ईन्द्रावतीका सबै सेवा एक साताका लागि बन्द
असोज २६, नवलपुर (सिन्धुपाल्चोक) । गाउँपालिकामै कोरोना संक्रमण तीव्र रुपमा बढ्ने सम्भावना रहेको भन्दै जिल्लाको इन्द्रावती गाउँपालिकाका सबै सेवा सोमबारबाट बन्द गरिएको छ । सोमबार मात्रै गाउँपालिकाका सात जनामा कोरोनास संक्रमण देखिएपछि कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको सोमबार बसेको बैठकबाट ७ दिनका लागि इन्द्रावती गाउँ कार्यपालिका, सम्पूर्ण वडा कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । बैठकले गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका पठनपाठन अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको अध्यक्ष तामाङले बताए ।
गाउँपालिका भन्दा बाहिरबाट आउनेलाई अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्न लगाउने, यदि नबसेमा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइने उनले बताए । त्यस्तै विदेशबाट आएका, अस्पतालबाट आएका र कोरोना जोखिम स्थानबाट गाउँपालिकामा आउनेलाई पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट सहित अनिवार्य रुपमा होम क्वारेन्टाइनमा राख्ने व्यस्था वडा कार्यालयबाट गराइने भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा कुनै पनि सरकारी तथा गैरसरकारी निकायबाट कुनै सभा सम्मेलन तथा गोष्ठी सञ्चालन गर्न निषेध गरिएको छ । त्यसैगरी गाउँपालिकाले अत्यावश्यक काम बाहेक काठमाडौं आउजाउमा समेत निषेध गरेको छ । अत्यावश्यक सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपरे आवश्यक सुरक्षा मापदण्ड अपनाएर मात्रै गर्न गाउँपालिकाले आग्रह गरेको छ । नजिकिदै गरेको दशै, तिहार, छठ जस्ता चाडपर्व, मेला महोत्सवमा सुरक्षा मापदण्ड पालना गर्न लगाउने, घरभित्रै नै चाडपर्व मनाउन सम्पूर्ण गाउँवासीलाई गाउँपालिकाले अनुरोध गरेको छ । अनावश्यक रुपमा घर बाहिर ननिस्कन, भिडभाड नगर्न सार्वजनिक सूचना जारी गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।