
पाँचपोखरीमा कामदारले अनिवार्य बैंक खाता खोल्न पर्ने प्रावधान

दिनेश दुलाल
असोज २६, थाङपालथाप (सिन्धुपाल्चोक) । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाले कामदारले समेत अनिवार्य बैंकिङ खाता खोल्नुपर्ने प्रावधान राखेको छ । पालिकाले उपभोक्ता समिति मार्फत काम गर्ने काम गर्ने कामदार प्रत्येकले अनिवार्य बैंकिङ खाता खोल्नु पर्ने प्रावधान राखेको हो ।
यसअघि प्रधानमन्त्री स्वोरोजगार कार्यक्रम अन्र्तगत काम गर्ने कामदारहरुको अनिवार्य खाता खोल्न पर्ने प्रावधान रहेकोमा अब गाउँपालिकाभित्र उपभोक्ता समिति मार्फत काम गर्ने कामदारको समेत अनिवार्य बैंकिङ खाता खोल्नुपर्ने प्रावधान राखिएको पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले सिन्धुज्वालालाई बताए । सबै नागरिकलाई बैंकिङ प्रणाली मार्फत जोड्ने सरकारी योजना अन्र्तगत नै उक्त प्रावधान राखिएको उनले बताए । पालिकाका आयोजनामा हुने खर्चको पारदर्शिता तथा आर्थिक अनियमिता हुन नदिन महत्वपूर्ण हुने उनको तर्क छ । यो प्रावधान जिल्लाका अन्य पालिकाले भने अनिवार्य गरेका छैनन् । जुगल गाउँपालिकाले पाँचपोखरी पछि थालनी गरेको छ ।
फागुन मसान्त सम्म काम सम्पन्न गर्ने गरी असोज १५ मै योजना सम्झौता गरिसकेको पालिकाले ९० वटा योजना उपभोक्ता मार्फत गरिने निरौलाले जानकारी दिए । जसमध्ये ८० वटा योजना सम्झौता सम्पन्न भईसकेको उनले बताए । गाउँपालिकाको उपभोक्ता मार्फत गरिने ६ करोड ५० लाख बजेट रहेकोमा उपभोक्ता मार्फत गरिने योजना ३० लाख भन्दा मुनि र पाँचलाख भन्दा माथि रहेको उनले बताए ।
त्यस्तै पालिकाको यो आर्थिक वर्ष समपुरक अनुदान अन्र्तगत ३ करोड ३० लाखको ठेक्का लगाईएको उनले बताए । उनका अनुसार ठेक्का लागेकोमा ३ वटा सिंचाई र एउटा खानेपानी आयोजना रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत निरौलाको अनुसार आन्तरिक स्रोत ५० लाख रहेको गाउँपालिकाको शर्शत अनुदान २५ करोड ७१ लाख १७ हजार रहेको छ । त्यस्तै समानीकरण १२ करोड ९९ लाख ३२ हजार, राजश्व वाँडफाँड १० करोड ३३ लाख, समपुरक अनुदान ६ करोड ७१ लाख र विशेष अनुदान ३५ लाख रहेको छ । सबै अनुदान संघ र प्रदेश मार्फत रहेको उनले बताए ।
यसैगरी पालिकाको कार्यालय भवन ९ करोड ५ लाखमा निर्माणको प्रक्रियामा रहेको उनले बताए । केन्द्र सरकारको समपुरकबाट ४ करोड, जिल्ला समन्वय मार्फत २ करोड ७० लाख र पालिकाको २ करोड ३० लाख रहेको उक्त भवन दुईवर्ष भित्रमा सकिनेगरी सम्झौता भएको उनले बताए ।
पालिकाभित्र सबैभन्दा ठूलो आधा अर्बको मेलम्ची–तिपेनी–भोताङ सडकको आयोजना निर्माणको चरणमा छ । यस वर्ष अत्याधिक वर्षाका कारण ठाउँ–ठाउँमा पहिरोको अवरोधका कारण सडक निर्माण प्रक्रिया ढिला भएको गाउँपालिकाले जनाएको छ ।