प्रकोपमा देशकै सर्वाधिक क्षति सिन्धुपाल्चोकमा साउन यता ६० को मृत्यु, १९ वेपत्ता
असोज २, चौतारा (सिन्धुपाल्चोक) । बाढी पहिरोका कारण देशकै सर्वाधिक मानवीय तथा भौतिक क्षति व्योहोर्ने जिल्ला सिन्धुपाल्चोक परेको छ । यो आर्थिक वर्ष सुरुभएयता मात्रै सिन्धुपाल्चोकमा ६० जनाको मृत्यु भएको छ भने १९ जना वेपत्ता रहेका छन् ।
२०७१ सालको जुरे पहिरो जाँदा त्यस वर्ष बाढीपहिरोको कारण सबैभन्दा क्षति सिन्धुपाल्चोकले व्योहोरेको थियो । त्यतिबेला जुरेमा १ सय ३३ जनाको ज्यान गएको थियो । त्यसैगरी २०७२ सालको भूकम्पमा समेत देशका १४ जिल्ला मध्ये मानवीय तथा भौतिक क्षति व्योहोर्ने सिन्धुपाल्चोक पहिलो नम्बरमै रहेको थियो । त्यतिबेला भूकम्पमा ३ हजार ५ सय भन्दा माथिको ज्यान गएको थियो । त्यसपछि लगातार सिन्धुपाल्चोकमा बाढीपहिरोका घटनाहरु घटीरहेका छन् ।
यो जिल्ला प्रहरी कार्यालयको साउन यताको तथ्याङ हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार २०७७ साउन १ गते भोटेकोशी गाउँपालिका–४ फुलपिङ गाउँमा पहिरो जाँदा ५ जनाको पहिरो ज्यान गएको थियो । त्यस्तैगरी मेलम्ची नगरपालिकाको वडा नम्बर ११ गैरबगरमा साउन १८ गते पहिरो जाँदा ८ र पाँचपोखरी गाउँपालिका–२ बरुवामा साउन १९ गते २ जनाको पहिरोमा परेर ज्यान गएको थियो । त्यसैगरी सिन्धुपाल्चोकमा सबैभन्दा ठूलो क्षति जुगल गाउँपालिकाको वडा नम्बर २ लिदीमा लिदीमा साउन ३० गते आएको पहिरोमा ३७ जनाको ज्यान गएको थियो भने २ जना वेपत्ता र ५ जना घाईते भएका थिए ।
त्यसैगरी बाह्रबिसे नगरपालिकाको घुम्थाङमा भदौ २८ गते आएको पहिरोमा वडा नम्बर ७ नागपुजेमा ४ जनाको मृत्यु १६ जना वेपत्ता र १ जना घाईते भएका थिए । त्यसैगरी सोही वडाको भिरखर्कमा १० जनाको मृत्यु १ जना वेपत्ता ४ जना घाईते भएका थिए । त्यस्तै सोही वडाको किम्बेमा ३ जना घाईते भएका थिए । गत आर्थिक वर्षको असारमा बाह्रबिसेको जम्बु खागदलमा आएको पहिरोमा परि एकजर्दन भन्दा माथिको संख्यामा ज्यान गएको थियो । जसबाट लिदीमा १ सय ७२ र घुम्थाङमा ६३ घरधुरी पूर्ण रुपमा विस्थापित भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाको सुनकोशी गाउँपालिका लगाएत अन्य गाउँपालिका समेत पहिरोका कारण मानिसहरु विस्थापित भएपनि मानवीय क्षति भने हुन पाएनन् ।
सरकार तथा राजनीति दल पहिरो पर्यटक बने
सरकारी उच्च पदस्थ व्यक्तिहरु कुनै जिल्लामा बाढी पहिरोको घटना हुनसाथ राहतका सामग्री लिएर पुग्ने गरेका छन् ।
सिन्धुपाल्चोकको मुख्य दुई घटना मध्ये लिदीमा गृहमन्त्री रामबहादुर थापा र सभामुख अग्निप्रसाद सापकोटा लगाएत नेताहरु पुगे । त्यस्तै घुम्थाङमा सभामुख सापकोटा पुगेका थिए । जिल्लाका समेत राजनैतिक दलका नेता कार्याकर्ताहरुको दुवै घटनामा बाक्लो उपस्थिति देखियो । तर उनीहरुसंग अस्थायी व्यवस्थापन बाहेक कुनै ठोस योजना छैन । तत्कालका लागि पीडित तथा विस्थापितको घाउमा मलम लगाउन खोजिएपनि दृघकालिन योजना नभएको पहिरो पीडितहरुले आरोप लगाए । बस्तीहरु उच्च जोखिममा रहेको थाहा पाउँदा पाउँदै घटना पछि मात्र पुग्नुले सरकार र राजनीतिक दललाई उनीहरुले पहिरो पर्यटकको संज्ञा दिए ।
कम्तिमा सुरक्षित बासस्थानको स्थायी व्यवस्थापन र सम्भावित जोखिम न्युनिकरणका उपायहरुको ठोस कार्यन्वयन गरिदिए फेरी यस्तो दुर्गती भोग्ने नपर्ने पीडितहरुको माग छ ।