कर्मचारी नै संक्रमित देखिएपनि गाउँपालिकाको सेवा प्रवाह निरन्तर

दिनेश दुलाल
असोज २८, लिसंखु (सिन्धुपाल्चोक) । देशभर कोरोना संक्रितको संख्या दिनानुदिन बढीरहेको छ । सिन्धुपाल्चोकका प्राय स्थानीय तहसम्म संक्रमितको संख्या फैलने क्रम बढ्दो छ । कोरोना संक्रमण बढेको भन्दै केही पालिकाले सेवा प्रवाह नै रोकेका छन् । दशैंको मुखमा सेवाप्रवाह रोकिदा सेवाग्राहीहरु मर्कामा परेका छन् । तर जिल्लाको लिसंखुपाखर गाउँपालिकाले भने आफ्ना माताहतका ४ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपनि सेवाप्रवाह भने निरन्तर दिएको छ । संक्रमित देखिएका कर्मचारी बाहेक अन्य कर्मचारीबाट सेवाप्रवाहलाई निरन्तर दिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए ।

दशैं अगाडि सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भएका कारण गाउँपालिकाको सेवाप्रवाहलाई निरन्तर दिईएको उनले बताए । ‘हाम्रा कर्मचारीमा कोरोना संक्रमण देखिएपनि सुरक्षाभत्ता रोक्नु हुँदैन भनेर निरन्तर दिएका हौं’, प्रमुख प्रशासकीय अधिकृत दुलालले भने । गाउँपालिकाले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर सेवा प्रदान गरिएको उनले बताए । दशैं अगवै सामाजिक सुरक्षा भत्ता लगाएतका कामहरु सम्पन्न गर्न कर्मचारीअलाई निकै कठिनायी परेको समेत उनले बताए । उपभोक्ता समिति तथा सर्वसाधारणलाई भने जरुरी काम बाहेक कार्यालयमा नआउन आग्रह गरिएको उनले स्पष्ट पारे । उनका अनुसार अघिल्लो साता गाउँपालिकाका ४ जना कर्मचारी सहित एकजना कार्यापालिका सदस्य, एकजना क्वारेन्टाईन स्टाफ र एकजना किराना पसल व्यवसायीलाई कोरोना पोजेटिभ देखिएको हो । त्यसपछि कार्यालयका अन्य कर्मचारीको पनि पिसिआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए । कार्यालयका सबै कर्मचारीको आज पुनः स्वाब संकलन गरेर परिक्षणको लागि पठाईने उनले बताए । उनका अनुसार कार्यालयका ४ जना संक्रमित कर्मचारी मध्ये दुईजनालाई पालिकाले स्वास्थ्य चौकीमा निर्माण गरेको आईसोलेसनमा र बाँकीलाई होम आईसोलेसनमा उपचार्थ छन् ।
यसैबीच पालिकाले यस आर्थिक वर्ष लागेयता ३० प्रतिशत उपभोक्ता समिति गठन भईसकेको उनले बताए । आजबाट सम्झौताको काम सुरुवात हुने समेत उनले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको ठूलो आयोजनाको ठेक्का स्च्याउजीबेसी सिंचाई दुईकरोड, ककलिङ पेटकु सडक दुईकरोड , कृषिसम्बन्धी उपकरण २५ लाख र औषधीको ठेक्का १८ लाख लागिसकेकाे छ । गाउँपालिका कार्यालय तथा वडाकार्यालय भवन लगाएतकाे भने ठेक्का प्रक्रियामा रहेको उनले बताए ।
यो पनि पढ्नुहोस

कोरोनामुक्त भएसंगै लयमा फर्किए लिसंखुपाखरका कर्मचारी