सिन्धुपाल्चोकमा लकडाउनको स्वरुप परिवर्तन, व्यवसाय खोल्न खुकुलो

भाद्र २३, चौतारा (सिन्धुपाल्चोक¬) । सिन्धुपाल्चोकमा लकडाउनको स्वरुप परिवर्तन गरिएको छ । भदौ २४ गतेदेखि ३१ गतेसम्मको लागि थप गर्दा स्वरुप परिवर्तन गरिएको हो । आज बसेको जिल्ला कोरोना संकट व्यवस्थपन समिति (डिसीसीएमसी) को बैठकले लकडाउन पालनाबारे नयाँ नियम लागू गरिने निर्णय गरेको छ । बैठकले व्यवसाय खोल्न केही खुकुलो बनाउने समेत निर्णय गरेको छ । व्यवसाय खोल्न केही खुकुलो बनाए संगै व्यवसायीहरुले अब आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने भएका छन् ।
जसअनुसार आधारभूत खाद्य सामग्री पसल, तरकारी पसल, दुध डेरी, पेट्रोल पम्प, ग्याँस डिपो, औषधी पसल, निर्माण सामग्री पसल खोल्न दिईने भएको छ । त्यस्तै कपडा पसल, जुत्ता फेन्सी पसल, इलोक्ट्रोनिक पसललाई पनि खोल्न दिईने भएको छ । पसलहरु बिहान ११ बजेदेखि बेलुका ४ बसेसम्म खेल्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । पसल खोल्दा स्वास्थ्य मापदण्डले तोकेको सबै प्रक्रिया अनिवार्य पुरा गर्नुपर्ने उनले बताए । व्यवसाय सञ्चालनको लागि समयको पालना र स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व र अनुगमन जिम्मा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघलाई दिईएको समेत उनले बताए ।
जारी निषेधाज्ञाका कारण जनजीवनमा असर परेको भन्दै चौतर्फी दवाव आएसंगै डिसिसिएमसीले त्यसलाई खुकुलो बनाउने निर्णय गरेको हो । बैठकले यसअघि गरेको सीमा नाका कडाई गर्ने, अति आवश्यक कामको लागि जिल्ला प्रवेश गर्न सम्बन्धित पालिका र वडाको लिखितपत्र पछि मात्र छिर्न दिईने, जिल्ला बाहिरबाट आउने व्यक्ति अनिवार्य रुपमा क्वारेन्टिन बस्नुपर्ने जस्ता निर्णयलाई भने यथावत राखिएको प्रजिअ ढकालले बताए ।
यात्रुवाहक बस, होटल रेस्टुरेन्ट, शैक्षिक संस्था, शैलुन, व्युटिपार्लर, स्वीमङपुल, ठेलामा राखि गरिने व्यवसाय भने खोल्न पाईने छैन । त्यस्तै खेलकुद, सभा समारोह, तालिम पनि नगर्न बैठकले निर्देशन गरेको छ ।
सरकारी र गैरसरकारी कार्यालयबाट अत्यावश्यक सेवाहरु प्रदान, कर्मचारीहरु अतिआवश्यक कामका लागि चाहिने जति मात्रै कार्यालयमा राखिने, बिदामा कर्मचरीहरु उपत्यका आउजाउ गर्दा संक्रमण फैलन सक्ने सम्भावना भएकाले कार्यालय प्रमुृखले व्यवस्थापन मिलाउने जिम्मेवारी पनि तोकिएको छ ।
यस्तो छ निर्णय