
‘बञ्जी जम्प’ को लागि एशियाकै अग्लो झोलुङ्गे पुल निर्माण हुँदै हेलम्बुमा

भदौ २३, किउल (सिन्धुपाल्चोक) । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य हेलम्बु गाउँपालिकामा नयाँ साहसिक खेल ‘बञ्जी जम्प’ को लागि झोलुङ्गे पुल निर्माण हुने भएको छ ।
हेलम्बु गाउँपालिका–१ स्थित ङिमादावा पाङ्गाङमा निर्माण गरिने १७३ मिटर उचाइ र ३७० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण हुन लागेको हो । निर्माणका लागि ठेक्का सम्झौता भईसको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार उमा÷थानी हिमशिखर जेभीसँग रु दुई करोड ३५ लाखमा ठेक्का सम्झौता भएको हो ।
उनका अनुसार बाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय सडक पूर्वाधार निर्देशनालयबाट गएको असार महिनामा १८ महिना अवधिमा सम्पन्न हुने गरी ठेक्का सम्झौता भईसकेको छ । ‘ठेक्का सम्झौता भईसकेको छ, अब केही समयमै काम सुचारु हुन्छ’, अध्यक्ष निमाले भने । हेलम्बु क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यस ठाउँमा बञ्जीको निर्माणको अवधाराणा ल्याएको अध्यक्ष शेर्पाले बताए । आफुले सोचे अनुसार सपना साकार हुन लागेको उनको भनाई छ । बन्जीजम्पको लागि निर्माण गरिन लागिएको उक्त पुल एशियाकै पहिलो हुने उनले दावी गरे । एशियाको पहिलो बन्जीजम्पको सुरुवात कूल १६० मिटर उचाइको बञ्जी जम्प २०५६ सालदेखि जिल्लाको भोटेकोशी नदीमा सञ्चालन हुँदै आएको छ । अब बन्ने बञ्जी भोटेकोशीको भन्दा १३ मिटर बढी उचाइको हुने पालकिाको ठहर छ । यसअघि पर्वतको कुश्मामा ह्विसिङ सिष्टमबाट निर्माण गरिन लागिएको बञ्जीजम्प २२५ मिटर अग्लो हुने जनाईएको थियो । यद्यपि त्यो अझै सञ्चालनमा छैन् । जुन भोटेकोशीको भन्दा ६५ मिटर अग्लो हुने बताईएको थियो । हेलम्बुको दुई गाउँलाई जोड्ने झोलुङ्गे पुल तयार भएपछि बञ्जी जम्पको कामको थालनी हुने गाउँपालिकाले जनाएको छ । पुल तयार भएपछि त्यहाँस्थित सेमी सिताङ हिमालका साथै नजिकै रहेको मेलम्ची खानेपानी आयोजनाको अम्वाथानस्थित मुहान क्षेत्रकोसमेत अवलोकन गर्न सहज हुने अध्यक्ष शेर्पाको भनाइ छ । धार्मिक सांस्कृतिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको हेलम्बुमा पर्यटकलाई आकर्षित गराउने उद्देश्यले चीनको ग्रेटवालको झल्को दिने खालको कूल ६० किलोमिटर हिमालय ग्रेट ट्रेलको (पदमार्ग) समेत गतवर्षदेखि निर्माण कार्य शुरु गरिएको छ । त्यस्तै पालिकाको मोडेल विद्यालय, ह्योल्मो संस्कृति झल्काउने एकीकृत बस्ती लगाएत पालिकाको योजना जिल्लाकै चर्चामा छ ।