सहायक सीडियो पत्नीसहित ११ जनालाई कारोना पुष्टी, जिल्ला प्रशासनको चार दिन सेवा बन्द

असोज २ , चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लामा हिजो एकै दिन ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीकी श्रीमतिसहित थप ११ जनालाई कोरोना पुष्टि भएको हो । अहिले सहायक प्रमुख जिल्ला अधिकारीको परिवार होम आइसोलेसनमा बसेको छ । उनको घुलमिल जिल्ला प्रशासन कार्यालयमा समेत भएकाले बिहिबार देखिनै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने दैनिक सेवाप्रवाह बन्द गरिएको प्रशासनले जनाएको छ ।

कर्मचारीको परिवारमा कोरोना पुष्टि भएको भन्दै प्रशासकीय अधिकृत सुनिता पहरीद्धारा आज जारी सूचना अनुसार आजदेखि असोज २६ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको उल्लेख छ । शान्तिसरक्षा र मुद्दा मामला भन्दा बाहेकका कुनै पनि सेवा प्रदान नगरिने पहरीले जानकारी दिईन । स्रोतका अनुसार सम्पर्क आएका अरु कर्मचारीसहितका सबैको पीसीआर परिक्षण गरेर त्यसको रिपोर्ट नआउँदासम्मको लागि सेवा बन्द गर्न लागिएको हो ।
यस सम्वन्धि निर्णय आज बस्ने कमाण्ड पोष्टको बैठकबाट गरिएको हो । जिल्लामा यो सँगै कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ । संक्रमितमध्ये ६ जनाको मृत्यु भइसकेको छ । २९ जना आइसोलेसनमा बसेका र अरु ११ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए । सिन्धुपाल्चोकमा ५६ आइसोलेन र ८ सय ९८ क्वारेन्टाइन बेड रहेका छन् । सिन्धुपाल्चोकमा हालसम्म ४ हजार १ सय ३३ जनाको स्वाब संकलन र ४ हजार १० जनाको परिक्षण गरेको उनले बताए ।