
दशैं नजिकिदै गर्दा जिल्ला प्रहरी कार्यालयद्वारा व्यवसायीहरुसंग छलफल

निर्मल बस्नेत
असोज १२, चौतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जिल्लाका व्यवसायीहरु संग छलफल गरेको छ । आज सिन्धुपाल्चोक उद्योग बाणिज्य संघसंग समन्वय गरि चौताराका स्थानीय व्यापारीहरुसंग कोभिड १९ र नजिकिदै गरेको चाडपर्वको बारेमा छलफल तथा अन्तरक्रिया गरेको जिप्रकाले जनाएको छ ।
जिप्रका सिन्धुपाल्चोकका अनुसार छलफलमा असोज १ गतेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णय पालना गरी व्यवसाय संचालन गर्दा स्वास्थ्य मापदण्डको पालना र सावधानी कसरी गर्ने भन्ने बिषयमा आपसी छलफल भएको हो । प्रहरीले सर्वसाधरणहरुवाट म्याद गुज्रिएका सामग्री बिक्रि हुने र कृत्रिम अभाव सिर्जना गर्ने गरेको गुनासो आउने गरेको कुरा उठाएको थियो । सो सम्वन्धमा व्यवसायीहरुले आफूहरुवाट त्यस्ता गतिबिधिहरु नभएको र भएको पाईएमा कारवाही भोग्न तयार रहेको उनीहरुको तर्क थियो ।
कोभिड–१९ को कारण व्यवसायी भन्दा उपभोक्ता बढी मारमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । ‘कोभिड–१९ को दिनानुदिन नयाँ–नयाँ तथ्य बाहिर आएकोले यसवारे सजग रहनुपर्दछ’, प्रउ अधिकारीले भने । बर्तमान अवस्थामा व्यावसायी पनि बिना बर्दीको प्रहरी भएको उनको तर्क छ । उपभोक्ता व्यावसायीमा आस्रित भएकाले नागरिकलाई सचेत गराउने काममा व्यवसायी पनि लाग्नुपर्ने उनले जोड दिए ।
त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले संघको तर्फवाट प्रत्येक दशै, तिहार र छटको समयमा खाद्यबस्तुको मूल्यसूचि तयार गरेर ३ प्रतिशत र अन्य आवश्यक उपभोग्य बस्तुको ५ प्रतिशत सम्म छुट दिन अनुरोध गर्ने गरेको बताए । ‘यसवर्ष पनि हामी मूल्यसूचि छिट्टै तय गरि बाहिर ल्याउने छौ’, श्रेष्ठले भने । स्थानीय ब्यवसायीहरुले चौतारा बजारमा सवारी पार्कीङ जहाँ पाए त्यही गर्ने, अनुमतिपत्र बेगर र मदिरा सेवन गरि सवारी चलाउन गरेको पाएकोले जिल्ला प्रहरी कार्यालयले त्यस्ता गतिबिधिको नियन्त्रण गर्नुपर्ने उनीहरुको माग थियो ।
चोरी र अपराध नियन्त्रण गर्न चौतारा बजारको चोकचोकमा सिसिक्यामेरा जडान तथा मर्मत संहार गर्ने विषयमा पनि छलफल भएको थियो । यसभन्दा अगाबै जिल्ला प्रहरी कार्यालयले उद्योग वाणिज्य संघलाई आपसी समन्वय र सहयोगको आग्रह गरेको हो । सो सम्वन्धमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले असोज ११ गते सूचना प्रकाशित गरि व्यवसायीहरुलाई सचेत गराएको छ ।