नगरपालीकाको एकद्वार नीतिलाई लत्याए पूर्व मन्त्री बस्नेतले, राहत आफ्नै कार्यकर्तालाई बाँढेको स्थानीयको आरोप

भदाै ३१, बाह्रबिसे (सिन्धुपाल्चोक) । घुमथाङ पहिरो घटनापछि पीडितलाई राहत दिनेहरुको यतिबेला ओईरो नै लागेको छ । पीडितलाई राहत दिन संघसंस्था देखि राजनैतिक दल तथा व्यक्तिहरु लागि परेका छन् । तर बाह्रबिसे नगरपालिकाले भने कोभिड–१९ को संक्रमणको जोखिम बढ्ने भन्दै एकद्वार प्रणाली नीति अबलम्बन गरेको छ । नगरपालिकाले विज्ञप्तिनै जारी गरेर संघसंस्था तथा अन्य ठाउँबाट आएको सहयोगलाई नगरपालिकामा कन्द्रीत गरी आफैंले वितरण गर्ने निर्णय गरेको हो । नगरपालिकाको यो नीतिलाई भने पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले नै उलंघन गरेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालाई बताए । ‘हामीले कोभिड–१९ को संक्रमण नफैलियोस भन्नका लागि सहयोग संकलन तथा वितरणमा एकद्वार प्रणाली अपनाएका थियौं तर राजनैतिक नेताबाट आफुखुशी वितरण गर्ने काम भएछ’ मेयर शेर्पाले भने । नगरपालिकाले पहिरो पीडितलाई एकद्वार प्रणाली अपनाउनुको उद्देश्य अनियमिता नहोस र वास्तविक पीडितले पाउन भनेर निर्णय गरिएको मेयर शेर्पाले स्पष्ट पारे । पहिरो पीडितहरुलाई राखिएको अस्थायी क्याम्पमा कोभिड–१९ संक्रमण हुन नदिन नगरपालिकाले सजगता अपनाएको समेत मेयर शेर्पाले जानककारी दिए । अन्य संघसंस्थाहरुले दिईने सहयोग नगरपालिकामा आएको र नगरले पीडितलाई वितरण गरिएको उनले सुनाए । तर पूर्व सञ्चारमन्त्री समेत भईसकेका बस्नेतले नगरपालिकासंग कुनै समन्वय नगरी आफुखुशी राहत वितरण गरेका छन् । उनले राहतको नाममा आफ्नै पार्टीका कार्यकर्तालाई वितरण गरेको त्याहाँका पीडितहरुको आरोप छ । ‘यो राहतको नाममा राजनीति भयो’, पहिरो विस्थापित अमृत प्रधानले सिन्धुज्वालासंग भने, ‘हामी पनि पीडित हौं तर जो लाईनमा आयो उसैलाई मन्त्री बस्नेतले राहतका सामग्री तथा खाद्यसामग्री वितरण गर्नु भयो ।’ उनका अनुसार पूर्वमन्त्री बस्नेतले पीडितको नाम संकलन नगरी स्थानीयलाई लाईन लगाएर राहत सामग्री बाँडेका थिए । अगाडीनै लाईन बसेका टाठाबाटाले राहत सामग्री पाएपछि अन्तिममा बसेका खास पीडितले नपाएको उनको भनाई छ । पहिरोले घरबार बिहिन समेत बनेका प्रधानका अनुसार त्याहाँ पहिरो पीडित १ सय ८७ घरपरिवार रहेका छन् । ति मध्ये बस्नेतले सोमबार २४ घरपरिवारलाई र मंगलबार ३० घरधुरीलाई बितरण गरेका थिए । ति मध्य पाउने अधिकांश वास्तविक पीडित भन्दा कांग्रेसका कार्यकर्ता भएको आधारमा वितरण गरिएको स्थानीय पीडितहरुको आरोप छ । ‘वास्तविक पीडितलाई राहत भन्दा पनि कार्यकर्ता केद्रित राहत वितरण भयो भन्ने कुरा हामीलाई स्थानीयले गुनासो गरेका छन्’, नगरपालिकाकी उपमेयर शुशिला प्राख्रिनले भनिन् । नगरपालिकाले लगाएको एकद्वार प्रणालीलाई नेताहरुले समेत पालन नगर्दा यो समस्या आएको उनको कथन छ । उपमेयर प्राख्रिनका अनुसार पहिरोमा नागपुजे, भिरखर्क, कामीटोल र टङसार लगाएत गरी १ सय ८७ घरपरिवार छन् । नगरपालिकाले ६५ घरधुरीलाई ४५ वटा टेन्ट, खाद्यन्न, लत्ताकपडा, खानेपानी, शौचालय, स्वास्थ्य लगाएत आवश्यकीय व्यवस्थापन मिलाईएको उनले बताईन ।