हेलम्बु गाउँपालिकामा सम्झौता सफ्टवेयर मार्फत

असोज २८, किउल (सिन्धुपालचोक) । हेलम्बु गाउँपालिकाले उपभोक्ताहरुलाई सफ्टवेयर आर्फत सम्झौता गर्ने प्रचलन थालनी गरेको छ । उपभोक्ताहरुको काम छिटो र छरितो गर्न यो आर्थिक वर्षदेखि प्रक्रिया सुरुवात गरिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
सोही अनुसार पालिकाले असोजको आधाआधीमै योजना सम्झौता गरिसेको छ । जसअनुसार पालिकाको ७ वटा वडामा २ सय १७ वटा योजना रहेकोमा २७ वटा सम्झौता भएर ७ वटा सम्पन्न नै भईसकेको प्रमुख प्रशासकीय अधिकृत भिमराज कोईरालाले जानकारी दिए । सम्झौता भईसकेका योजनाको काम पनि दशैंपछि तिव्रता पाउने उनले बताए । पालिकाको सबैभन्दा ठूलो गौरवको आयोजना हिमालयन ग्रेटट्रेल, बन्जीजम्पको लागि झोलङ्गे पुल लगाएत योजनाको समेत ठेक्का सम्झौता भईसकेको पालिकाले जनाएको छ ।

यसैबीच हेलम्बु गाउँपालिकाले आफ्नो पालिका भित्र गरिने योजनाको काममा पालिका बाहिरका कामदार नलगाउने रणनीति अपनाएको छ । बाहिरका कामदार ल्याउनु भन्दा रोजगारी तथा स्वास्थ्यको जोखिमका हिसाबले पालिका भित्रकै कामदार लगाउनु उपयुक्त हुने गाउँपालिका अध्यक्ष शेर्पाको तर्क छ । ‘कोरोना संक्रमण हुने डर उत्तिकै भएकोले सकेसम्म बाहिरका कामदार नल्याउने योजना बनाएका हौं’, अध्यक्ष निमाले भने । यहिँका जनताले रोजगारी पाउने सोचेर नै पालिका भित्रका कामदारलाई प्राथमिकता दिएको अध्यक्ष शेर्पाको भनाई छ ।
उनका अनुसार कोरानाकै बीचमा पनि पालिकाको काम चैत्र भित्रमा सकेर बैशाखमै भुक्तानी दिईसक्ने रणनीति पालिकाले लिएको छ । जिल्लाको १२ स्थानीय तहमध्ये समयमै काम सम्पन्न गर्ने हेलम्बु गाउँपालिका चर्चामा आएको थियो ।