम चरणमा

असोज २९, पिस्कर (सिन्धुपााल्चोक) । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ पिस्कर जलजले स्थित श्री जनता आधारभूत विद्यालयको नवनिर्मित भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । २०७२ सालको भूकम्पले क्षति गरेको विद्यालय भवनको निर्माण कार्यले अन्तिम रुप लिईको हो । द्रुत गतिमा निर्माण भइरहेको उक्त भवन कोभिड–१९ को महामारीका बावजुद पनि नेपाल सरकारले विकास निर्माणको कार्यमा कुनै बाधा अड्चन नहोस् भनि निर्देशन दिए अनुसार भौतिक दुरी तथा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पुरागरी निर्माण कार्य थालिएको ग्रामीण महिला सिर्जनशील परिवारका कार्यक्रम संयोजक हर्क तामाङले बताए । उनका अनुसार दक्ष जनशक्ति मार्फत भूकम्प प्रतिरोधात्मक भवनको निर्माण कार्य द्रुत गतिमा सञ्चालन भईरहेको छ । मित्रराष्ट्र जापान सरकारको आर्थिक सहयोगमा, चाइल्ड फण्ड जापान र ग्रामीण महिला सिर्जनशील परिवारले त्रिपुरासुन्दरी गाउँपालिका र जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) संगको समन्वयमा विद्यालय पुनर्निर्माण तथा विपद् उत्थानशील परियोजना अन्तर्गत यो भवन निर्माण गरेको हो ।

परियोजनाको मुख्य लक्ष्य सिन्धुपाल्चोक जिल्लाका विद्यालयहरुको संस्थागत क्षमता सवलीकरण गरी प्राकृतिक विपद्को सामना गर्न सक्षम बनाउनु रहेको संयोजक तामाङको तर्क छ । जनवरी १, २०२० देखि १५ डिसेम्बर २०२० सम्म संचालनमा रहने सो परियोजनाले त्रिपुरासुन्दरी गाँउपालिकाका ४ वटा विद्यालयहरु श्री जनता आधारभूत विद्यालय पिस्कर, श्री धुस्कुन आधारभूत विद्यालय धुस्कुन, श्री महेन्द्र प्रताप माध्यामिक विद्यालय धुस्कुन र श्री सेतीदेवी आधारभूत विद्यालय धुस्कुनमा विपद् जोखिम न्यूनिकरण तथा आपतकालिन अवस्थामा बाल संरक्षण सम्बन्धि गतिविधिहरु संचालन गर्दै आइरहेको उनले जानकारी दिए । उनका अनुसार विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षा संग सम्वन्धीत सरोकारवाला निकायहरुको लागि विपद् जोखिम न्यूनिकरण र आकस्मिक अवस्थामा वाल संरक्षण तालिम, विद्यालय सुरक्षा योजना निर्माण, विपद् बाट सुरक्षित रहनको निमित्त कृत्रिम घटना अभ्यास (ड्रील) व्यवस्थापन तथा सञ्चालन एंवं विपद् जोखिम न्यूनिकरण सम्वन्धी विद्यार्थीहरुका लागी शिक्षा दिने कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
यसै परियोजना अन्र्तगत हाल त्रिपुरासुन्दरी गाँउपालिका ४ स्थित श्री जनता आधारभूत विद्यालयमा भूकम्प प्रतिरोधात्मक १२ कोठे ३ तल्लाको भवन करिव ४ करोड ३४ लाख रुपैयाको लागतमा निर्माण कार्य भैरहेको समेत कार्यक्रम संयोजक तामाङले बताए । नयाँ विद्यालय निर्माण भईरहेको हुनाले आफ्नो बालबालिकाहरु सुविधा सम्पन्न भूकम्प प्रतिरोधात्मक भवनमा अध्ययन गर्न पाउने अवस्था हुने भएपछि स्थानीयबासीहरु निकै खुसी देखिएका छन् । अर्ध स्थायी भवनमा सञ्चालन हुँदै आएको विद्यालयको भौतिक संरचना जोखिम र विपद्को तवरले असुरक्षित भई पठनपाठनमा निकै समस्या पर्दै आएको र त्यहाँका शिक्षक र विद्यार्थीले सहजरुपमा पठनपाठन हुने भएपछि यस क्षेत्रका स्थानीय वासिन्दा अत्यन्तै उत्साहित भएको एक स्थानीयले बताए ।
ति स्थानीयका अनुसार बालबालिकालाई गाउँमै सहज वातावरणमा पठनपाठन गरुन् भन्ने उद्देश्यले विद्यालय तथा यहाँका स्थानीयवासी तथा सरोकारवाला निकायले ग्रामीण महिला सिर्जनशील परिवारलाई विद्यालय निर्माण गर्न अनुरोध गरेपछि सो भवन निर्माण गरिएको हो । विद्यालय भवन निर्माण भएपछि त्रिपुरासुन्दरी गाँउपालिका वडा नं. ४ लगायत वरपरका २ सय ५० भन्दा बढी विद्यार्थी लाभान्वित हुने र भूकम्प प्रतिरोधात्मक विधालय भवन निर्माण सम्पन्न भए पश्चात त्यहि भवनको राम्रो भौतिक संरचनामा गुणस्तरीय शिक्षा प्रदान गरिने कुरा विद्यालयका प्रधानध्यापक सुर्य बोहोरा बताउँछन् । स्थानीय बालबालिकालाई पढ्नका लागि विद्यालय भवन निर्माण हुँदै गरेको अवस्था देखेपछि स्थानीयवासी अत्यन्तै खुशी भई सहयोगी निकायलाई धन्यवाद समेत दिए ।
भवन सँगसँगै विद्यालय परिसरमा सुविधा सम्पन्न पुस्तकालय, बालमैत्री खानेपानी, पक्की शौचालय, कोठा, खेल मैदान, विद्यालय घेराबार र वायो इन्जिनियरिङ प्रविधिद्धारा विपद् जोखिम न्यूनिकरण गर्ने किसिमको बोटविरुवा वृक्षारोपण गर्ने जस्तो कार्य पनि गरिने कार्यक्रम संयोजक तामाङले बताए ।

2077 asoj 30